विराटनगरः प्रदेश नं. १ को मुख्यमन्त्री हुने योजनासहित मोरङ–४(ख)बाट प्रदेशसभा सदस्यको उम्मेदवार रहेका एमाले नेता जीवन घिमिरे आफ्नो विजय सुनिश्चित रहेको र मुख्यमन्त्रीको दावी स्वाभाविक रहेको बताउँछन् ।
प्रदेश नं. १ बाट प्रदेशसभा सदस्यका लागि उम्मेदवारहरुमध्ये सबैभन्दा वरिष्ठ घिमिरे विद्यार्थी जीवनदेखि नै राजनीतिमा लागेर निकै दुःख र संघर्ष गरेका एक इमान्दार नेताका रुपमा चिनिन्छन् । उनका समकालिन साथीहरु इश्वर पोखरेल, भीम आचार्य, घनश्याम भुसाललगायत धेरै मन्त्री भइसकेका छन् । कतिपय मेयर र साँसद भइसकेका छन् ।
एमालेका तत्कालिन महासचिव मदन भण्डारी र नेता अशोक राईको राजनीतिक दर्शनबाट प्रभावित घिमिरेले कर्पोरेट नेपालसँग कुरा गर्दै आफ्नो आफ्नो उत्पादन सम्वन्ध र वर्ग समन्वयलाई ध्यान दिएर आर्थिक विकासको योजना बनाए मात्रै त्यो दिगो र अर्थपूर्ण हुने बताउँछन् । उनको भनाई जस्ताको तस्तै–
मेरो आर्थिक योजनाको कुरा गर्दा आधार भनेको वामगठवन्धनले तयार गरेको घोषणापत्र नै हो । त्यसैको बेसमा मैले भोलिका दिन निर्वाचित भएपछि काम गर्ने हो । तर, पनि आर्थिक विकासका कुरामा मेरो एक खालको सोच र योजना छ ।
प्रदेश नं. १ भनेको कृषिका लागि निकै संभावना भएको क्षेत्र हो । पर्यटन विकास, उद्योगधन्दा, जलविद्युत, चियाको पनि राम्रै संभावना छ । यो आफैंमा हिमाल, पहाड र तराई भएको प्रदेश हो । बराह क्षेत्रदेखि सर्वोच्च शिखर सगरमाथा रहेको यो क्षेत्रले चीन र भारतको बजारबाट फाइदा लिएर आर्थिक विकासमा अरु सबै प्रदेशलाई उछिन्नसक्ने संभावना छ । तर, एउटै कुरा भोलिका दिनमा भिजन भएको र केही गरौं भन्ने सोच भएको नेतृत्व जरुरी छ ।
दुई छिमेकी भारत र चीनसँग आर्थिक तथा व्यापारिक सम्वन्ध बनाउन किमाथान्का–जोगवनी नाकालाई जोडन सकियो भने त्यसले प्रदेश नं. १ मा संभावनै संभावनाको सिर्जना गर्छ । लगानीको बाताबरण बन्छ । ठूला लगानीकर्ताहरु समेत यो प्रदेशमा आएर उद्योगधन्दा खोल्ने अवस्था सिर्जना गर्न सकिन्छ । त्यस्तै, उत्तरतिर ओलाङ्गचुङ्गगोला नाका पनि छ ।
किनभने सडक पूर्वाधार भनेको आर्थिक पूर्वाधारको पूर्वशर्त हो । त्यसका लागि मध्यपहाडी लोकमार्गलाई चाँडै सम्पन्न गर्ने र हिमाली क्षेत्रको विकासका लागि पनि त्यस क्षेत्रमा अर्को सडक बनाउनुपर्छ भन्ने मेरो योजना हो । त्यो भयो भने हामीले पर्यटन विकासको संभावनालाई पनि सदुपयोग गर्न सकिन्छ ।
