पूँजी वृद्धि योजना पेश गर्न नेपाल रि-इन्स्योरेन्स असफल

Advertisement

काठमाडौं । निर्देशन दिएको ६ महिना बितिसक्दा पनि नेपाल पुनर्बीमा कम्पनी (नेपाल रि)ले नियामक निकाय नेपाल बीमा प्राधिकरणमा पुँजीबृद्धिको योजना पेश गर्न सकेको छैन । 

हाल नेपालमा नेपाल रि र निजी क्षेत्रको हिमालयन रि गरेर दुई पुनर्बीमा कम्पनी छन् । पहिला उनीहरुको नियामकीय चुक्तापुँजी न्यूनतम १० अर्ब रुपियाँ हुनुपर्ने व्यवस्था थियो । तर, प्राधिकरणले गत माघ १७ गते पुनर्बीमा कम्पनीहरूलाई न्यूनतम चुक्तापुँजी २० अर्ब रुपियाँ पुर्याउन निर्देशन दिइसकेको छ । 

Advertisement

एक बर्षभित्र पुनर्बीमा कम्पनीहरुले तोकिएको न्यूनतम पुँजी पुर्याउनुपर्ने प्राधिकरणको निर्देशन थियो । त्यसमा पुँजीबृद्धि योजना भने १५ दिनभित्रै प्राधिकरणमा पेश गर्नुपर्ने निर्देशन थियो, जुन म्याद गत फागुन ४ गते नै सक्किसकेको छ । 

हिमालयन रिले त्यस अवधीमै पुँजीबृद्धिको योजना पेश गरेको थियो । उक्त कम्पनीले ८० प्रतिशत हकप्रद शेयर जारी गर्ने र अपुग रकम बोनस शेयरबाट पुर्याउने योजना पेश गरेको छ । हाल उक्त कम्पनीको चुक्तापुँजी १० अर्ब रुपियाँ छ ।

तर, सरकारी स्वामित्वको नेपाल रिले भने अझै चुक्तापुँजीको योजना पेश गरेको छैन । फागुन ४ गतेसम्म योजना पेश नगरेपछि कम्पनीले थप १५ दिन समय मागेको थियो । त्यो समयमा पनि कम्पनीले चुक्तापुँजी बृद्धि गर्ने योजना पेश गरेन । बीमा प्राधिकरणका एक उप निर्देशकले नेपाल रिबाट अझै पुँजी बृद्धिको योजना पेश नभएको बताए । 

बिशेषगरि, सरकारले समयमै सहमती नदिदाँ नेपाल रिको पुँजीबृद्धि प्रक्रिया अघि बढ्न नसकेको देखिन्छ । ‘नेपाल रि’ मा सरकारको ४४ प्रतिशत शेयर हिस्सा छ । पुँजीबृद्धिका लागि कम्पनीले अनिवार्य रुपमा सरकारबाट सहमति लिनुपर्छ । तर, सरकारले सहमति दिन ढिलाई गर्दा कम्पनीको पुँजीबृद्धिको काम अघि बढ्न नसकेको कम्पनीका एक अधिकारीले बताए । 

पछिल्लो पटक भने सरकारको सहमती प्राप्त भएपछि पुँजीबृद्धि योजना पेश गर्ने उल्लेख गर्दै नेपाल रिले प्राधिकरणलाई पत्र पठाएको बताइएको छ । कम्पनीले गत माघमै अर्थ मन्त्रालयसँग पुँजीबृद्धिका लागि सहमती मागेको थियो । कम्पनीको पुँजी बढाउँदा सरकारले ४४ प्रतिशतको अनुपातमा रकम थप्नुपर्छ । 

तसर्थ, यसमा अर्थ मन्त्रालयको स्वीकृत अनिवार्य छ । तर, मन्त्रालयले अझै सहमती नदिएको कम्पनीका एक उच्च अधिकारीले बताए । कम्पनीले पनि हकप्रद शेयर नैजारी गर्ने योजना बनाएको छ । तर, अर्थ मन्त्रालयबाट सहमती नआएको कम्पनीका उच्च अधिकारीहरु बताउँछन् । 

अहिले नेपाल रिको चुक्तापुँजी १२ अर्ब ८१ करोड ३५ लाख रुपियाँ छ । नयाँ व्यवस्थाअनुसार चुक्तपुँजी कायम गर्न कम्पनीले ७ अर्ब १९ करोड रुपियाँ लगानी थप्नुपर्छ ।

यद्यपि, कम्पनीको सञ्चालक समितिले यसअघि नै आफ्नो चुक्तापुँजी २० अर्ब पुर्याउने निर्णय गरेको थियो । सोहीअनुसार कम्पनीका पुर्व सीईओ शंकर रायमाझीले पनि कम्पनीको चुक्तापुँजी २० अर्ब पुर्याउने गरि कार्य सम्पादन सम्झौता गरेका थिए । 

तर, कोरोना महामारी, आर्थिक शिथिलता लगायतका कारण उनले चुक्तापुँजी बढाउन सकेनन् । उनी गत मंसिरमा कम्पनीबाट अवकाश भइसकेका छन् । यसरी कम्पनीले नै पुँजी बढाउने निर्णय गरेको थियो । तर, कार्यान्वयन भएन । अहिले नियामक निकायले निर्देशन दिदाँ समेत सरकारले पुँजी थप्न आनाकानी गरेको देखिन्छ ।

Advertisement

Advertisement