अधिक तरलताको प्रभावः आज पनि बैंकहरुबाट ५० अर्ब तान्दै राष्ट्र बैंक

Advertisement

काठमाडौं । बैंकहरुमा अधिक तरलता भएपछि नेपाल राष्ट्र बैंकले आज पनि बोलकबोल विधिबाट बैंक तथा वित्तीय संस्थाहरुबाट ५० अर्ब रुपियाँ तान्ने भएको छ । 

राष्ट्र बैंकले आइतबार बैंकहरुबाट एक खर्ब रुपियाँ तानेको थियो । त्यसको भोलिपल्टै अर्थात् आज राष्ट्र बैंकले थप ५० अर्ब रुपियाँ तान्न लागेको हो । 

Advertisement

आज मध्यान्ह ३ बजे बोलकबोल मार्फत राष्ट्र बैंकले बैंक तथा वित्तिय संस्थाबाट सो बराबरको पैसा तान्ने भएको हो । पछिल्लो समय राष्ट्र बैंकले पटक पटक यसरी नै बैंकहरुबाट पैसा तान्दै आएको छ । 

राष्ट्र बैंकले २१ दिनका लागि सो बराबरको निक्षेप संकलन गर्न लागेको हो । २१ दिन पछि अर्थात् आगामी असोज २१ गते बैंकहरुलाई सावाँ र व्याज भुक्तानी गरिने राष्ट्र बैंकको भनाइ छ । 

यसमा वाणिज्य, विकास र वित्त कम्पनी सहभागी हुन सक्नेछन् । उनीहरुले बोलकबोलमा व्याजदर प्रस्ताव गर्नुपर्ने हुन्छ । बैंकहरुले व्याजदरमा बहुबोलकबोल पनि गर्न सक्नेछन् । त्यसमा सबै भन्दा कम व्याजदर प्रस्ताव गर्नेलाई प्राथमिकतामा राखिनेछ ।

आजको बोलकबोलमा बैंकहरुले घटीमा १० करोड रुपियाँ र बढीमा ५ करोडले भाग गर्दा निःशेष भाग जाने गरी कुल आव्हान रकमसम्म प्रस्ताव गर्न सक्नेछन् । बैंकहरुले यसरी राष्ट्र बैंकमा राखेको निक्षेप यस बैंक बाहेक अन्य बैंक तथा वित्तीय संस्थामा पनि धितोको रुपमा प्रयोग गर्न सक्नेछन् ।

अहिले कर्जाको माग न्यून हुँदा अहिले बैंकहरुमा पैसा थुप्रिएको छ । त्यो अवस्थामा बैंकहरुलाई तरलता व्यवस्थापन गर्न यो उचित बिकल्प हुने देखिन्छ ।
 

Advertisement