भारतले नेपाललाई दिने अनुदान बढायो, ११ अर्ब २० करोड पाइने

Advertisement

काठमाडौं । भारतले आव २०२४–२५ मा नेपाललाई ७ अर्ब भारु अनुदान दिने भएको छ । 

भारतीय अर्थमन्त्री निर्मला सितारमणले मंगलबार चालु आवको लागि बजेट ल्याएकी छिन् । त्यसमा नेपाललाई सात अर्ब भारु अनुदान दिने घोषणा गरिएको हो । 

Advertisement

त्यो नेपाली रुपियाँमा ११ अर्ब २० करोड हुन आउने छ । मोदीको नेतृत्वमा पुनः नयाँ सरकार गठन भएपछि आएको यो पहिलो बजेट हो । 

भारतमा अप्रिलदेखि मार्चसम्मको आर्थिक बर्ष हुन्छ । चुनाव पछि नयाँ सरकारले बनेकाले आवको बीचमै बजेट ल्याइएको हो । केही महिना अघि भारतमा सम्पन्न आम निर्वाचनपछि नरेन्द्र मोदी तेस्रो पटक प्रधानमन्त्री भएका थिए । 

आव २०२३–२४ मा भारतले नेपाललाई ६ अर्ब ५० करोड भारु अनुदान दिएको थियो  । आव २०२४–२५ मा त्यो थप बढाइएको छ । 

बजेटबाट भारतले भुटानलाई २० अर्ब ६८ करोड भारु, अफगानिस्तानलाई दुई अर्ब भारु, बंगलादेशलाई एक अर्ब २० करोड भारु, श्रीलंकालाई दुई अर्ब ४५ करोड भारु, माल्दिभ्सलाई चार अर्ब भारु, म्यानमारलाई दुई अर्ब ५० करोड भारु, मंगोलियालाई ५ करोड भारु र अफ्रिकन मुलुकलाई दुई अर्ब भारु अनुदान दिने घोषणा गरेको छ । 

यी सहित बिभिन्न २१ मुलुकलाई भारतले ४८ अर्ब ८३ करोड ५६ लाख भारु अनुदान दिने घोषणा गरेको छ । जुन गत आवको तुलनामा भने कम हो । गत आवमा भारतले ५४ अर्ब २६ करोड भारु दिएको थियो ।


 

Advertisement