राष्ट्र बैंकले आज बजारबाट एक खर्ब तरलता उठाउने

Advertisement

काठमाडौं । बैंकिङ प्रणालीमा अधिक तरलता थुप्रियसँगै केन्द्रिय बैंकले आज एक खर्ब रुपियाँ तरलता उठाउने भएको छ । निक्षेप संकलन उपकरणको माध्यमबाट राष्ट्र बैंकले बुधबार एक खर्ब रुपियाँ प्रशोचन गर्ने भएको हो ।

त्यसो त यसअघि ७ दिन, १४ दिनका लागि यस्तो तरलता प्रशोचन गर्ने गरिएपनि यसपटक केन्द्रीय बैंकले २१ दिन अर्थात् तीन हप्ताका लागि तरलता प्रशोचन गरिने जनाएको छ । इच्छुक बैंक तथा वित्तीय संस्थाहरुले आज अपराहन्न २ बजेसम्म आवेदन दिन सक्नेछन् । २ बजे हुने सार्वजनिक बोलकबोलमार्फत निक्षेप संकलन उपकरणको खरिद बिक्री आजै हुनेछ । 

Advertisement

राष्ट्र बैंकको पछिल्लो रिपोर्ट अनुसार कात्तिक १३ गतेसम्म बैंक तथा वित्तीय संस्थाहरुले ६६ खर्ब २१ अर्ब रुपियाँ निक्षेप संकल गर्दै यता ५२ खर्ब ८२ अर्ब रुपियाँ कर्जा लगानी गरेका छन् । समीक्षा अवधिमा जम्मा ७८.४४ प्रतिशत मात्र सीडी रेसियो (कर्जा/निक्षेप अनुपात) कायम गरेका बैंकहरुसँग ८ खर्बमाथि लगानी योग्य रकम रहेको छ । जुन तरलता बैंकहरुले उत्पादनशील क्षेत्रमा लगानी गर्न नसक्दा केन्द्रीय बैंकले निक्षेप संकलन उपकरणको माध्यमबाट तान्न लागेको हो । 

केन्द्रीय बैंकले बजारमा तरलताको अभाव हुँदा रिपोमार्फत तरलता प्रवाह गर्ने गर्छ भने बजारमा अधिक तरलता हुँदा रिभर्स रिपो अर्थात् निक्षेप संकलन उपकरणको माध्यमबाट तरलता प्रशोचन गर्ने गर्छ । 

Advertisement

Advertisement