काठमाडौं । नयाँ आर्थिक वर्ष २०८१–८२ को पहिलो महिना अर्थात साउन महिनामा शेयर बजार ७६०.४ अंकले उचालिएको छ ।
गत आर्थिक वर्षको अन्तिम दिन अर्थात नेकपा एमालेका तर्फबाट अर्थमन्त्रीमा विष्णु पौडेल चयन भएको दिन गत असार ३१ गते सोमबार १७.१८ अंकले घटेर नेप्से २२४०.४१ अंकमा झरेको थियो ।
तर नयाँ आर्थिक वर्षको शुरुको दिन अर्थात साउन १ गते ७०.१८ अंकले बजार बढेर २३१०.५९ अंकमा उक्लिएको थियो । यो एक महिनाको बीचमा केही दिन बजारमा करेक्शन देखिए पनि अधिकांश दिन शेयर बजार उचालिएको थियो ।
साउन महिनाको अन्तिम दिन अर्थात साउन ३१ गते बिहीबारसम्म आइपुग्दा नेप्से बढेर ३०००.८१ अंकमा उक्लिएको छ ।
सत्ता समिकरण फेरिने र एमाले–काँग्रेसको नयाँ सत्ता समिकरण बन्ने हल्लासँगै बजारमा उचालिन थालेको हो । त्यसमाथि अर्थमन्त्रीमा पौडेल आउने चर्चा शुरु भएदेखिनै बजार बढ्न थालेको थियो ।
बजारमा एकाएक उछाल आएसँगै लगानीकर्ताहरु पनि हौसिएका छन् । २०७८ साल साउन ३१ गते आइतबार एकै दिन २१ अर्ब ६४ करोड ७६ लाखको शेयर कारोबार भएर रेकर्ड बनेको थियो भने त्यो रेकर्ड २०८१ साउन १६ गते एकै दिन २१ अर्ब ९१ करोड १५ लाख ३ हजार १ सय ६१.०६ रुपियाँ बराबरको कारोबार भएर त्यो रेकर्ड तोडिएको थियो ।
त्यसपछि कारोबार रकममा दिनदिनै जसो रेकर्ड तोडिएर २०८१ साउन ३१ गतेसम्म आइपुग्दा २९ अर्ब ९५ करोड ८५ लाख १९ हजार २ सय १६.९५ रुपियाँ बराबरको कारोबार भएर नयाँ रेकर्ड बनेको छ ।
नेपाली शेयर बजारमा २०७८ भदौ २ गते नेप्से ३१९८.६० पुगेको रेकर्ड विद्यमान छ । शेयर बजारले दिनदिनै लिंदै गएको उचाई हेर्दा तीनवर्ष त्यो रेकर्ड तोडिने आशामा लगानीकर्ताहरु छन् ।