प्रदेश नं. १ धार्मिक तथा बाह्य पर्यटन प्रवद्र्धकका लागि पनि उपयुक्त गन्तव्य हो । सगरमाथादेखि बराह क्षेत्र, हलेसीधाम वा पाथीभरा, बुढासुव्वा र मनकामनासम्म पुग्न यातायात सुविधालाई सहज गर्न सकियो, स्तरीय होटलहरु खेल्न सकियो भने अहिले आउने पर्यटकको संख्यामा गुणात्मक वृद्धि हुन्छ । जलविद्युतको कुरा गर्दा सातै प्रदेशमा सबैभन्दा बढि संभावना यही छ । अरुण, तमोर, सुनकोशी, दुधकोशी जस्ता नदीनालाहरुबाट हजारौं मेगावाट विद्युत उत्पादन गरेर भारतदेखि बंगलादेशसम्म निर्यात गर्न सकिने संभावना छ ।
जडिबुटी, वनस्पति, वन्यजन्तु, खानीमा पनि प्रदेश नं. १ कुनै प्रदेशभन्दा कम भन्न मिल्दैन । अर्को कुरा विराटनगर पूरानो औद्योगिक क्षेत्र हो । यसलाई औद्योगिक नगरीका साथै सुचना प्रविधिको अन्तर्राष्ट्रिय हब बनाउन सकिन्छ भनेर मैले पटक पटक भन्दै आएको छु । त्यसका लागि मसँग योजना पनि छ ।
प्रदेश नं. १ मा पढेलेखेको ठूलो जनशक्ति छ । तर, नविन सोच, नविन योजना नहुँदा त्यो जनशक्तिको सदुपयोग हुन सकेको छैन । अहिले सुचना प्रविधिको सामान्य सोचबाट समेत ठूला ठूला काम गर्न सकिन्छ । विश्वका धेरै मुलुक यसैबाट धनी भएका हुन । हाम्रो स्थानीय साधन स्रोच र जनशक्तिलाई कसरी परिचालन गर्ने भन्ने सोच भयो भने नेपालमा लगानीको समस्या हुँदैन । त्यो सोच भएको मानिस चाहिएको हो ।
उत्पादन सम्वन्ध र वर्गसमन्वय
अब मुख्य कुरा कृषि उत्पादनको आउँछ । हामी नेपाली ७०–८० प्रतिशत कृषिमा आश्रित छौं भन्छौं, त्यो देशमा अबौं मूल्यको खाद्यान्न, पशुपंक्षी बाहिरबाट आयात हुन्छ ।
यति ठूलो जनशक्ति कृषि पेशामा लाग्दा त हामीले आफू आत्मनिर्भर भएर निर्यात पनि गर्नुपर्ने हो । तर, किन सकिएको छैन ? भने हाम्रो कृषि पेशा आफूलाई निर्वाह गर्ने, परम्परागत छ । व्यवसायिक ढंगको छैन ।
प्रदेश नं. १ लाई तरकारी र कृषिको लागि उपयुक्त भनिन्छ । उपयुक्त भनेर मात्रै हुँदैन । राज्यले व्यवसायिक खेतीका लागि प्रोत्साहनसँगै दबाब पनि दिनुपर्छ । बजारको पनि आवश्यक व्यवस्था मिलाइदिनुपर्छ । कृषि पेशाका लागि आवश्यक पूर्वाधारहरु तयार गरिदिनुपर्छ । त्यसका लागि चाहिने प्राविधिक जनशक्तिको विकास लागि लगानी पनि गरिदिनुपर्छ ।
