ज्योति विकास बैंक १७औं वर्षमाः  १२१ शाखाबाट सेवा प्रदान

Advertisement

काठमाडौं । ज्योति विकास बैंकले स्थापनाको १६औं वार्षिकोत्सव सम्पन्न गरेको छ । विसं. २०६५ सालको साउन ०९ गते स्थापना भएको ज्योति विकास बैंकले २०८१ साउन ०९ गते १६ वर्षको यात्रा पूरा गरी १७औं वर्षमा प्रवेश गरेको छ ।

यस अवसरमा आयोजित वार्षिकोत्सव समारोहको सभापतित्व बैंकका अध्यक्ष हरिचन्द्र खड्काले गरेका थिए । उक्त समारोहमा बैंकका सञ्चालक समितिका सदस्यहरु, भूतपूर्व सञ्चालकहरु, कर्मचारी र ग्राहकहरूको उपस्थिति रहेको थियो । 

Advertisement

बैंकले वार्षिकोत्सवको अवसर पारेर परिमार्जित, परिष्कृत तथा प्रयोगकर्तामैत्री नयाँ आधिकारिक वेबसाइटको पनि औपचारिक शुभारम्भ गरेको छ । 

उक्त वेबसाइट प्रकाशन पश्चात् बैंकले प्रदान गरिरहेको सेवा(सुविधाहरूको जानकारीमा सहज पहुँच, अनलाइनबाटै कर्जा आवेदन दिने व्यवस्था, भिडियो बैंकिङ मार्फत अनलाइनबाटै खाता खोल्ने, क्यूआर कोड लगायत विभिन्न बैंकिङ सेवाहरूको लागि अनलाइन निवेदन दिने सुविधा सम्बन्धित सबैलाई उपलब्ध हुने भएको छ । 

वार्षिकोत्सवको अवसरमा बैंकले केन्द्रीय कार्यालय परिसरमा रक्तदान कार्यक्रम समेत आयोजना गरेको छ, जसमा  कर्मचारी, ग्राहक र अन्य सर्वसाधारण गरि जम्मा ५० जनाले रक्तदान गरेका छन् । विगत १० वर्ष तथा १५ वर्षदेखि अनवरत रूपमा कार्यरत रही योगदान दिएका २७ जना कर्मचारीहरूलाई सम्मानित गरिएको छ । 

अध्यक्ष खड्का तथा प्रमुख कार्यकारी अधिकृत कपिल ढकालले संयुक्त रूपमा कर्मचारीहरूलाई पदक तथा कदर–पत्र प्रदान गरेका हुन् । 

त्यसैगरी, १६औं वार्षिकोत्सवको अवसरमा बैंकले विविध सामाजिक उत्तरदायित्वका कार्यक्रमहरूको सम्झौता तथा उद्घोषण समेत गरेको छ ।

बैंकले उपत्यका र उपत्यकाबाहिर गरी हाल १२१ शाखा कार्यालय, ३ विस्तारित काउन्टर तथा ७५ वटा एटीएम मार्फत बैंकिङ सेवा उपलब्ध गराउँदै आइरहेको छ ।


 

Advertisement