बाढी पहिरोले गम्भीर क्षति पुर्याएको माथिल्लो तामाकोशी तिहारअघि आंशिक सञ्चालनको तयारी

Advertisement

काठमाडौं । असोज १०–१२ गते सम्म भएको अविरल बर्षा र पहिरोका कारण बाँध क्षेत्रका संरचना क्षतिग्रस्त हुँदा बन्द भएको ४५६ मेगावाटको माथिल्लो तामाकोशी जलविद्युत् परियोजना एक महिनाभित्र आंशिक सञ्चालन ल्याउने तयारी गरिएको छ । 

क्षतिग्रस्त भएको बायाँ डिस्याण्डर (बालुवा थिग्राउने पोखरी)लाई सामान्य मर्मत गरेर सञ्चालनमा ल्याउन सकिने संभावना देखिएको आयोजनाको भनाई छ । एक महिनाभित्र त्यसको अल्पकालिन मर्मत गरेर परियोजना सञ्चालनमा ल्याउने आयोजनाको प्रवर्द्धक कम्पनी अपर तामाकोशी हाइड्रोपावरको तयारी छ । 

Advertisement

परियोजनामा दुई वटा डिस्याण्डर रहेका छन् । माथिबाट खसेको पहिराले दायाँ (कुना पट्टी)को डिस्यान्डरलाई बढी क्षति पुर्याएको छ । बायाँ डिस्यान्डरमा भने कम क्षति गरेको देखिएको छ । त्यसलाई अल्पकालिन रुपमा सामान्य मर्मत गरेर परियोजना सञ्चालन गर्न सकिने कम्पनीका प्रमुख कार्यकारी अधिकृत (सीईओ) मोहन गौतमले बताए । त्यसको लागि एक महिना जति समय लाग्ने उनको भनाइ छ । 
 
गौतमले भने, ‘दशैं लगत्तै त्यसको लागि काम सुरु गर्छौं । तिहारअघि वा एक महिनामा परियोजनालाई आंशिकरुपमा सञ्चालन गर्ने प्रयासमा छौं ।’ क्षतिग्रस्त संरचनाहरुलाई पुर्नस्थापना गर्न भने कम्तीमा पनि ६–७ महिना लाग्ने उनले बताए । 

अहिले आयोजनामा कति रकमको क्षति भएको छ ? पुर्ननिर्माणमा कति पैसा लाग्छ ? कति समयमा पुनर्निर्माण गर्न सकिन्छ ? यी बिषयमा अध्ययन भइरहेको गौतमले बताए । त्यससम्वन्धी अध्ययन प्रतिवेदन आएपछि थाहा हुने उनको भनाई छ । आयोजनामा क्षतिग्रस्त संरचनाको पुनर्निर्माणमा दुई अर्ब रुपियाँ हारहारीमा लगानी चाहिने अनुमान छ । 

माथिल्लो तामाकोशीको बाँध क्षेत्र दोलखाको बिगु गाउँपालिका–१ लामाबगरमा छ । असोज १२ गते माथिबाट ठूला ढुंगा सहितको पहिरो आएपछि बाँध क्षेत्रका संरचना (हेडवक्स)मा ठूलो क्षति पुर्याएको थियो । बाँधस्थलभन्दा केही तल दायाँतर्फ रहेको नियन्त्रण कक्ष (कन्ट्रोल रुम) भवन, डिस्याण्डर र बाँधबाट डिस्याण्डरसम्म पानी पुर्याउने भूमिगत नहर (कल्भर्ट)मा ठूलो क्षति पुगेको थियो । 

कन्ट्रोल रुम भवन र त्यहाँ रहेका उपकरणहरु पूर्ण रुपमा क्षतिग्रस्त भएका छन् । डिस्याण्डरमा रहेका दुई वटा पोखरीमा लेदो, गेग्रान, ठूल्ठूला ढुङ्गा थुप्रिएका छन् । दुई वटा पोखरी प्रत्येकमा ७५–७५ हजार घनमिटर लेदो, ढुङ्गालगायत थुप्रिएको छ ।
 
