एघार सहकारीले गैरकानूनी रुपमा निजी कम्पनी र सञ्चालकलाई दिए १५ अर्ब ६२ करोड ऋण !

Advertisement

काठमाडौं । समस्याग्रस्त भएका र सार्वजनिक रुपमा प्रश्न उठेका मध्ये ११ सहकारी संस्थाले गैर कानुनी रुपमा निजी कम्पनी र सञ्चालकहरुलाई १५ अर्ब ६२ करोड ७० लाख रुपियाँ ऋण दिएको खुलासा भएको छ । 

सहकारी कानून अनुसार अप्राकृतिक व्यक्ति अर्थात् निजी कम्पनी र सञ्चालकलाई सहकारी सस्थाले ऋण दिन पाउँदैनन् । तर, उक्त ११ सहकारी संस्थाले निजी कम्पनीलाई १४ अर्ब ४१ करोड ५३ लाख रुपियाँ र त्यस मध्येकै चार सहकारीले सञ्चालकलाई थप एक अर्ब २१ करोड १७ लाख रुपियाँ ऋण दिएका हुन् । 

Advertisement

सहकारी संस्था बचत रकम दुरुपयोग सम्बन्धमा संसदीय छानबिन समितिले तयार पारेको अन्तिम प्रतिवेदनले यस्तो देखाएको हो । उक्त प्रतिवेदन प्रतिनिधि सभाले  शुक्रबार सार्वजनिक गरेको छ । 

प्रतिवेदनअनुसार उक्त ११ सहकारी संस्थाको कुल ऋण लगानी ३२ अर्ब ९१ करोड ६४ लाख रुपियाँ छ । त्यसको ४७.४७ प्रतिशत ऋण गैर कानुनी रुपमा निजी कम्पनी र सञ्चालकलाई प्रवाह भएको प्रतिवेदनमा उल्लेख छ । 

सात अर्ब ४८ करोड ५६ लाख रुपियाँ कुल कर्जा प्रवाह गरेको शिवशिखर बहुउद्देश्यीय सहकारी संस्थाले निजी कम्पनीलाई मात्रै चार अर्ब ७४ करोड ४९ लाख रुपियाँ कर्जा प्रवाह गरेको छ । यसैगरि सञ्चालकहरुलाई थप ७७ करोड १० लाख रुपियाँ ऋण दिएको प्रतिवेदनमा उल्लेख छ । 

यस्तै, ६६ करोड २० लाख रुपियाँ कुल कर्जा प्रवाह गरेको कृषि विकास बहुउद्देश्यीय सहकारी संस्थाले निजी कम्पनीहरुलाई १५ करोड ७४ लाख रुपियाँ र सञ्चालकहरुलाई नौ करोड ३७ लाख रुपियाँ ऋण दिएको देखिन्छ । 

यसैगरी तीन अर्ब १० करोड आठ लाख रुपियाँ कुल कर्जा प्रवाह गरेको कान्तिपुर सेभिङ एन्ड क्रेडिट सहकारीले २० करोड ११ लाख रुपियाँ कर्जा निजी कम्पनीहरुलाई दिएको छ । यसैगरी सञ्चालकहरुलाई ३२ करोड ४० लाख रुपियाँ कर्जा प्रवाह गरेको प्रतिवेदनमा उल्लेख छ । 

यस्तै, चार अर्ब ४७ करोड १७ लाख रुपियाँ कुल कर्जा प्रवाह गरेको लालिगुराँस बहुउद्देश्यीय सहकारीले निजी कम्पनीहरुलाई मात्रै एक अर्ब ९१ करोड १९ लाख रुपियाँ ऋण दिएको छ । यसैगरि सञ्चालकहरुलाई दुई करोड ३० लाख रुपियाँ कर्जा दिएको प्रतिवेदनमा उल्लेख छ । 

प्रतिवेदनअनुसार अन्य सात कम्पनीले सञ्चालकहरुलाई दिएको ऋणको तथ्यांक प्राप्त भएको छैन । यद्यपि, उनीहरुले निजी कम्पनीलाई ठुलो रकममा कर्जा प्रवाह गरेको देखिन्छ । 

प्रतिवेदनअनुसार एक अर्ब ५२ करोड ४० लाख रुपियाँ कुल कर्जा प्रवाह गरेको गोरखा सेभिङ एन्ड क्रेडिटले निजी कम्पनीलाई २७ करोड चार लाख रुपियाँ ऋण प्रवाह गरेको छ । 

यसैगरी सुर्यदर्शन बचत तथा ऋण सहकारीले निजी कम्पनीहरुलाई २७ करोड १८ लाख रुपियाँ कर्जा प्रवाह गरेको छ । उक्त सहकारीको कुल कर्जा प्रवाह भने एक अर्ब ३१ करोड ५३ लाख रुपियाँ रहेको छ ।

यस्तै, सुप्रिम बचत तथा ऋण सहकारीले निजी कम्पनीहरुलाई २६ करोड ५९ लाख रुपियाँ कर्जा दिएको छ । उक्त कम्पनीको कुल कर्जा प्रवाह भने ९९ करोड ४४ लाख रुपियाँ रहेको छ । 

त्यसैगरी ५२ करोड ४० लाख रुपियाँ कुल कर्जा प्रवाह गरेको साहरा बचत तथा ऋण सहकारीले निजी कम्पनीहरुलाई मात्रै ३१ करोड ९९ लाख रुपियाँ कर्जा प्रवाह गरेको छ । 

यस्तै, सानो पाइला बचत तथा ऋण सहकारीले पाँच करोड १० लाख रुपियाँ बराबरको ऋण निजी कम्पनीलाई दिएको छ । उक्त कम्पनीको कुल ऋण प्रवाह एक अर्ब ३५ करोड ४१ लाख रुपियाँ रहेको छ । 

दुई अर्ब ५२ करोड ३८ लाख रुपियाँ कुल कर्जा प्रवाह रहेको स्वर्णलक्ष्मी बहुउद्देश्यीय सहकारीले २३ करोड १० लाख रुपियाँ ऋण निजी कम्पनीलाई दिएको छ । 

सुमेरु बचत तथा ऋण सहकारीले निजी कम्पनीलाई पाँच अर्ब ९९ करोड रुपियाँ ऋण दिएको छ । उक्त सहकारीको कुल ऋण प्रवाह आठ अर्ब ९६ करोड सात लाख रुपियाँ रहेको छ । त्यसको ६६.८५ प्रतिशत रकम निजी कम्पनीहरुलाई ऋण स्वरुप दिएको प्रतिवेदनमा उल्लेख छ ।

null


 

Advertisement

Advertisement