चाडपर्वले बढायो कर्जाको माग, भदौमा बाणिज्य बैंकहरुबाट ५३ अर्ब प्रवाह, इन्भेष्टमेन्ट मेगा पहिलो

Advertisement

काठमाडौं । साउन महिनामा मात्रै बाणिज्य बैंकहरुको कर्जा प्रवाह ५३ अर्ब रुपियाँले बढेको देखिएको छ । कर्जा बक्यौता (आउटस्टान्डिङ)को आधारमा भदौमा ५३ अर्ब रुपियाँले कर्जा प्रवाह बढेको नेपाल बैंकर्स संघबाट प्राप्त तथ्यांकले देखाएको छ । 

हाल नेपालमा २० वटा बाणिज्य बैंक छन् । साउन मसान्तसम्म उनीहरुको कुल कर्जा प्रवाह ४५ खर्ब ७३ अर्ब रुपियाँ थियो । भदौं मसान्तसम्म आउँदा त्यो बढेर ४६ खर्ब २६ अर्ब रुपियाँ पुगेको तथ्यांकमा उल्लेख छ । 

Advertisement

तथ्यांकअनुसार बैशाखसम्म ४५ खर्ब २२ अर्ब रुपियाँ, जेठसम्म ४५ खर्ब ४२ अर्ब रुपियाँ, असारसम्म ४५ खर्ब ७१ अर्ब रुपियाँ र साउनसम्म ४५ खर्ब ७३ अर्ब रुपियाँ कर्जा प्रवाह भएको थियो । त्योअनुसार जेठमा २० अर्ब  रुपियाँ, असारमा २९ अर्ब  रुपियाँ र साउनमा दुई अर्ब रुपियाँले मात्रै कर्जा प्रवाह बढेको देखिन्छ । तर, भदौमा मात्रै ५३ अर्ब रुपियाँले कर्जा प्रवाह बढेको संघको तथ्यांकमा उल्लेख छ ।

विशेषगरि तीज, दशैं, तिहार जस्ता पर्वले कर्जाको माग बढेको बताइन्छ । यो समयमा नेपालीहरुले किनमेल बढी गर्छन् । त्यसलाई दृष्टिगत गर्दै उपभोक्ताको मागअनुसार सामानहरु जुटाउन व्यापारीहरुले बैंकबाट कर्जा लिएर व्यापारमा लगानी गरेको देखिन्छ । 

त्यसले गर्दा भदौमा कर्जा प्रवाह बढी भएको बैंकरहरु बताउँछन् । यो बेला व्यापारीहरुले बैंकबाट ऋण लिएर चिन, भारत लगायतका देशबाट कपडा, खाद्यन्न लगायतका सामान आयात गर्छन् । साथै, नाडा अटो शोलाई लक्षित गरेर गाडीहरुको आयात पनि बढाइएकोले भदौमा कर्जा प्रवाह बढेको बैंकहरु बताउँछन् ।  

भदौ पहिलो साता नौ अर्ब रुपियाँ, दोस्रो साता १४ अर्ब ४३ करोड रुपियाँ, तेस्रो साता पाँच अर्ब २९ करोड रुपियाँ, चौथो साता १४ अर्ब ६५ करोड रुपिया र अन्तिम साता नौ अर्ब २१ करोड रुपियाँले कर्जा बढेको तथ्यांकमा उल्लेख छ ।

पछिल्लो समय कायम आर्थिक शिथिलताले कर्जाको माग बढ्न सकेको थिएन । यसले गर्दा बैंकहरुमा ऋण लगानी रकम थप्रिएको छ । तर, भदौमा कर्जाको माग बढेको देखिन्छ । यद्यपि, अझै पनि बाणिज्य बैंकहरुमा छ खर्ब ४० अर्ब रुपियाँ लगानी योग्य रकम छ । 

भदौ मसान्तसम्म बाणिज्य बैंकहरुको कुल निक्षेप ५७ खर्ब ८९ अर्ब रुपियाँ छ । त्यसमा ४६ खर्ब २६ अर्ब रुपियाँ कर्जा प्रवाह भइसकेको छ । अहिले उनीहरुको औसत कर्जा निक्षेप अनुपात (सीडी रेसियो) ७८.९४ प्रतिशत छ । बैंकहरुले सीडी रेसियो ९० प्रतिशतसम्म पुग्ने गरि कर्जा प्रवाह गर्न पाउछन् । त्योअनुसार बाणिज्य बैंकहरुले अझै निक्षेपको ११.०६ प्रतिशत रकम कर्जा प्रवाह गर्न पाउछन्, जुन रकम छ खर्ब ४० अर्ब रुपियाँ हुन आउँछ । 

भदौ महिनामा कर्जा प्रवाह गर्ने मामिलामा नेपाल इन्भेष्टमेन्ट मेगा बैंक पहिलो स्थानमा देखिएको छ । भदौ महिनामा उक्त बैंकले १२ अर्ब १७ करोड रुपियाँ कर्जा प्रवाह गरेको छ । दोस्रो स्थानमा भने ग्लोबल आईएमई बैंक देखिएको छ । समिक्षा महिनामा उक्त बैंकले नौ अर्ब ६३ करोड रुपियाँले कर्जा बढाएको छ । तेस्रो स्थानमा भने लक्ष्मी सनराइन बैंक रहेको छ । समिक्षा महिनामा उक्त बैंकले पाँच अर्ब ८७ करोड रुपियाँले कर्जा बढाएको छ । 

यस्तै, राष्ट्रिय बाणिज्यले चार अर्ब ९२ करोड रुपियाँ, एनएमबीले पनि चार अर्ब ९२ करोड रुपियाँ, प्राइम कर्मशियलले चार अर्ब १२ करोड रुपियाँ, एभरेष्टले तीन अर्ब ७८ करोड रुपियाँ, नेपाल बैंकले तीन अर्ब २३ करोड  रुपियाँ र नविल बैंकले दुई अर्ब ७५ करोड रुपियाँले कर्जा प्रवाह बढेको छ । 

यसैगरि माछापुच्छ्रेले दुई अर्ब २५ करोड रुपियाँ, कुमारीले एक अर्ब ८३ करोड रुपियाँ, सानिमाले एक अर्ब ४३ करोड रुपियाँ, कृषि विकासले एक अर्ब ४३ करोड रुपियाँ र सिटिजन्स बैंकले ७५ करोड रुपियाँ ले कर्जा प्रवाह बढाएका छन् । 
तर, प्रभुको नौ करोड  रुपियाँ, हिमालयनको १२ करोड  रुपियाँ, सिद्धाथको १५ करोड  रुपियाँ, नेपाल एसबीआईको ६६ करोड रुपियाँ, स्ट्यान्डर्ड चार्टर्डको एक अर्ब ६४ करोड  रुपियाँ र एनआईसी एसियाको तीन अर्ब ७७ करोड रुपियाँले कर्जा प्रवाह घटेको छ । 

Advertisement

Advertisement