धुर्मुसले सुरु गरेको क्रिकेट रङ्गशालाको निर्माण सुचारु

Advertisement

भरतपुर । लामो समय अलपत्र बनेको चितवनको रामपुरस्थित गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रङ्गशाला निर्माणले गति लिएको छ । 

कलाकार सीताराम कट्टेल (धुर्मुस)ले निर्माण सुरु गरेको यो रंगशाला सहयोग जुटाउन नसकेसँग अलपत्र परेकोमा केन्द्रीय सरकार र स्थानीय तहले लगानी गरेर निर्माण सुचारु गरेका हुन् । 
     
तोकिएकै समयमा रङ्गशाला निर्माण हुने आशा व्यक्त गर्दै भरतपुर महानगरपालिकाले निर्माणका लागि आवश्यक नदीजन्य सामग्री र अन्य कामको सहजीकरण गरिएको बताएको छ ।
     
महानगरपालिकाले हिमालयन कालिञ्चोक बिबिआर जेभीलाई ३० महिनाभित्र रङ्गशाला निर्माण सम्पन्न गर्नेगरी जिम्मा दिएको हो । निर्माण कम्पनीले दुई हप्तादेखि फिल्डस्तरमा काम थालेको भरतपुर महानगरपालिकाका प्रशासकीय अधिकृत लक्ष्मीप्रसाद पौडेलले जानकारी दिए । उनले कामको सहजीकरणका लागि महानगरपालिकाले चार जनाको प्राविधिक टोली कार्यस्थलमा खटाएको बताए । 
     
पौडेलका अनुसार यसअघिको डिजाइन परिवर्तन गरिएको छ भने दर्शक अट्ने क्षमता घटाएर अन्तर्राष्ट्रिय प्रतियोगिता गर्न मिल्ने गरी रङ्गशाला निर्माण फेरि सुरु गरिएको छ । सरकारले आवश्यक सहयोग गरेमा सम्झौता अवधिभन्दा छिटो सक्नेगरी काम अघि अगाडि बढाइएको हिमालयन कालिञ्चोक बिबिआर जेभीका आयोजना प्रमुख विजय ढकालले बताए । उनका अनुसार अहिले २५० जना कामदार खटिएका छन् । पहिलो चरणमा रङ्गशालामा मैदान, ड्रेनऐज र दुई वटा तीन तलाको टावर निर्माण गरिनेछ ।     
     
धुर्मुस–सुन्तली फाउण्डेसन र भरतपुर महानगरबीच २०७५ माघ १६ गते रङ्गशाला निर्माण सम्झौता हुँदा ३० हजार दर्शक क्षमताको बन्ने उल्लेख थियो । पहिलो चरणमा १५ हजार दर्शक अट्ने क्षमताको रङ्गशाला बन्नेछ । फाउण्डेसनले यसअघि नै दुबो रोपेर मैदान बनाएको थियो । अहिले भने नयाँ प्रविधिको प्रयोगगरी पाँच वटा पिचसहितको मैदान बनाउन लागिएको छ । नयाँ माटो ल्याएर मैदानमा पानी नजम्ने बनाउन लागिएको ढकालले बताए । 

Advertisement

Advertisement

Advertisement