कन्ट्रोल रुम भवन, डिस्याण्डर र कल्भर्ट रहेको स्थानभन्दा माथिबाट खसेको पहिरोका कारण ती संरचनामा ठूलो क्षति पुगेको थियो । कन्ट्रोल रुपमा कार्यरत कम्पनीका दुई कर्मचारी र सुरक्षाका लागि खटिएका दुई सैनिक गरी चार जनाको मृत्यु भएको थियो । 

विद्युत् गृहमा पानी पठाउने संरचना नै क्षतिग्रस्त भएपछि अहिले माथिल्लो तामाकोशीको उत्पादन बन्द छ । विद्युत् उत्पादन बन्द हुँदा माथिल्लो तामाकोशी जलविद्युत केन्द्रको प्रवर्द्धक कम्पनीले दैनिक चार करोड रुपियाँ आम्दानी गुमाइरहेको छ ।

सञ्चालनमा रहेकामध्ये यो नेपालको सबैभन्दा ठूलो र अर्धजलाशय प्रकृतिको जलविद्युत् परियोजना हो । बर्खामा यही परियोजनाका कारण विद्युत् निर्यात गर्न सहज भएको थियो । अर्धजलाशय भएका कारण हिउँदको माग धान्न पनि यो परियोजनाको ठूलो योगदान छ । तर, बाढीले आयोजना क्षतिग्रस्त हुँदा र त्यसको पुनर्निर्माण समेत अन्योल हुँदा हिउँदमा लोडसेडिङकै सामना गर्नुपर्ने जोखिम छ । 

कम्पनीका अनुसार शनिबार र आइतबार गरेर डिस्याण्डरमा थुप्रिएको ढुङ्गा र लेदो हटाउने काम भएको छ । त्यस क्रममा बायाँ डिस्यान्डरलाई सामान्य मर्मत गरेर सञ्चालन गर्न सकिने देखिएको छ । बाँधका संरचना सामान्य अवस्थामै छन् । बाँधबाट डिस्यान्डरमा पानी ल्याउने भूमिगत नहरमा धेरै क्षति पुगेको छैन । डिस्यान्डरबाट सुरुङमा पानी पुर्याउने संरचनामा असर पुगेको छैन । त्यो अवस्था अब बायाँ डिस्याण्डरको सामान्य मर्मत गरेर पानी भरिनेछ । 

त्यसपछि सुरुङमा पानी पठाइनेछ । सुरुङ हुँदै विद्युत् गृहमा पानी पठाइनेछ । पानी पर्याप्त भएको अवस्थामा एउटै डिस्याण्डरबाट पनि पूर्ण क्षमतामा विद्युत् उत्पादन गर्न सकिने गौतमले बताए । 
बाँया डिस्यान्डरलाई सञ्चालन गर्दा दायाँ डिस्यान्डरको पुनः निर्माण गरिनेछ । दायाँ डिस्यान्डरको पुनर्निर्माण सम्पन्न भएपछि त्यसलाई नै सञ्चालन गरिनेछ र बायाँ डिस्याण्डरको बिस्तृत रुपमा पुनःनिर्माण गरिने कम्पनीको भनाई छ ।  

तर, बाँधको कन्ट्रोल बिल्डिङ बनाउन कति समय लाग्छ ? अझै समय यकिन हुन नसकेको गौतमले बताए । माथिबाट खसेका ठूला ढुंगाले उक्त बिल्डिङ पूर्ण रुपमा क्षतिग्रस्त भएको छ । फेरि पनि त्यहाँ नै कन्ट्रोल बिल्डिङ बनाउँदा पछि पनि यस्तो समस्या आउने जोखिम रहन्छ भन्दै कम्पनीले यस बिषयमा परामर्श लिने काम भइरहेको बताएको छ । 

Advertisement

Advertisement