नेपाल र चीनबीच पर्वतीय पर्यटन प्रवर्द्धनमा सम्झौता

Advertisement

काठमाडौँ । पर्वतीय पर्यटन प्रवर्द्धन प्रयोजनार्थ नेपाल र चीनका दुई सरोकारवाला निकायबीच सम्झौता भएको छ । नेपाल पर्वतारोहण संघ र पर्वतारोहण क्षेत्रमा चीन जनसरकारको नेतृत्व गर्ने सिचाङ स्वशासित क्षेत्र खेलकुद महासंघबीच दुईपक्षीय सम्झौता भएको हो ।

चीनको सिचाङ स्वायत्त प्रदेशको निङची–लुलाङ सहरमा यही जुलाई ३ देखि ५ तारिखमा आयोजना भएको ‘ट्रान्स हिमालय फोरम’ का अवसरमा भएको उक्त सम्झौताबारे सङ्घले आज पत्रकार सम्मेलन गरी जानकारी दिएको छ । संघका अध्यक्ष निमानुरु शेर्पाले उक्त सम्झौताले नेपालको पर्वतीय पर्यटनको प्रचार र विकासमा महतवपूर्ण भूमिका निर्बाह गर्ने विश्वास व्यक्त गरे । 

Advertisement

उच्च पर्वतारोहण क्षेत्रमा दुई देशबीचको ज्ञान, सीप आदनप्रदान तथा उच्च पर्वतारोहण क्षेत्रमा हुने दुर्घटनामा तत्काल गरिनुपर्ने उद्धार, पर्वतीय वातावरण र पर्वतीय संस्कृतिको प्रवर्द्धनका लागि चीन सरकारको उच्च पदाधिकारीहरुको उपस्थितिमा भएको आफ्नो लुसाङ भ्रमणका दौरानमा दुई देशबीच चार बुँदे सम्झौता भएको हो ।

सम्झौतामा पर्वतीय उद्धारमा सहयोग र सहकार्य गर्ने, आरोहण संस्कृतिको प्रवद्र्धन, पर्वतीय वातावरणको संरक्षण र आरोहणसम्बन्धि जनशक्ति उत्पादनमा जोड दिने उल्लेख छ । यो सम्झौता सङ्घले अन्तर्राष्ट्रिय निकाय वा सरकारसँग गरेको अहिलेसम्मको ठूलो भएको संघले दावी गरेको छ ।

सम्झौता अनुरुप उच्च पर्वतीय क्षेत्रमा विभिन्न कारणले हुने दुर्घटनामा प्रभावकारी उद्धार कार्य गर्न अन्य आपत्कालिन अवस्थामा गर्नुपर्ने उद्धारका लागि सहयोग र सहकार्य गरिनेछ । यसको उपलब्धी स्वरुप तत्काललाई दुई पक्षबीच ‘हाइ अल्टिच्युड माउन्टेन रेस्क्यु मेकानिजम’ स्थापना गर्ने सहमति भएको छ । 

संघसहित चीन र नेपालको सरकारी प्रतिनिधिहरु समेत रहने उक्त संयत्रले उद्धारलाई थप छिटो, छरितो र प्रभावकारी बनाउनका लागि काम गर्नेछ ।

यस्तै नेपाल पर्वतारोहण संघ र सिचाङ स्वाशासित क्षेत्र खेलकुद महासंघबीच आरोहण संस्कृतिको प्रवद्र्धन गर्ने सहमति भएको छ । विशेषगरी दुई देशको सीमा क्षेत्रमा रहेको सगरमाथा क्षेत्रको वातावरण संरक्षणलाई विशेष प्राथमिकता दिएर काम गर्ने सहमति भएको छ । 

साथै, सगरमाथा लगायतका हिमालहरुको आरोहणमा जाने आरोहीहरुलाई थप सहयोगमा  सहकार्य गर्ने सहमति भएको छ । आरोहणसम्बन्धी जनशक्ति उत्पादनमा सिचाङ स्वशासित क्षेत्र खेलकुद महासङ्घले उच्च स्तरको पर्वतारोहण तालिम लिनका लागि उनीहरुका आरोहीलाई नेपाल पठाउने सहमति भएको संघले जनाएको छ । 

उपयुक्त सम्झौता कार्यान्वयनका लागि चीनकोतर्फबाट सिचाङ क्षेत्र जनसरकार मातहतको सिचाङ स्वशासित क्षेत्र खेलकुद महासंघ र नेपालकोतर्फबाट संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्रालय, पर्यटन विभाग र सङ्घको प्रतिनिधि रहने एउटा संयन्त्रको निर्माणका लागि प्रस्ताव गरिएको अध्यक्ष शेर्पाले बताए । 

उनका अनुसार नेपाल र चीनबीच दौत्य सम्बन्ध स्थापना भएको ७०औँ वर्षको अवसरमा अर्को वर्ष दुई देशबीच संयुक्त आरोहणका लागि प्रस्ताव गरिएको र त्यसप्रति सकारात्मक प्रतिक्रिया आएको छ । विगत वर्षमा पनि दुई देशबीच नेपाल–चाइन फ्रेण्डसिप पिकको आरोहण गरेको थियो । 

 

चार बुँदे सम्झौताः
१. पर्वतीय उद्धारमा सहयोग र सहकार्य
नेपाल पर्वतारोहण संघ र सिचाङ स्वशासित क्षेत्र खेलकुद महासंबीच उच्च हिमाली क्षेत्रमा हुने दुर्घटना वा अन्य आपत्कालिन अवस्थामा गर्नुपर्ने उद्धारको कार्यका लागि सहयोग र सहकार्य गर्ने छ । नेपाल पर्वतारोहण संघसहित चिन र नेपालको सरकारी प्रतिनिधिहरु समेत रहने यस मेकनिजमले उद्धार कार्यलाई थप छिटो, छरितो र प्रभावकारी बनाउनका लागि काम गर्ने छ ।

२. आरोहण संस्कृतिको प्रवर्द्धन
नेपाल पर्वतारोहण संघ र सिचाङ स्वशासित क्षेत्र खेलकुद महासंघ दुबै निकाय मिलेर संयुक्त रुपमा हिमालयन माउन्टेनिरिङ कल्चरल सेन्टरको निर्माण गर्ने छ । दुबै निकायले आफ्नो र दुवै पक्षको आरोहण सस्कृतिको प्रवद्र्धन गर्ने र प्रवर्द्धन गर्न मद्दत गर्ने ।

३. पर्वतीय वातावरणको संरक्षण
दुवै देशको सीमा क्षेत्रमा रहेको सगरमाथा क्षेत्रको वातावरण संरक्षणलाई विशेष प्राथमिकता दिएर काम गर्ने सहमति भएको छ । साथै, सगरमाथा लगायतका हिमालहरुको आरोहणमा जाने आरोहीहरुलाई थप जिम्मेवार बनाउँदै हिमाली वातावरणको संरक्षणमा काम गरिने छ ।

४. आरोहण सम्बन्धि जनशक्ति उत्पादनमा जोड
नेपाल पर्वतारोहण संघले सिचाङ स्वशासित क्षेत्र खेलकुद महासंघसँग सहकार्य गर्ने सहमित गरेको छ । त्यसका लागि सिचाड स्वशासित क्षेत्र खेलकुद महासंघबीचले उच्च स्तरको पर्वतारोहण तालिम लिनका लागि उनीहरुका आरोहीहरुलाई नेपाल पठाउने छ ।

Advertisement

Advertisement