उत्पादनमूलक उद्योगहरुको मागमा थप १३.५३ प्रतिशतको संकुचनः सर्वेक्षण

Advertisement

काठमान्डौं । आर्थिक वर्ष २०८०–८१ को तेस्रो त्रैमासमा उत्पादनमूलक उद्योगहरुको मागमा थप १३.५३ प्रतिशतले संकुचन आएको आर्थिक सर्वेक्षणले देखाएको छ । 

नेपाल उद्योग परिसंघ (सीएनआई)ले गरेका सर्वेक्षणले औद्योगिक क्षेत्रमा निराशाजनक स्थिति देखिएको हो । परिसंघले हरेक त्रैमासमा यस्तो सर्वेक्षणको नजिता सार्वजनिक गर्छ । पछिल्लो सर्वेक्षणले अघिल्लो आर्थिक वर्षको सोही अवधिको तुलनामा उत्पादनमूलक उद्योगहरुको मागमा कमी आएको देखाएको हो । 

Advertisement

गत वर्ष अघिल्ले वर्षको सोही अवधिको तुलनामा उत्पादनमुलक क्षेत्रको मागमा ३.०४ प्रतिशतले गिरावट आएको थियो । यस अवधिमा उत्पादन तथा सेवामुलक उद्योगहरुको संयुक्त रुपमा हेर्दा भने २.६४  प्रतिशतले मागमा कमी आएको देखिएको छ ।

यस अवधिमा उद्योगहरुको आयमा समेत ह्रास आएको पाईएको छ । सर्वेक्षणमा सहभागी उद्योगीहरुले अघिल्लो आर्थिक वर्षको सोहि अवधिको तुलनामा ३.८७ प्रतिशतले आय घटेको जनाएका छन् । यो भन्दा अघिल्लो  त्रैमासमा पनि १.८७ प्रतिशतले आयमा ह्रास  आएका जनाएका थिए । 

माग र राजश्वमा आएको गिरावटका कारण सर्वेक्षणमा सहभागी कूल उद्योगहरुमध्ये ६५.५७ प्रतिशतले आगामी त्रैमासका लागि नयाँ लगानी नरहेको समेत जनाएका छन् । उद्योगीहरुले अझै पनि उत्पादनका लागि जेनेरेटरको प्रयोग गर्ने गरेको पाइएको छ । 

यस सर्वेक्षणमा सहभागी ५४.३९ प्रतिशत उद्योगहरुले अझै पनि जेनेरेटरको प्रयोग गर्दै आएको जनाएका छन् । यसले उत्पादन लागतमा १२.८९ प्रतिशतले वृद्धि भएको पनि जनाइको छ । 

सर्वेक्षणका सहभागी उद्योगहरुले आफ्नो कुल चालु पुँजी कर्जा ४२.७४ प्रतिशत ऋणबाट प्राप्त गर्ने गरेको जनाएका छन् । यो अघिल्लो त्रैमासको तुलनामा २.७१ प्रतिशतले बढी हो । यस किसिमको कर्जाको औसत ब्याज दर ११.२८ रहेको जनाइएको छ । 

Advertisement

Advertisement