दाङको आमहडताल राति ११ बजेपछि फिर्ता, आन्दोलनको स्वरुप परिवर्तन

Advertisement

तुलसीपुर, दाङः प्रदेश नं ५ को अस्थायी राजधानीको माग गर्दै विगत पाँच दिनदेखि दाङमा जारी आमहडताल शनिबार राति ११ बजेपछि फिर्ता गर्दै आन्दोलनको स्वरुप परिवर्तन गरिएको छ ।

संघर्ष समितिको लमहीमा केहीबेर अगाडि बसेको बैठकले आन्दोलनका अन्य कार्यक्रम भने जारी रहने संघर्ष समितिका सचिव एवं माओवादी केन्द्र दाङका नेता निर्मल आचार्यले जानकारी दिए ।

आइतबार बिहानदेखि यहाँका शिक्षण संस्था, यातायातका साधन, उद्योग तथा कलकारखाना, बजार नियमितरुपमा सञ्चालन हुनेछन् । त्यसैगरी चक्काजाम, धर्ना, ज्ञापनपत्र बुझाउनेलगायत आन्दोलनका कार्यक्रम भने जारी रहने आचार्यले जानकारी दिए ।

राष्ट्रियसभा निर्वाचनलाई मध्यनजर गर्नुका साथै निर्वाचन आयोगको आग्रहलाई गम्भीरतापूर्वक लिंदै केही समयका लागि बन्द र हड्तालका सम्पूर्ण कार्यक्रम स्थगित गरिएको संघर्ष समितिले प्रेस बिज्ञप्तीमार्फत जानकारी दिएको छ । बन्दका कार्यक्रम स्थगित भएपछि लामो समयदेखि पूर्व पश्चिम राजमार्गत अन्तर्गत दाङको सिमा क्षेत्रमा रोकिएका सवारी साधन चल्न थालेका छन् ।

जिल्लाभित्र पनि यातायातका साधनहरु सञ्चालन हुन थालेका छन् । संघर्ष समितिले आन्दोलनका क्रममा जनमानसमा पर्न गएको असुबिधाप्रति क्षमायाचना गरेको छ । बैठकले आन्दोलनका रुवरुप परिवर्तन गरी नयाँ कार्यक्रम तय गरेको आचार्यले जानकारी दिए ।

अब कालोझण्डा प्रदर्शन, डेलिगेशन, बिरोधसभा, रिले अनशन, धर्ना, कानूनी उपचार जस्ता कार्यक्रम गरिने उनले बताए । आइतबार सबै दाङबासीलाई आफ्नो निवासमा कालो झण्डा राख्न अनुरोध गर्ने, सार्वजनिक स्थानमा कालोझण्डा गाड्ने, दिउँसो १ बजे जिल्लाका मुख्य बजार घोराही, तुलसीपुर, लमही र भालुबाङमा कालोपट्टीसहित बिरोध जुलुश गर्ने निर्णय भएको छ ।

बाँकी कार्यक्रम आइतबार बस्ने बैठकले तय गर्नेछ । बैठकमा एमाले अध्यक्ष खड्काका साथै जिल्ला ईञ्चार्ज मेटमणी चौधरी, जिल्ला उपसचिव सुरामणी बेल्बासे, काँग्रेस सभापति किर्तीबहादुर खड्का, उपसभापति कमानसिंह भारती, सचिव शंकर डाँगी, माओवादी केन्द्रका जिल्ला ईञ्चार्ज जीवन गौतम, सहईञ्चार्ज आचार्य लगायत सहभागी थिए ।

Advertisement

Advertisement

Advertisement