शशांकमा जाग्यो पार्टी सभापति हुने इच्छा, विपीको छोरो भएकाले सहजै चुनाव जित्ने आशा

Advertisement

काठमाडौं । नेपाली काँग्रेसका सांसद शशांक कोईरालाले आगामी महाधिवेशनमा पार्टी सभापतिको उम्मेदवार बन्ने बताएका छन । 

सोमवार विपी कोईरालाको १११ औं जन्मजयन्तीको कार्यक्रममा उनले यस पटक पार्टी सभापतिमा उठ्ने कुरा भविष्यमा निर्धारण हुने पनि बताए । विपीको छोरो हुने बित्तिकै आफूलाई हरेक कुरामा सबैभन्दा अगाडि सार्ने काम गरिएको शशांकको भनाई छ । 

Advertisement

आफूले सहजै निर्वाचन जित्ने गरेको र अहिलेसम्म पाँच पटक जितिसकेको बताउँदै उनले ठूलो मान्छे नभइ असल मान्छे हुनुपर्नेमा विपीले जोड दिएको स्मरण गरे । असल मान्छे हुन पनि कठिन रहेको शशांकको तर्क छ ।

उनले भने, ‘विपीको छोरो हुने बित्तिकै हरेक कुरामा सबैभन्दा अगाडि सारिदिन्छन् मानिसले । कति सजिलोसँग म चुनाव जित्छु, केही गर्नै पर्दैन । पाँच चोटी त चुनाव जितेँ । त्यसलै यसपालि मलाई के लाग्यो भने अब सभापतिकै लागि लड्नुपर्ला जस्तो लागेको छ । अब त्यो त भविष्यले भन्छ । मैले विपीको बारेमा भन्दा उहाँ भन्नुहुन्थ्यो, ठूलो मान्छे होइन, असल मान्छे बन्नुपर्छ । त्यो पनि एकदम गाह्रो रहेछ फेरि । भन्दाखेरी कति सजिलो छ । असल बन्नु भनेको अत्यन्त गाह्रो हो । सबैको आधार, सम्मान गर्नुपर्छ । त्यो मबाट हुनै सक्दैन जस्तो लाग्छ मलाई । किनभने अरुहरुमा त्रुटी देख्छु । त्यसलाई कोट्यायो भने अपमान हुन्छ, त्यो गर्नु हुँदैन । त्यसैले गाह्रो छ ।’

सांसद कोईरालाले विपी व्यक्ति भन्दा पनि एउटा विचार भएको उल्लेख गरे । 

Advertisement