राष्ट्र बैंकले स्वीकृति दियो, पहिलो किस्तावापत निगमले बिहीबार आठ अर्ब बुझाउने

Advertisement

काठमाडौंः नेपाल वायुसेवा निगमले वाइडबडी जहाज (एयरबस ए३३०–२००) खरिदका लागि पहिलो किस्तावापतको करिव आठ अर्ब रुपियाँ (७९ मिलियन अमेरिकी डलर) बिहीबार अमेरिकी एए कर्पोरेशनलाई पठाउने तयारी गरेको छ ।

बुधबार नागरिक लगानी कोष र कर्मचारी सञ्चय कोषबाट ४–४ अर्ब रुपियाँ पाएपछि आजै उक्त रकम राष्ट्र बैंकबाट विदेशी मुद्रामा परिवर्तनका लागि स्वीकृति लिएको छ । निगमका प्रवन्ध निर्देशक सुगतरत्न कंसाकारले पहिलो किस्ता बुझाउने भोलि अन्तिम मिति भएकाले आवश्यक रकम पठाइने तयारी पूरा भएको बताए ।

निगमले जहाज खरिदका लागि दुवै कोषबाट नौ प्रतिशत ब्याजदरमा १२–१२ अर्ब रुपियाँको ऋण सम्झौता हालै गरेको थियो । ऋणको जमानत सरकार बसेको छ । उक्त जहाज खरिदको लागि कोषहरुले उपलब्ध गराएको क्रणको भुक्तानी अवधि १५ बर्षको राखिएको छ ।
नयाँ क्षेत्रमा उडान गर्ने निगमको व्यवसायिक योजनामा कोषले निगमलाई ऋण दिने प्रतिवद्धता जनाएको हो । यस योजनाबाट प्रत्यक्ष रुपमा आर्थिक समृद्वि, रोजगारी सिर्जना, पर्यटन क्षेत्रमा थप विकास हुने आशा गरिएको छ । ।

करिव दुई महिनाअघि निगमले वाइडबडी जहाज किन्न अमेरिकाको एएआर कर्पोरेशनसँग २४ अर्ब रुपियाँको खरिद बिक्री सम्झौता गरेको थियो । जहाज किन्न गत माघमा भएको समझदारीअनुसार निगमले बैनावापतको १० करोड रुपियाँ फागुनको पहिलो साता नै पठाइसकेको छ ।

एएआरसँग भएको सम्झौताअनुसार दुईमध्ये पहिलो जहाज आउँदो मंसिरसम्म र अर्को फागुनसम्म आइपुग्नेछ । यी जहाजबाट निगमले कोरिया, जापान, अष्ट्रेलिया, दमामको उडान सुरु गर्ने जनाइएको छ ।

Advertisement

Advertisement

Advertisement