अघि बढ्यो नेपाल-बंगलादेश विद्युत् बिक्री सम्झौताको प्रक्रिया, दसैं अघिनै सम्झौता गर्ने तयारी

Advertisement

काठमाडौं । बंगलादेशको राजनीतिक घटनाक्रमका कारण अन्योलमा परेको नेपाल बंगलादेश विद्युत् बिक्री सम्झौतामा हस्ताक्षर गर्ने प्रक्रिया पुनः अघि बढेको छ । बंगलादेशको अन्तरीम सरकारले नेपालबाट विद्युत् किन्न सहमती जनाएपछि यस्तो सम्झौता पत्रमा हस्ताक्षर गर्ने गर्ने प्रक्रिया अघि बढेको हो । 

ऊर्जा, जलस्रोत तथा सिँचाई मन्त्रालयका प्रवक्ता चिरञ्जीवी चटौतले सम्झौता पत्रमा हस्ताक्षर गर्ने गरी छलफल अघि बढेको बताए । यद्यपि, मिति टुंग्गो नलागेको उनले बताए । तर, दशैं अघि नै सम्झौता पत्रमा हस्ताक्षर गर्ने गरि छलफल भएको उनको भनाइ छ । 

Advertisement

यसअघि गत साउन १३ गते काठमाडौंमा उक्त सम्झौता पत्रमा हस्ताक्षर गर्ने भनिएको थियो । तर, बंगलादेशमा सेनाका सन्तानलाई सरकारी जागिरमा दिइएको कोटा (आरक्षण) विरुद्ध जारी आन्दोलनका कारण त्यो स्थगित गरियो । त्यही आन्दोलनका कारण साउन २२ गते त्यहाँकी प्रधानमन्त्री शेख हसिनाले पदबाट राजीनामा दिई आफ्नो देश छोडिन । त्यसलगत्तै बंगलादेशको सेनाले सत्ता कब्जा गरेको थियो । पछि नोबेल शान्ति विजेता तथा अर्थशास्त्री मोहम्मद युनुस अन्तरीम सरकारको प्रमुख बनेका थिए । त्यस घटना क्रमपछि उक्त सम्झौता पत्रमा हस्ताक्षर गर्ने कार्यक्रम अन्योलमा गएको थियो । तर, अहिले त्यसका लागि छलफल अघि बढेको मन्त्रालयको भनाइ छ । 

नेपालले बंगलादेशलाई ४० मेगावाट विद्युत् बिक्री गर्दैछ । दुवै देशले यस सम्बन्धी सम्झौता पत्रमा हस्ताक्षर गर्न सबै तयारी पुरा गरिसकेका छन् । नेपालको विद्युत् भारतीय प्रसारण लाइन मार्फत बंगलादेश पुर्याइने भएकाले भारतलाई समेत समावेश गरेर त्रिपक्षीय सम्झौता हुनेछ । त्यसमा नेपालको तर्फबाट नेपाल विद्युत् प्राधिकरण, बंगलादेश पावर डेभलपमेन्ट बोर्ड (बिपिडिबी) र भारतको एनटिपिसी विद्युत् व्यापार निगम (एनभिभिएन) का प्रतिनिधिहरुले हस्ताक्षर गर्नेछन् । 

गत असार २४ गते बंगलादेश पावर डेभलप्मेन्ट बोर्ड (बिपिडिबी) ले नेपालमा उत्पादित ४० मेगावाट विद्युत् खरिद–बिक्रीका लागि सम्झौता गर्न नेपाल विद्युत विद्युत प्राधिकरणलाई पत्राचार गरेको थियो । त्यसपछि प्राधिकरणल बोलपत्र स्वीकार गरेको लिखित सूचना बिपिडिबीलाई दिएको थियो । त्यसपछि सम्झौता पत्रमा हस्ताक्षर गर्ने तयारी पनि गरिएको थियो । बीचमा बंगलादेशको राजनीतिक घटनाक्रमले रोकिएको यो सम्झौता अब पुनः अघि बढ्नेछ । 

सम्झौतापछि प्राधिकरणले भारतीय अनुदानमा निर्माण भएको तथा आफ्नो स्वामित्वमा रहेको २५ मेगावाटको त्रिशूली र सहायक कम्पनीमार्फत निर्माण गरिएको २२ मेगावाटको चिलेमे जलविद्युत आयोजनाबाट उत्पादित विद्युत बंगलादेश निर्यात गर्नेछ । सम्झौता भएमा प्राधिकरणले वर्षायामको ६ महिना अर्थात हरेक वर्षको १५ जुन–१५ नोभेम्बरसम्म पाँच वर्ष ४० मेगावाट विद्युत् अमेरिकी डलरमा बंगलादेशलाई बिक्री गर्नेछ । प्राधिकरणले बंगलादेश विद्युत बिक्री गरी प्रति युनिट ६.४० अमेरिकी सेन्ट पाउने छ । 

नेपाल र भारतबीचको पहिलो अन्तरदेशीय ढल्केबर–मुजफ्फरपुर ४०० केभी प्रसारण लाइन हुँदै बंगलादेश निर्यात हुने विद्युतको मूल्य प्राधिकरणले भारतरको मुजफ्फरपुर विन्दुमा रहेको मिटरको आधारमा पाउने छ । ढल्केबरबाट मुजफ्फरपुरसम्मको प्रसारण लाइनको प्राविधिक चुहावट प्राधिकरणले नै बेहोर्नेछ । मुजफ्फरपुरबाट भारतको प्रसारण लाइनमार्फत बहरामपुर भारत–भेरमारा बंगलादेश ४०० केभी प्रसारण लाइन हुँदै बंगलादेशमा नेपाली विद्युत् पुग्नेछ ।
 

Advertisement

Advertisement