गाउँपालिकाको लगानीमा ६ किलोवाट क्षमताको सोलार प्लान्ट जडान गरिदै

हेलिकप्टरबाट सामान लगेर एभरेष्ट बैंकले साईपालमा बनायो शाखा कार्यालय, यसै महिना उद्घाटन !
साईपालमा बैंक स्थापना गर्ने मामिलामा गत जेठमा राष्ट्र बैंकमा एभरेष्ट बैंक, गाउँपालिका र नेपाल राष्ट्र बैंकबीच भद्र सहमती हुदाँको झलक

Advertisement

काठमाडौं । बैंकको शाखा पुग्न बाँकी एक मात्रै स्थानीय तह साईपाल गाउँपालिकामा भदौ महिना भित्रै एभरेष्ट बैंकको शाखा उद्घाटन गर्ने तयारी गरिएको छ । 

हाल नेपालमा रहेको ७५३ स्थानीय तह मध्ये बझाङको साईपाल गाउँपालिकामा मात्रै बैंक तथा वित्तिय संस्थाको पहुँच पुग्न बाँकी छ । त्यहाँ बैंकको शाखा स्थापना गर्ने जिम्मा एभरेष्ट बैंकलाई छ । 

Advertisement

बैंकले पनि तत्काल शाखा उद्घाटन गर्ने तयारी गरेको छ । उद्घाटन समारोहमा राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारी उपस्थित हुनेछन् । 

साइपालमा तत्काल शाखा स्थापना गर्न गत जेठमा बैंक, गाउँपालिका र नेपाल राष्ट्र बैंकबीच भद्र सहमती भएको थियो । त्यसपछि त्यहाँ शाखा स्थापना गर्ने तयारी तिव्र रुपमा अघि बढाइएको थियो । सम्भवतः भदौ महिना भित्रै शाखा कार्यालयको उद्घाटन हुन सक्ने गाउँपालिका अध्यक्ष मानविर बोहराले बताए । तर, बैंकले पनि यसका लागि तयारी अघि बढाइसकेको छ । विद्युत् भएको अवस्थामा तत्काल शाखा सञ्चालन गर्न सकिने बैंकको भनाइ  छ । 

साईपालमा बैंकको शाखा मात्रै होइन, सडक र बिजुलीको पहुँच पनि पुगेको छैन । त्यो अवस्थामा बैंकले शाखा सञ्चालन गर्न आवश्यक पर्ने सामग्री हेलिकप्टर मार्फत ढुवानी गरिसकेको छ । पालिकाको वडा नम्बर १ मा बैंक शाखा कार्यालयको भवन समेत बनाइसकेको छ । साथै, त्यो शाखाका लागि आवश्यक पर्ने कर्मचारीको समेत व्यवस्थापन भइसकेको छ । तर, विद्युत् नहुँदा त्यो सञ्चालनमा आउन सकेको छैन । बिजुली भएको अवस्थामा तत्काल शाखा सञ्चालन गर्ने सकिने बैंकको भनाइ छ । 

पालिका अध्यक्ष बोहराले भने केही दिनमै बिजुलीको व्यवस्थापन हुने बताए । पालिकाले बैंक शाखा सञ्चालनलाई चाहिने विद्युत् उत्पादन गर्न करिब आठ लाख रुपियाँ आफ्नै लगानीमा सोलार प्लान्ट स्थापना गरिदिदैंछ । त्यसका लागि काठमाडौंबाट मगाएको ६ किलोवाट क्षमताको सोलार बझाङको सदरमुकाम चैनपुरमा पुगीसकेको अध्यक्ष बोहराले बताए ।  त्यहाँबाट गाउँपालिकासम्म भने सडक नभएका कारण व्यक्ति वा खच्चरलाई बोकाएर पठाउनुपर्छ । त्यसो गर्दा ढुवानीमा थप दुई दिन समय लाग्नेछ । त्यसपछि जडान गर्न एक दिन समय लाग्नेछ । त्यसपछि शाखा सञ्चालन गर्न विद्युत् उपलब्ध गराउन सकिने अध्यक्ष बोहराको भनाइ छ । 

राष्ट्र बैंकले २०७४ सालमै सबै पालिकाहरुमा वाणिज्य बैंकको शाखा स्थापना गर्ने नीति ल्याएको थियो । त्यसमा पालिका नै तोकेर बाणिज्य बैंकहरुलाई शाखा विस्तार गर्न निर्देशन दिइएको थियो । त्यसमा साईपाल गाउँपालिका एभरेष्ट बैंकको भागमा परेको थियो । हालसम्म आउँदा एभरेष्ट सहित अन्य बैंकहरुले आफ्नो भागमा परेका अन्य पालिकाहरुमा शाखा स्थापना गरिसकेका छन् । तर, साईपाल गाउँपालिकामा अझै एभरेष्ट बैंकले शाखा स्थापना गर्न सकेको छैन । सडक, इन्टरनेट लगायतका अत्यावश्यक पुर्वाधारको अभाव हुदाँ त्यहाँ शाखा स्थापना गर्न नसकेको बैंकका अधिकारीहरु बताउँछन् । तर, अब त्यहाँ बैंक शाखा तत्काल सञ्चालन गरिने बैंकको भनाइ छ ।

हाल देशभर क, ख र ग बर्गका बैंक तथा वित्तिय संस्थाको ६ हजार ४७९ वटा शाखा कार्यालय छन् । लघुवित्त वित्तिय संस्थाहरुको जोड्दा त्यो भन्दा पनि बढी शाखा कार्यालय छन् । तर, ७५३ वटा पालिका मध्ये साईपालमा अहिले सम्म कुनै पनि बैंक तथा वित्तिय संस्थाले शाखा स्थापना गरेका छैनन् । त्यसले गर्दा त्यहाँका आम सर्वसाधारणहरुलाई वित्तिय तथा बैंकिङ कारोबार गर्न निकै दुःख भइरहेको छ । कतै पैसा पठाउन वा लिन जिल्ला सदरमुकाम चैनपुर नै आउनुपर्ने बाध्यता रहेको छ ।

साईपाल गाउँपालिकाले समेत जिल्ला सदरमुकाम चैनपुरमै आफ्नो सम्पर्क कार्यालय राखेको छ । बैठक बाहेक सबै काम त्यहीबाट हुन्छ । तर, अब पालिकामै बैंक स्थापना हुने भएपछि सहज हुने अध्यक्ष बोहराले बताए ।
 

Advertisement

Advertisement