अहिले हेर्ने हो भने कृषिमा जस्को अलिकति ज्ञान छ, उसले राम्रो गरेको छ । तर यही पेशामा लाग्ने ठूलो जनशक्ति गरिव छ । बेरोजगार भएर कोही खाडीमा, कोही भारततिर, कोही काठमाडौंतिर भौतारिन बाध्य छ । यी जनतासँग सधैं हामीले भोटको मात्रै आशा गर्यौं । जो अल्ली आर्थिक सामाजिक हिसावले पछि परेको समुदाय छ, उनीहरुलाई दुई–पाँच सय पैसा दिएर हुन्छ कि, एक छाक माशु भात खुवाएर हुन्छ कि, रक्सी खुवाएर भोट झार्ने काम भयो । उनीहरुको जीवनस्तरमा सुधार ल्याउनतर्फ पटक्कै काम भएन ।
मेरो दृष्टिकोण भनेको अबसम्म आर्थिक हिसावले पछि परेको समुदाय छ, उनीहरुलाई शिक्षित र आर्थिक हिसावले सम्पन्न नबनाएसम्म न मुलुक संवृद्ध हुन्छ, न मुलुकमा शान्ति नै हुन्छ । किन भने नि जब दुई खालको बर्ग समाजमा हुन्छ, त्यहाँ विद्रोह कुरा हुन्छ । आन्दोलन हुन्छ । अपराधहरु सिर्जना हुन्छ । त्यो हुन नदिन हामीले वर्गसमन्वय कसरी गर्ने भन्नेमा ध्यान दिनु जरुरी देख्छु ।
जो ठूला लगानीकर्ता छन्, उनीहरुलाई ठूला उद्योगधन्दामा लगानी गर्न प्रोत्साहन गर्ने । त्यो लगानीले मुलुकमा रोजगारी सिर्जना गर्छ । उत्पादन वृद्धि गर्छ । राजश्व वृद्धि हुन्छ । जो आर्थिक हिसावले पछि परेको छ, उनीहरुको जीवनस्तर माथि उकास्न राज्यले नै लगानी गरेर कृषि पेशा र घरेलु तथा साना उद्योगहरुको विकास गर्ने । त्यो गरियो भने समाजमा गरिव र धनीबीचको खाडल कम हुन्छ ।
कृषिको विकासका लागि सहकारी मोडल मोडल सशक्त माध्यम हो । हुन त सहकारीको विकास हाम्रोमा नभएको होइन । तर, जुन ढंगले जापान, कोरियालगायतका मुलुकमा सहकारी मोडलको कृषि प्रणाली सफल छ, त्यो हाम्रोमा हुन सकेको छैन । सहकारी मोडलमा कृषि र घरेलु उद्योगहरुको विकास गरियो भने त्यसले समाजका हरेक व्यक्तिलाई समेटेर अघि बढाउन सहयोग पुग्छ । हरेक मानिसको निर्णायक तहमा प्रतिनिधित्व हुन्छ । नेतृत्वको विकास हुन्छ । कृषिको ज्ञान हासिल हुन्छ । मिलेर काम गर्ने मिलेर बस्ने बानीको विकास हुन्छ । अधिकारका लागि उनीहरुले सामुहिकरुपमा उठाएको आवाज सरकारले पनि सुन्न बाध्य हुन्छ ।
त्यो भएर राजनीति गर्छु भन्नेले धेरै कुरा गर्छु भन्ने तर आफ्ना केही सय कार्यकर्ता वा शुभचिन्तकहरुका लागि मात्रै गर्ने, ठेक्का पट्टा वा केबाट आफूलाई फाइदा हुन्छ भनेर मात्रै हेर्ने प्रवृत्ति त्याग्नुपर्छ । हिजो म मन्त्री भएँ अब फलानो प्रदेशको मुख्यमन्त्री हुने हो भनेर मात्रै पनि हुँदैन । कसरी आर्थिक विकास हुनुपर्छ भन्ने कुराको भिजन हुनुपर्छ । अबका दिनमा राजनीतिका कुरा मात्रै गरेर जनता पछि लाग्ने अवस्था छैन । जस्ले काम गरेर देखाउँछ, जसले परिवर्तन गरेर देखाउँछ, जनताले उसैलाई विश्वास गर्छ । त्यो म गरेर देखाउँछु ।