अभिकर्ताले अब महिनाको २८ गते भित्रै लक्ष्य पूरा गर्नुपर्ने

Advertisement

काठमाडौं । अब जीवन बीमा अभिकर्ताहरुले कम्पनीबाट पाउने इन्सेन्टिभका लागि प्रत्येक महिनाको २८ गते भित्र नै तोकिएको टारगेट पूरा गर्नुपर्ने भएको छ । 

नेपाल बीमा प्राधिकरणले एक परिपत्र जारी गर्दै यस्तो निर्देशन दिएको हो । 

Advertisement

कम्पनीहरुले व्यवसाय बढाउन बिभिन्न इन्सेन्टिभ तथा स्किम ल्याएर अभिकर्ताहरुलाई प्रोत्साहन गरिरहेका हुन्छन् । त्यो इन्सेन्टिभ पाउन मासिक, त्रैमासिक तथा बार्षिक रुपमा बिभिन्न लक्ष्य अर्थात् टारगेट पनि तोकिएको हुन्छ । त्यो पुरा गरेमा अभिकर्ताले कम्पनीबाट तोकिएअनुसार थप सुविधा पाउनेछन् । तर, अब त्यस्तो टारगेट प्रत्येक महिनाको २८ गते भित्र नै पुरा गर्नुपर्ने भएको हो । 

‘जीवन बीमा अभिकर्ताहरूको लागि बीमा गर्ने लक्ष्य तोक्दा, इन्सेन्टिभ प्रदान गर्दा वा तथा स्किम जारी गर्दा प्रत्येक महिनाको २८ गते भित्र पुरा गरिसक्नु पर्ने गरी तोक्ने,’ परिपत्रमा भनिएको छ । 

२८ गते पछि बिक्री हुने पोलिसी भने अर्को महिनाको टारगेटमा समावेश गर्न सकिने प्राधिकरणको निर्देशन छ । ‘२८ गते पश्चात गरिने बीमालाई सोही महिनाको लक्ष्य, इन्सेन्टिभ वा स्किममा समावेश नगरी अर्को महिनाको लक्ष्य, इन्सेन्टिभ वा स्किममा समावेश गर्नु पर्ने’ परिपत्रमा भनिएको छ । 

यस्तै, कम्पनीलाई  त्रैमासको अन्तिम दिन नयाँ बीमालेख स्वीकृत नगर्न पनि निर्देशन दिइएको छ । ‘प्रत्येक त्रैमासिक अवधिको अन्तिम दिन कुनै पनि बीमा प्रस्ताव स्वीकृत नगर्ने । तर, उक्त दिनको अघिल्लो दिनसम्म स्वीकृत भएका प्रस्तावहरूको लागि बीमालेख जारी गर्न सकिने’ परिपत्रमा भनिएको छ । तर, यो नीतिले ग्राहकहरुले इच्छाएको समयमा बीमा गर्न नपाउने समस्या आउने देखिन्छ । यसले जोखिम रक्षावरणमा समेत समस्या खडा गर्ने सम्भावना देखिन्छ । 

जीवन बीमा कम्पनीले अभिकर्तालाई प्रदान गर्ने इन्सेन्टिभ लगायतका सुविधाको कट अफ डेट आवधिक वित्तीय विवरण पेश गर्ने मितिसँग मिल्न गएको हुनाले यस्तो व्यवस्था गरिएको प्राधिकरणको भनाइ छ । 

‘जीवन बीमा कम्पनीले अभिकर्तालाई प्रदान गर्ने इन्सेन्टिभ लगायतका सुविधाको कट अफ डेट आवधिक वित्तीय विवरण पेश गर्ने मितिसँग मिल्न गएको हुनाले सो समयमै वित्तीय विवरण तयार गर्न र बीमा कारोबारको डे इन्ड (दैनिक कारोबार बन्द) गर्ने प्राधिकरणको निर्देशन लागू गर्न समेत कठिनाई उत्पन्न भएको हुनाले जीवन बीमकहरूको बीमालेख जारी सम्बन्धमा यस्तो व्यवस्था गरिएको हो’ परिपत्रमा भनिएको छ ।

Advertisement