नागढुंगा सुरुङमार्गमा ढलान गर्ने काम हुँदै, काम सकिन अझै एक बर्ष लाग्ने

Advertisement

काठमाडौं । जापान अन्तर्राष्ट्रिय सहयोग नियोग (जाइका)को सहुलियतपूर्ण ऋण तथा प्रविधिमा निर्माण भइरहेको नेपालकै पहिलो आधुनिक सुरुङमार्ग अर्थात् ‘सिस्नेखोला–नागढुंगा’ सुरुङमार्ग परियोजनाको भौतिक प्रगति ८०.५० प्रतिशत पुगेको जनाइएको छ । 

नागढुंगा सुरुङ निर्माण परियोजना कार्यालयले बुधबार सार्वजनिक गरेको पछिल्लो प्रगति विवरणअनुसार परियोजनाको वित्तीय प्रगति भने ७४.७० प्रतिशत पुगेको छ । परियोजनाअन्तर्गत मुख्यत रेस्क्यु र मुख्य गरेर दुई सुरुङमार्ग छन् । त्यसमा दुई हजार ५५७ मिटर लामो रेस्क्यु टनेल साउन २२ गते र दुई हजार ६८८ मिटर लामो मुख्य टनेल बैशाख ३ गते ब्रेक थ्रु भइसकेको छ । 

Advertisement

यसैगरि सुरुङमार्ग सञ्चालनका लागि कन्ट्रोल बिल्डिङ र मुख्य सडकमा पहुँच पुर्याउन फलाईओभर पनि बन्दैछ । ब्रे थ्रु पछि हालसम्म मुख्य टनेल र क्रस प्यासेजको लाइनिङ (भित्ता ढलान)को काम पनि सम्पन्न भइसकेको छ । रेस्क्यु टनेलमा भने आवश्यकताअअनुसार केही ठाउँमा मात्रै लाइनिङ गरिएको छ । 

लाइनिङको काम सकिएसँगै सुरुङभित्रको सडकलाई कंक्रिटिङ (ढलान) गर्ने काम पनि सुरु गरिएको छ । त्यो काम गर्न झण्डै पाँच महिना लाग्ने अनुमान गरिएको छ । सडक ढलान गरेपछि सुरुङमा अक्सिजन, टेलिफोन, इन्टरनेट, विद्युत् जडान गर्ने लगायतका काम गर्नुपर्नेछ । त्यो काम सकिएपछि सुरुङमार्ग सञ्चालनका लागि तयार हुनेछ । सुरुङभित्रको सडकलाई कालोपत्रे नगरेर ढलान गर्न लागिएको हो । 

यो परियोजनाको निर्माण सम्पन्न गर्न २०२५ अक्टोबर २५ तारिखसम्मको समय सीमा छ । हाल सुरुङको फिनिसिङ, फ्लाईओभर लगायतका संरचना बनाउने काम भइरहेको छ । प्रतिवेदनअनुसार दुई सुरुङको ब्रेक थ्रु मुख्य सुरुङको लाइनिङ क्रस प्यासेज, वर्किङ अडिटको काम पनि सकिएको छ । अब सडक कंक्रिटिङ र फिनिसिङको काम बाँकी रहेको आयोजना कार्यालयका अधिकारीहरु बताउँछन् । 

नागढुंगा सुरुङमार्ग अन्तरगतको १२ मध्ये ११ संरचना तयार भएको छ । तीनवटा अन्डरपास र चारवटा बक्स कल्भर्ट (माथि गाडी, तल पानी बग्ने संरचना)को निर्माण सम्पन्न भएको छ । यसबाहेक आयोजनाअन्तर्गत हुने एउटा अन्डरपास, तीनवटा पुलको पनि निर्माण सम्पन्न भइसकेको छ । आयोजनामा बन्ने फ्लाइओभर भने निर्माणको चरणमा रहेको छ । फ्लाई ओभरको काम पनि अन्तिम चरणमा छ । 

सरकारले झण्डै २३ अर्ब लगानीमा बन्न लागेको परियाजना नेपालकै पहिलो आधुनिक सुरुङमार्ग हो । यसमा जापान अन्तरराष्ट्रिय सहयोग नियोग (जाइका)को १६ अर्ब ६३ करोड रुपियाँ सहुलियत ऋण छ । यो आयोजना बनाउन २०१९ सेप्टेम्बरमा जापानकै निर्माण कम्पनी हाजमा एन्डो कर्पोरेशनबीच सुरुङ निर्माणको ठेक्का सम्झौता भएको थियो । आयोजनाको निर्माण कार्य भने २०७७ पुसबाट सुरु भएको थियो । अब एक बर्षमा परियोजना सञ्चालनमा ल्याउने तयारी छ ।

Advertisement

Advertisement