काठमाडौं । दोलखाको रमणीय उपत्यका जिरीको पर्यटन प्रवर्द्धन गर्ने उद्देश्यसहित आजदेखि भदौ ३० गतेसम्म राजधानीमा ‘क्यानभासमा जिरी’ नामक कला प्रदर्शनी सुरु भएको छ ।
उक्त प्रदर्शनीको उद्घाटन गर्दै नेपाल पर्यटन बोर्डका नवनियुक्त प्रमुख कार्यकारी अधिकृत (सिईओ) दीपकराज जोशीले पर्यटन प्रवर्द्धन जहिले पनि एक जनाले मात्र गरेर हुने चिज होइन, जति धेरै साथ, सहयोग र सहकार्य हुन्छ त्यति छिटो पर्यटनको प्रवर्द्धन हुने बताए ।
निकै राम्रा चित्रकलाहरु प्रदर्शनीमा राखिएको पाएको बताउँदै उनले भने, ‘पहिलादेखि नै चित्रकला, फोटोग्राफी जस्ता चिजहरु जुन भिजियोल माध्यम छ, ती यस्ता चिज हो । यो पर्यटन प्रवर्द्धनको सबैभन्दा महत्त्वपूर्ण चिज हो । हामीले यसलाई सँगसँगै लैजानुपर्छ ।’ उनले आफू ४ पटकसम्म जिरी पुगि सकेको सुनाए ।
‘क्यानभासमा जिरी’ पर्यटन प्रवर्द्धन मञ्चले आयोजना गरेको हो । प्रदर्शनीमा दोस्रो जिरी महोत्सवका अवसरमा ६ जना कलाकारले बनाएका ३२ वटा चित्र राखिएको छ । नयाँ बानेश्वरस्थित एनबी सेन्टरमा रहेको उमोजा क्याफेमा प्रदर्शनी आजबाट तीनसम्म चल्ने प्रदर्शनीका संयोजक लीलाराम खड्काले जानकारी दिए ।
संयोजक लीलाराम खड्काका अनुसार कलाकारहरू केशव खनाल, किशोर रानाभाट, लीलाधर केसी, मोहन शिवाकोटी, प्रकाश मिजार र शिव शिर्पालीले एक्रेलिक र जलरङ प्रयोग गरि बनाएका चित्र प्रदर्शनीमा राखिएको छ ।
कलामार्फत जिरीको प्रकृति, संस्कृति र जीवनशैली पस्कने प्रयास गरिएको र यसले जिरीको पर्यटन विकासमा ठूलो टेवा पुर्याउने उनले बताए ।
विशेषतः पर्यटकहरुमाझ नेपालको स्विटजरल्याण्ड भनेर चिनिएको जिरीको प्राकृतिक सौन्दर्य, यहाँको जनजीवन, संस्कृति, वास्तुकला र सम्पदाहरुलाई कलाकारहरुले क्यानभासमा उतारेको उनले जानकारी दिए ।
त्यस्तै प्रदर्शनीमा ३६ थान कलाकृति प्रदर्शनीमा राखिएका छन् । जिरीको भेषभुषा, संस्कृतिका साथै बहुसांस्कृतिक परिचय बोकेको जिरीको जनजीवन र संस्कृतिक पक्ष पनि यो प्रदर्शनमा समेटिएका कलाकृतिमा पाउने उनको भनाइ छ ।