विनाशकारी बाढी पहिरोका कारण रोक्कियो बीमा नियामकहरुको अन्तर्राष्ट्रिय सम्मेलन

Advertisement

काठमाडौं । सोमबारदेखि राजधानीमा हुने भनिएको एसियन मुलुकका बीमा नियमक निकायहरुको सम्मेलन स्थगित गरिएको छ । ‘एसियन फोरम अफ इन्स्योरेन्स रेगुटर’ १८ औं अन्तर्राष्ट्रिय सम्मेलन असोज २१ गतेदेखि २३ गतेसम्म गर्ने कार्यक्रम तय भएको थियो । 

तर, नेपालमा विनाशकारी बाढी पहिरो गएको देखेपछि ‘एसियन फोरम अफ इन्स्योरेन्स रेगुटर’ले तत्काललाई सम्मेलन स्थगित गर्ने पत्र नेपाल बीमा प्राधिकरणलाई पठाएको छ । 

Advertisement

यद्यपि उसले पत्रमा कारण भने नखुलाएको प्राधिकरणका प्रवक्ता सुशीलदेव सुवेदीले बताए । सम्भवतः नेपालमा गत साता भारी बर्षापछि आएको बाढी पहिरोबाट ठूलो जनधनको क्षति भएका समाचारहरु देखेपछि फोरमसम्मेलन स्थगित गरेको हुनसक्ने प्राधिकरणको अनुमान छ । 

नेपालको पछिल्लो प्राकृतिक विपत्तिले झण्डै अढाई सय मानिसको ज्यान गएको छ भने बीसौं अर्बको भौतिक क्षति भएको छ । यद्यपि प्राधिकरणले छिट्टै सम्मेलनको अर्को मिति तोक्न पहल गर्ने पनि बताएको छ । सुवेदीले तिहारपछि यो सम्मेलन हुनसक्ने बताए । 
  
उनले भने, ‘एसियन फोरम’ले हरेक बर्ष यस्तो कार्यक्रम गर्दै आएको छ । गत बर्ष मलेसियामा यस्तो सम्मेलन भएको थियो । यसपाली भने नेपालमा गर्न लागेको हो ।’    

नेपालमा गरिने सम्मेलनलाई नेपाल बीमा प्राधिकरण, इन्टरनेशनल एसोसिएसन अफ इन्स्योरेन्स सुपरभाइजर र बैंक फर इन्टरनेशनल सेटलमेन्टस्ले संयुक्त रुपमा संयोजन गर्दै थिए । 

यसमा एसियन फोरम अफ इन्स्योरेन्स रेगुटरको सम्मेलन, बार्षिक बैठक र बार्षिक साधारण सभा पनि हुने भनिएको थियो । कम्तीमा २० मुलुकका बीमा नियमनकारी निकायका प्रमुख तथा प्रतिनिधिहरुको उपस्थितिमा सम्मेलन गर्न लागिएको हो । 

त्यसमा ‘प्रोटेक्शन ग्याप’ र ‘जलवायु परिवर्तनका कारण देखिएको प्रभाव’लाई मुख्य मुद्दा बनाइएको थियो । यस्ता समस्यालाई बीमा क्षेत्रले कसरी सम्बोधन गर्छ ? भन्ने बिषयमा केन्द्रीत भएर सम्मेलन गरिने भनिएको थियो । 

फोरमको १९ औं सम्मेलन भने अर्को बर्ष भारतमा गर्न प्रस्ताव गरिएको छ । 

यद्यपि, कात्तिक ७, ८ र ९ गते हुने भनिएको समावेशी बीमासम्बन्धी अर्को अन्तर्राष्ट्रिय सम्मेलन भने स्थगित भएको छैन । सोही मितिमै उक्त कार्यक्रम गरिने प्राधिकरणको भनाइ छ । 

म्यूनिक रि–इन्स्योरेन्स कम्पनी र माइक्रो इन्स्योरेन्स नेटवर्कले हरेक बर्ष यस्तो सम्मेलन गर्दै आएका छन् । गत बर्ष ढाकामा यस्तो सम्मेलन गरिएको थियो । यसपाली नेपालमा यो सम्मेलन गरिँदैछ । 

नेपालमा गर्न लागिएको ११ औं सम्मेलनलाई प्राधिकरणसहित नेपाल जीवन बीमक संघ र नेपाल निर्जीवन बीमक संघले संयुक्त रुपमा संयोजन गर्दैछन् । यो कार्यक्रममा ५० भन्दा बढी देशका बीमा क्षेत्रमा आवद्ध ४०० भन्दा बढी प्रतिनिधिहरुको सहभागीता हुनेछ । 

Advertisement

Advertisement