काठमाडौं । व्यवसायिक घराना ज्योति समूहका सदस्य पद्य ज्योतिले आफ्नै भाई डा. रुप ज्योति र भतिजीमाथि नै नगर प्रहरी लगाएर दुर्व्यवहार गर्न लगाएका छन् ।
कान्तिपथस्थित ग्राण्डी सिटी अस्पताल रहेको भवनमा आफ्नो खण्ड खाली गराउने नाममा दाई पद्य ज्योति र उनका छोराहरु भाई डा. रुप ज्योतिको परिवारप्रति निर्मम बनेको हो । आफ्नो अंशमा परेको भवनबाट अस्पतालका बिरामी र अस्पतालका संरचना खाली गर्न पद्य ज्योति र उनका छोरा सौरभ ज्योतिले पटक पटक नगर प्रहरी ल्याएर हस्तक्षेप गर्दै आएका छन् ।
नगर प्रहरीको ठूलो टोली बारम्बार आएर अस्पतालमा आतंक सिर्जना गर्ने, धम्क्याउने, ताला लगाउने काम गर्दै आएका छन् । आज त्यसको उत्कर्ष रुप देखियो । नगर प्रहरीले वरिष्ठ उद्योगपति तथा पूर्वमन्त्री समेत रहेका डा. रुप ज्योति र उनको छोरीमाथि दुर्व्यवहार गर्यो । दुर्व्यवहार गर्दा पनि सँगै रहेको दाईको परिवार भने रोक्न आएन् ।
दाईकै सहमति र सल्लाहमा अस्पताल सञ्चालन गरी नियमित भाडा समेत तिर्दै आएका डा. रुप ज्योतिसँग पारिवारिक विवाद बढ्दै गएपछि अहिले आएर दाई पद्य ज्योति र सौरभ ज्योति निर्मम ढंगले प्रस्तुत भएका हुन् ।
डा. रुप ज्योति आफू र छोरीमाथि आज भएको दुर्व्यवहार नगर प्रहरी र दाईको पारिवारको हदैसम्मको गैरजिम्मेवार र विवकेहीन प्रवृत्ति भएको बताउँदै यसले आफूलाई दुःख लागेको बताए ।
उनले दाईसँगकै सल्लाहमा ग्राण्डी सिटी अस्पतालमा २० करोडभन्दा बढी लगानी गरी अत्याधुनिक उपकरणहरु जडान गरेको, सुत्केरी गराउन यो नेपालकै सुविधासम्पन्न र अन्तर्राष्ट्रियस्तरको अस्पताल भएकाले धेरै मानिसको आकर्षण रहेको बताउँदै अस्पतालमा नवजात शिशु र सुत्केरीहरु उपचार गरिरहेको अवस्थामा नगर प्रहरी ल्याएर बारम्बार दाईको परिवारले आतंकित बनाउने काम गरेको गुनासो गरे ।
डा. ज्योतिले भने, ‘दाईको भागमा परेको भवनको खण्डको मैले भाडा दिँदै आएको छु । अरुलाई भाडामा दिए पनि उहाँले लिने त्यही पैसा हो । अर्को कुरा मैले अस्पताल खाली गर्छु केही समय दिनुस्, महंगा उपकरणहरु छन् । बिरामी छन् । केही समय चाहिन्छ । अस्पताल राख्ने कुरा त्यहीअनुसारको भवन पनि चाहियो भन्दा यसरी तारन्तार नगर प्रहरी ल्याएर रमिता देखाउनुपर्ने जरुरी नै के थियो ? दाईको परिवारले के गर्न खोजेको हो ?’
काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहले समेत पारिवारिक विवादमा नगर प्रहरी बारम्बार पठाएर दुर्व्यवहार गर्न लगाएकोमा पनि उनले आश्चर्य प्रकट गरे । डा. ज्योतिले भने, ‘अस्पताल रहेको भवन भनेको ज्योति समूहको हो । यो कुनै सार्वजनिक सम्पत्ति होइन् । दाईले मुद्दा हालेर जितेर भवन खाली भएन भने मलाई लगेर कारवाही गर्दा पनि हुन्थ्यो । नभई अस्पताल नै दाईले नै चलाए पनि हुन्थ्यो । आखिर यो ज्योति समूहकै अस्पताल हो । अस्पताल जस्तो संवेदनशील कुरामा हप्तैपिच्छे नगर प्रहरी ल्याएर तमासा गर्न जरुरी थिएन् । मेयरले पनि यो पारिवारिक विवादमा मिल्नुस, झगडा नगर्नुस् भन्दा हुन्थ्यो । गाडीका गाडी नगर प्रहरी पठाएर के पुरुषार्थ देखाउन खोज्या हो ? बुझ्न सकिन् ।’
डा. ज्योतिले अस्पतालमा खाली कोठामा नगर प्रहरीले ताला लगाएर गए पनि अस्पताल सञ्चालन रहेको खण्ड बन्द रहेको बताउँदै दाईको परिवारले अस्पतालमा ताला लगाएकाले बन्द रहेको बताए । दाई र उनको पारिवारले अपनाएको कानुनको कपटपूर्ण खेल र विवेकहीन व्यवहारबाट आफ्नो परिवार मात्रै नभएर अस्पतालका विरामी र स्वास्थ्यकर्मीसमेत आजित भएको बताए ।
यही बेलामा ज्योति भवनमा नै रहेको नेपाल बैंकको शाखालाई दबाब दिएर ऋण तिर्न अल्टिमेटमसहितको पत्र दाईको परिवारले पठाउन लगाएको दाई डा. रुप ज्योतिको भनाई छ । दाईको पक्षले भने आफूहरुले मुद्दा जितेको र आफ्नो भाडको भवन खाली गर्न पटक पटक आग्रह गर्दा पनि खाली नगरेकाले महानगरपालिकालाई खाली गराउन आग्रह गरेको बताउँदै आएको छ ।