यस बर्षको अर्थशास्त्रतर्फको नोबेल पुरस्कर तीन जना अमेरिकीलाई

Advertisement

काठमाडौं । अर्थशास्त्रतर्फ यस वर्षको नोबेल पुरस्कार अमेरिकाका तीन जना अर्थशास्त्रीलाई संयुक्त रूपमा प्रदान गरिने भएको छ ।

नोबेल पुरस्कार समितिले म्यासाचुसेट्स इन्स्टिट्यूट अफ टेक्नोलोजीका डारोन एसिमोग्लु, सोही इन्स्टिट्यूटका साइमन जोन्सन र सिकागो विश्‍वविद्यालयका जेम्स रोविन्सनलाई सो पुरस्कारबाट पुरस्कृत गर्ने निर्णय गरेको हो ।

Advertisement

बीबीसीका अनुसार उनीहरूलाई संस्थाहरू कसरी बन्छन् र समृद्धिलाई प्रभावित तुल्याउँछन् भन्ने अध्ययनका निम्ति पुरस्कृत गर्न लागिएको जनाइएको छ । यस विधामा अहिलेसम्म ५६ पटक पुरस्कार दिइएकोमा ९६ जना पुरस्कृत भएका छन् । पुरस्कृत हुनेमा तीन जना महिला छन्।

सन् २०२३ मा क्लाउडिया गोल्डिनलाई श्रमबजारमा महिलाले पुर्‍याएको योगदानबारे विशिष्ट अध्ययन गरेकाले, सन् २०२२ मा बेन बेर्नाकेलाई डग्लस डाइअमन्ड र फिलिप डिब्भिगलाई ब्याङ्क तथा वित्तीय सङ्कटबारे गरिएको अनुसन्धानका लागि, सन् २०२१ मा डेभिड कार्डलाई श्रम अर्थशास्त्रको क्षेत्रमा पुर्‍याएको योगदानका लागि, तथा डी एन्ग्रेस्ट र गुइडो डब्ल्यू इम्बेन्सलाई कारण सम्बन्धहरूको विश्लेषणमा पद्धतिगत योगदानका लागि र सन् २०२० मा पोल मिल्ग्रोम र रोबर्ट बी विल्सनलाई लिलामी सिद्धान्तमा सुधार र नयाँ लिलामी ढाँचाको विकासका लागि प्रदान गरिएको थियो । 

सन् २०२४ को नोबेल पुरस्कारमा चिकित्साशास्त्रतर्फ भिक्टर एम्ब्रोस र ग्यारी रभ्कनलाई, भौतिकशास्त्रतर्फ जोन जे हप्फील्ड र जेफ्री ई हिन्टनलाई, रसायनशास्त्रतर्फ डेभिड बेकर, डेमिस हसाबिस तथा जोन एम जम्परलाई, साहित्यतर्फ हान काङलाई, नोबेल शान्ति पुरस्कारतर्फ जापानी संस्था निहन हिडन्क्योलाई प्रदान गरिएको थियो । 

भौतिकशास्त्र, रसायनशास्त्र, चिकित्साशास्त्र, साहित्य र अर्थशास्त्रतर्फको पुरस्कार स्वीडनको स्टकहोममा प्रदान गरिन्छ भने नोबेल शान्ति पुरस्कारको विजेताको चयन नर्वेमा गरिन्छ । त्यसको जिम्मा नर्वेको संसद्ले नियुक्त गर्ने पाँच सदस्यीय समितिले गर्छ र पुरस्कार ओस्लोमा प्रदान गरिन्छ ।

प्रत्येक विधामा पुरस्कृत हुने व्यक्ति वा संस्थाले मौलिक कला भएको एउटा नोबेल डिप्लोमा, एउटा नोबेल पदक र नगद पुरस्कारमा १ करोड १० लाख स्वीडिश क्रोना (९,९०,००० अमेरिकी डलर) पाउँछन्।

यदि एकभन्दा बढी विजेता भएमा उक्त रकम उनीहरूबीच भाग लगाइन्छ। उक्त रकम पाउनका लागि उनीहरूले एउटा मन्तव्य दिनुपर्छ । नोबेल पुरस्कार डिसेम्बर १० मा एउटा विशेष समारोह आयोजना गरेर वितरण गरिन्छ। उक्त दिनमा अल्फ्रेड नोबेलको स्मृतिदिवस पर्छ।

Advertisement

Advertisement