काठमाडौं । नेपालको एक व्यवसायिक घराना गोल्याण समूहले लेकाली ग्रुपसँग समूहको सम्वन्ध रहेको भन्दै चलेको हल्ला असत्य र भ्रमपूर्ण रहेको बताएको छ ।
लेकाली कोर्पसँग नाम जोडी चलेको हल्लाप्रति गम्भीर आपत्ति जनाउँदै गोल्याण समूहले कर्पसँग कुनै पनि तवरले, प्रतक्ष तथा अप्रतक्ष रुपमा सम्बन्ध तथा सरोकार नरहेकोको स्पष्ट पारेको छ ।
सो समूहले विज्ञप्तिमा भनेको छ, ‘गोल्याण ग्रुप, ग्रुपअन्तर्गतका कम्पनीहरू, सञ्जाल कम्पनीहरू र सम्बन्धित सञ्चालकहरूको समेत लेकाली कर्पसँग कुनै पनि किसिमको सम्बन्ध वा सम्बद्धता छैन ।’
यसरी कुनै तवरले गोल्याण ग्रुपको लेकाली कर्पसँग सम्बन्ध नै नहुँदा पनि आफूहरुको नाम जोडी चलेको हल्ला भ्रमपूर्ण र असत्य हो भन्दै सो समूहले यस प्रकारका असत्य तथा भ्रामक समाचारका कारण गोल्याण ग्रुपको प्रतिष्ठा, मर्यादा र ख्यातीमा ठूलो नकारात्मक प्रभाव पार्नसक्ने चिन्ता व्यक्त गरेको छ ।
उचित अध्ययन, अनुसन्धान तथा आधार बिना लेखिएका कुराहरुले आफूहरुको संस्था र लेकाली कर्पको गलत तरिकाले नाम जोड्ने कुराले दुवैको व्यावसायिक क्रियाकलाप र सम्बन्धलाई असर पुर्याउन सक्छ भन्दै गोल्याण समूहले पारदर्शिता कायम राख्न र सार्वजनिक जानकारीको सटिकता सुनिश्चित गर्न गलत जानकारीलाई सच्याउन र भ्रमको फैलावटलाई रोक्न अत्यन्त महत्वपूर्ण रहेको बताएको छ ।
विज्ञप्तिमा थप भनिएको छ, ‘असत्य जानकारीले हाम्रा व्यापारिक चासोहरू र सार्वजनिक छविमा नकारात्मक प्रभाव पार्न सक्छ ।’ झुटो समाचारले पत्रकारिताका अखंडता र मानकहरूलाई समेत कमजोर बनाउने गोल्याण समूहको तर्क छ । समूहले गल्ती सच्याउन पनि सम्वन्धित पक्षलाई आग्रह गरेको छ । ‘यस प्रेस विज्ञप्तिमार्फत आफ्नो गल्तीप्रति सचेत गराइएको छ र भूल सुधार गर्ने एक मौका दिइएको छ’ विज्ञप्तिमा भनिएको छ ।