नेपालसँग हरित अर्थतन्त्रको मेरुदण्ड बन्नसक्ने विशाल प्राकृतिक स्रोतहरू छः अर्थमन्त्री पौडेल

Advertisement

काठमाडौं । अर्थमन्त्री विष्णु पौडेलले अन्तर्राष्ट्रिय साझेदारहरूसँगको सहकार्य गरी हरित जलवायु कोष जस्ता संयन्त्रहरूमार्फत जलवायु वित्तमा पहुँच बिस्तार गर्ने बताएका छन् । 

शनिवार त्रिभुवन विश्वविद्यालय केन्द्रीय अर्थशास्त्र विभागले आयोजना गरेको सम्मेलनमा उनले जलवायु वित्त स्रोतहरू जलवायु अनुकुलन र न्युनिकरण, विशेष गरी ऊर्जा, कृषि, र विपद् सहनशीलता जस्ता क्षेत्रहरूका लागि महत्वपूर्ण हुने बताए । 

Advertisement

वित्तीय संस्थाहरूलाई नवीकरणीय ऊर्जा, वातावरणमैत्री पूर्वाधार, र जलवायु अनुकूल कृषि क्षेत्रमा लगानी गर्न प्रोत्साहित गर्न जरुरी रहेको पौडेलले बताए । उनले नेपालसँग हरित अर्थतन्त्रको मेरुदण्ड बन्नसक्ने विशाल प्राकृतिक स्रोतहरू रहेको पनि बताए । 

पौडेलले नेपालको आर्थिक प्रगति र पर्यावरण संरक्षणलाई सन्तुलित रुपमा अगाडि बढाउन आवश्यक रहेको औंल्याए । उनले जलवायु परिवर्तनको असर न्युनिकरण गर्न सरकारले नेपालको विकास मोडलले वातावरणीय अनुकुलनता, दिगोपना र समानतालाई प्राथमिकता दिनुपर्ने बताए । 

नेपालका लागि दिगो विकासको बाटो अत्यन्त आवश्यक रहेको बताउँदै उनले नेपालले विभिन्न नीति, कार्यक्रम र पहलहरूमार्फत वातावरणीय र जलवायु चुनौतीहरूको सामना गर्न महत्वपूर्ण कदमहरू उठाइरहेको बताए । वातावरणीय र जलवायु चुनौतीहरूको सामना गर्न महत्वपूर्ण कदमहरूलाई प्रभावकारी बनाउन जरुरी रहेको पौडेलको भनाई छ । 

मन्त्री पौडेलले नेपालको राष्ट्रिय जलवायु परिवर्तन नीतिले विकास योजना निर्माणमा जलवायु अनुकुलनतालाई समावेश गर्ने रणनीतिक ढाँचा प्रदान गरेको बताए । उनले हरित विकासलाई प्रोत्साहन गर्न ऊर्जा दक्षता वृद्धि, नवीकरणीय ऊर्जा बिस्तार र दिगो वन व्यवस्थापन सुनिश्चित गरिने बताए । जलविद्युत सम्भावना अझै धेरै हदसम्म उपयोग हुन बाँकी रहेको पौडेलले बताए । 

नवीकरणीय ऊर्जामा लगानी गरेर नेपालले आफ्ना घरेलु ऊर्जाको आवश्यकता पूरा गरी छिमेकी मुलुकहरूलाई स्वच्छ ऊर्जा निर्यात गरेर क्षेत्रीय स्थायित्व र आर्थिक वृद्धिमा योगदान गर्नसक्ने उनले बताए । पौडेलले दिगो पर्यटनले नेपालको प्राकृतिक र सांस्कृतिक सम्पदालाई उपयोग गर्ने, इको–पर्यटन, पदयात्रा, र संरक्षण क्षेत्रले रोजगार सिर्जना गर्न, राजस्वमा योगदान पु¥याउन र भविष्यका पुस्ताहरूको लागि वातावरणलाई संरक्षण गर्न सकिने बताए । 

मन्त्री पौडेलले दिगो कृषि अभ्यास खाद्य सुरक्षा र वातावरणीय क्षतिको जोखिमलाई कम गर्न आवश्यकता रहेको बताए । उनले भने, ‘हामी अन्तर्राष्ट्रिय साझेदारहरूसँग मिलेर हरित जलवायु कोष जस्ता संयन्त्रहरूमार्फत जलवायु वित्तमा पहुँच बिस्तार गर्दैछौं । यी स्रोतहरू जलवायु अनुकूलन र न्यूनीकरण, विशेष गरी ऊर्जा, कृषि, र विपद् सहनशीलता जस्ता क्षेत्रहरूका लागि महत्वपूर्ण हुनेछन् । वित्तीय संस्थाहरूलाई नवीकरणीय ऊर्जा, वातावरण मैत्री पूर्वाधार र जलवायु अनुकुल कृषि क्षेत्रमा लगानी गर्न प्रोत्साहित गर्न जरुरी छ ।’

Advertisement

Advertisement