‘संविधान संशोधनको खोल ओढेर कांग्रेस–एमाले दुई दलीय निरंकुशता लाद्न खोज्दैछन्’

Advertisement

काठमाडौं । संसदकै पाँचौँ ठूलो राजनीतिक दल राप्रपा (राष्ट्रिय प्रजातन्त्र पार्टी)ले काँग्रेस—एमाले सत्ता सहकार्य शुरुवाती रुपमा सकारात्मक भएपनि पछिल्ला दिनका घटनाक्रहरु अस्वभाविक रहेको बताएका छन् । 

नानसँगको कुराकानीमा राप्रपाका अध्यक्ष राजेन्द्र लिङदेनले पछिल्ला दिनमा विकसित हुँदै आएका घटनाक्रहरुले आशंका गर्नुपर्ने प्रशस्त ठाउँ दिएको बताए । उनले काँग्रेस—एमाले सहकार्य प्रारम्भिक रुपमा सकारात्मक रहे पनि पछिल्ला घटनाक्रहरुलाई आफूले होशियारीपूर्वक हेरिरहेको बताए । 

Advertisement

दुई ठूला राजनीतिक दलहरु मिलेर सरकार बनाउने कुरा अस्वाभाविक भएको लिङदेनले बताए । उनले वर्तमान सरकार संविधान संशोधनका लागि बनेको भनिए पनि पछिल्ला गतिविधिहरुले आशंका गर्ने धेरै ठाउँ देखाएको बताए । राप्रपाले सरकारका कामकारबाही हेरेर आगामी दिनमा थप निर्णय लिने लिङदेनले बताए । 

उनले भने, ‘यो सबै घटनाक्रमलाई राष्ट्रिय प्रजातन्त्र पार्टीले होशियारीपूर्वक हेरिरहेको छ । अप्रत्याशित रुपमा खासगरी देशका मुख्य ठूला दुई राजनीतिक दलको गठबन्धन बनेको छ । त्यो हेर्ने हो भने राजनीतिमा जुन किसिमको प्रचलन छ, त्यसलाई अस्वभाविक रुपमा लिइन्छ । तर यो समीकरण बन्ने प्रारम्भमा के भनियो भने यो प्रकारको गठबन्धन किन हुनुपर्यो भन्दा संविधान संशोधनका लागि भनियो । यसलाई हामीले प्रारम्भिक रुपमा सकारात्मक रुपमा लिएका छौँ । तर अहिले घटनाक्रमहरु जसरी विकसित हुँदै आइरहेको छ, अब त्यसमा प्रशस्त आशंकाहरु पनि पैदा भएका छन् ।’ 

लिङदेनले थपे, ‘अहिले नै हामी तुरुन्तै धेरै प्रतिक्रिया व्यक्त गर्ने भन्दा पनि यसलाई होशियारीपूर्वक हेर्नुपर्छ र यो घटनाक्रम कसरी अघि जान्छ ? त्यसपछि निर्णय लिएर अघि बढ्नुपर्छ भन्ने तहमा छौं ।’ उनले दुई ठूला दलहरु संविधान संशोधनको सिंँढी बनाएर वा संविधान संशोधनको खोल ओढेर सत्ता सहकार्यका लागि मात्रै मिलेको महशुस हुन थालेको बताउँदै संविधान संशोधनको विषय दुई दलकै प्राथमिकतमा नपरेको बताए । 

दुवै दलले लिखित रुपमा वा न्युनतम् साझा कार्यक्रम कतै पनि संविधान संशोधनको विषयलाई उल्लेख नगरेको बताउँदै लिङदेनले एमाले महासचिव शंकर पोखरेलले संविधान संशोधनको सामान्य खाकाका रुपमा दुई दलीय व्यवस्थातर्फ लैजाने संकेत गर्नुले देशमा निरंकुशता ल्याउन खोजेको देखिएको बताए । उनले महासचिवको उक्त टिप्पणीबाट सकारात्मक सोचका साथ सरकार बनेको भन्न नसकिने बताए । 

लिङदेनले भने, ‘संविधान संशोधन त भनियो तर यी ठूला दलहरु जसरी अस्वाभाविक ढंगले मिल्न पुगे, त्यो जनतालाई के भन्ने त भन्दा संविधान संशोधनका लागि भन्यो भने राम्रो हुन्छ भनेर त्यसलाई सत्ता चढ्नको लागि सिँढी वा खोल ओढेको हो कि भन्ने मात्रै देखिन थालेको छ । अहिले संविधान संशोधन प्राथमिकतामा पनि देखिएको छैन, यो सरकारको । कहीँ लिखित रुपमा पनि आएको छैन । सरकारका मन्त्री र प्रधानमन्त्रीबाट पनि यो विषयहरु आएको छैन । अहिलेको प्रधानमन्त्रीको पार्टीको महासचिवले जुन प्रकारको संविधान संशोधनको खाका प्रश्तुत गर्नुभयो, एउटा टेलिभिजनमा । त्यो हेर्ने हो भने सकारात्मक सोचका साथ यो सरकार बनेको होइन । देशमा निरंकुशता लाद्ने, दुई दलीय व्यवस्था खडा गर्ने सोचका साथ यो सरकार बनेको हो भन्ने आशंका देखिएका छन् ।’

तर काँग्रेस—एमाले सरकारले संविधान संशोधनको विषयमा जोड दिए राष्ट्रिय प्रजातन्त्र पार्टीले निःशर्त समर्थन गर्ने उनले बताए । लिङदेनले राष्ट्रिय प्रजातन्त्र पार्टीले अहिले वर्तमान गठबन्धनमा सहभागिता जनाउनुपर्ने कुनै कारण नरहेको पनि बताए । वर्तमान सरकार चलाउन गणितको कुनै आवश्यकता नरहेको उल्लेख गर्दै उनले सत्तालाई प्राथमिकतामा नराख्ने बताए । 

Advertisement