काठमाडौं । फरवार्ड माइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्था लिमिटेड मर्जरमा जाने भएको छ ।
मर्जरको प्रस्तावसहित लघुवित्तले १२औं वार्षिक साधारणसभा डाकेको छ ।
लघुवित्तको मंसिर २ गते बसेको सञ्चालक समितिको बैठकअनुसार सभा मंसिर २८ गते दिनेश चौधरी स्मृति प्रतिष्ठानको सभाहल, दुहवी, सुनसरीमा बिहान ११ बजे बस्नेछ ।
सभामा गत आर्थिक वर्षको मुनाफाबाट चुक्ता पुँजीको १३.३० प्रतिशत बोनस शेयर र ०.७० प्रतिशत नगद लाभांश (कर प्रयोजनार्थ) वितरणको प्रस्ताव पेश हुनेछ ।
लघुवित्तले अन्य ‘घ’ वर्गको वित्तीय संस्थासँग मर्जरका लागि आवश्यक कार्य गर्न र प्रबन्धपत्र तथा नियमावलीमा संशोधन गर्न सञ्चालक समितिलाई अख्तियारी दिने विशेष प्रस्ताव पनि सभामा पेश हुनेछ ।
यसका साथै गत आवको वित्तीय विवरणहरू माथि छलफल गरी पारित गर्ने र चालू आवका लागि लेखापरीक्षकको नियुक्ति गरी निजको पारिश्रमिक निर्धारण गर्ने प्रस्ताव पनि समावेश छन्।
साधारणसभा तथा लाभांश वितरण प्रयोजनार्थ लघुवित्तले मंसिर १४ गते बुक क्लोज गर्ने भएको छ ।
तसर्थ मंसिर १३ गतेसम्म कायम शेयरधनी सभामा भाग लिन र लाभांश प्राप्त गर्न योग्य हुनेछन् ।