अति दुर्गममा नेपाल टेलिकमको जिएसएम मोवाइल सेवा सुरु

Advertisement

काठमाडौंः नेपाल टेलिकमले मुलुकका ग्रामीण तथा अति दुर्गम क्षेत्रका विभिन्न नयाँ स्थानमा जिएसएम मोबाइल उपकरण जडान गरी सेवा सञ्चालनमा ल्याएको छ । कम्पनीले मुलुकको अति विकट मुस्ताङको स्याङबोचे भ्यु प्वाइन्ट र दोलखाको डाँडाखर्कमा जिएसएम मोबाइल सेवा सञ्चालनमा ल्याएको हो ।

स्याङबोचे भ्यु प्वाइन्टमा मंसिर १५ र डाँडाखर्कमा मंसिर ११ गतेदेखि सेवा सञ्चालनमा आएको हो । मुस्ताङको जोमसोमदेखि करिब ४० किलोमिटर टाढा करिब चार हजार मिटरको उचाईको दालोमे गाउँपालिका ३ मा स्याङबोचे भ्यु प्वाइन्टको बिटिएस टावर स्थापना गरिएको छ ।

मुक्तिक्षेत्र गाउँपालिकाको चार हजार २५० मिटर अग्लो स्थानमा अवस्थित घिउलाडाँडामा रिपिटर स्टेशन राखी माइक्रोवेभ लिंकमार्फत बिटिएससँग सम्पर्क कायम गरिएको छ । सो टावरले छुसाङ, समर, घमी, सुरखाङ र अपर मुस्ताङको जोमसोम–कोरला हाइवे अन्तर्गत ताङवे देखि जैतेसम्मकोे अधिकांश स्थानमा सेवा उपलब्ध गराउछ ।

यसबाट अपर मुस्ताङ र दामोदर कुण्डको भ्रमणमा आएका पर्यटकका साथै सो क्षेत्रका चार सय भन्दा बढी घरधुरी लाभान्वित हुने छन् । त्यसैगरी दोलखा जिल्लाको डाँडाखर्कमा स्थापना गरिएको बिटिएसबाट चार हजारभन्दा बढी सेवाग्राही लाभान्वित हुने छन् ।

दोलखाको मेलुङ गाउँपालिका, डाँडाखर्क, चिन्ने, फड्के, सर्नथली, घलडाँडा, भेड्फु र रामेछापको फुलासी, डडुवा र हरिया चिन्नेका सेवाग्राही यसबाट लाभान्वित हुने छन् । अब यी स्थानमा मोबाइलमार्फत कुराकानी गर्ने सुविधा उपलब्ध हुनुको साथै डाटा चलाउन समेत सकिने छ ।

Advertisement

Advertisement

Advertisement