काठमाडौं । राष्ट्रिय ध्वजाबाहाक जहाजहरु एकपछि अर्को ग्राउण्डेड भएको बेला संस्कृति, पर्यटन तथा नागरिक उड्डनमन्त्री बद्री पाण्डे भने विदेशी वायुसेवा कम्पनीका प्रतिनिधिसँग छलफल सुरु गरेका छन् ।
उनले मंगलबार पोखरा र भैरहवा विमानस्थल सञ्चालन गर्ने नाममा विदेशी वायुसेवा कम्पनीका प्रतिनिधिसँग छलफल सुरु गरेका हुन् । नेपाल वायुसेवा निगमको वाइडबडी जहाज सी–चेकको लागि भन्दै इटली गएको दुई महिना बितिसक्दा पनि फर्किनसक्दै अर्को वाइडबडी पनि सी–चेकको लागि समय भएकाले ग्राउण्डेड भएको छ । अर्को न्यारोबडी जहाज पनि सी–चेकको समय हुन लागेको छ ।
राष्ट्रिय ध्वजाबहाक एकपछि अर्को सञ्चालन नहुँदा विदेशी वायुसेवा कम्पनीहरुले हवाई भाडामा वृद्धि गरेको बेला तिनै वायुसेवा कम्पनीका प्रतिनिधिसँग पर्यटनमन्त्री पाण्डे छलफलमा जुटेका हुन् । निगमका कर्मचारीहरुले निगमका जहाजहरु चल्न नदिने र संस्थालाई धरासायी बनाउनमा विदेशी वायुसेवा कम्पनीका नेपालका एजेन्ट (जीएसए)हरु सक्रिय छन् ।
मन्त्री पाण्डेले विदेशी वायुसेवा कम्पनीका प्रतिनिधिसँग पोखरा र भैरहवामा लाखौं पर्यटकहरु भित्राउन सकिने बताए । उनले देश आर्थिक जटिलतामा रहेको भन्दै यो संकटको अवस्था भए पनि सरकारले विभिन्न प्योकज ल्याएर पोखरा र भैरहवा विमानस्थल सञ्चालन गर्न खोजेको बताए ।
देशको जटिलतालाई बुझेर सरकारले गरेको निर्णय कम आक्न हुँदैन भन्दै पाण्डेले दुई वटै विमानस्थल सञ्चालनका लागि नीतिगत, व्यवसायिक र सुरक्षाका क्षेत्रमा निरन्तर छलफल गर्न सरकार तत्पर रहेको बताए । उनले पोखरा पर्यटकीय केन्द्र भएकोले चीन, भारत लगायतका मुलुकबाट पोखरा र भैरहवामा पर्यटकहरु भित्राउन सकिने बताए ।
सरकारले ल्याएको प्याकेजमा दुई वर्षपछि के होला ? भन्ने विषयमा चिन्ता नलिन समेत पाण्डेले विदेशी वायुसेवा कम्पनीलाई उनले आग्रह गरे । पाण्डेले रुटका विषयमा सरकार चीन र भारतसँग कुटनैतिकरुपमा छलफल गर्ने तयारीमा रहेको बताए । आजको छलफलमा एक दर्जनभन्दा बढी विदेशी वायुसेवा कम्पनीका प्रतिनिधि सहभागी थिए ।