हिमालय एयरलाइन्स संकटमा, बाँकी रहेको एउटै दोहा उडान पनि बन्द हुने स्थितिमा

Advertisement

काठमाडौंः सुरुमा आक्रमक बजार विस्तारसहित अघि बढेको नेपालको अन्तर्राष्ट्रिय उड्ययन सेवा प्रदायक हिमालय एयरलाइन्स संकटग्रस्त बन्दै गएको छ । नेपाल र चीनको संयुक्त लगानी रहेको यस कम्पनीले व्यवसायिक हिसावले असफल र आर्थिकरुपमा संकटको अवस्थामा रहेको छ ।

हिमालय एयरलायन्सबारे जानकार एक व्यक्तिले कर्पोरेट नेपाललाई जानकारी दिएअनुसार खुम्चिएर कतारको दोहामा मात्रै सीमित रहेको उडान सेवा पनि धेरै लामो समय नजाने स्थितिमा पुगेको छ । यसअघि श्रीलंकाको कोलम्बो, साउदी अरबको दमाम, म्यानमारको याङगुन, मलेसियाको क्वालालम्पुर, संयुक्त अरव इमिरेट्स (यूएइ)को दुवई उडान सञ्चालन गरे पनि घाटा लागेपछि सबै बन्द गरेर दोहामा सीमित भएको छ ।

कम्पनी संकटग्रस्त बन्दै गएपछि सेवारम्भका बेला महत्वपूर्ण योगदान दिएका कर्मचारीहरुले कम्पनीका कार्यकारी उपाध्यक्ष विजय श्रेष्ठले निष्काशन गरिसकेका छन् । नेपालको सबैभन्दा ठूलो श्रम बजारको रुपमा रहेको कतारले कम्पनीलाई टाट पल्टिन अहिलेसम्म जोगाए पछि यही स्थितिमा कम्पनी धेरै समय टिक्ने अवस्था नरहेको कम्पनी स्रोतले बतायो ।

चिनियाँ लगानी भएकै कारण भारतले अहिलेसम्म हिमालय एयरलाइन्सलाई उडान अनुमति दिएको छैन । सबैभन्दा पहिला नै दिल्ली उडानका लागि प्रक्रिया अघि बढाएको कम्पनीले अनुमति नपाएपछि दोहा उडान सुरु गर्न बाध्य भएको थियो । अहिले कम्पनीसँग एयरबस ३२०–२१४ जहाज तीनवटा छन् ।

यसअघि प्रधानमन्त्री हुँदा केपी ओली नेतृत्वको सरकारी टोलीलाई चीन घुमाएर चर्चामा आएको हिमालय एयरलाइन्सलाई चिनियाँ लगानी रहेका कारण भारतीय पक्षले असहयोग गर्दै आएको छ । लगानीकै कारण दोहा उडानमा समेत समस्याहरु सिर्जना गर्ने काम भइरहेको छ भने वाइड वडी विमानहरु ल्याएर युरोपदेखि अमेरिका र अष्ट्रेलियासम्म पुग्ने उसको योजना अलपत्र परेको छ ।

भारतीय नागरिक नागरिक उड्डयन महानिर्देशनालयले आवश्यक विवरण नपुगेको भन्दै उडान अनुमति दिन आलटान गर्दै आएको छ । जहाँ नेपाल वायुसेवा निगमले ७० वटा गन्तव्यमा उडान अनुमति लिएको छ । सकेसम्म नेपालको बजारमा आफ्ने वायुसेवाहरुको एकछत्र नियन्त्रण कायम गर्ने, दिनै परे नेपाल वायुसेवालाई मात्रै उडान गर्न दिने रणनीतिमा भारतीय नागरिक उड्डयन महानिर्देशनालयको रणनीति देखिन्छ ।

आर्थिकरुपमा समेत कम्पनी कमजोर हुँदै गएपछि हिमालय एयरलाइन्सलाई आफ्ना विमान चालकदेखि अन्य कर्मचारीहरुलाई तलव सुविधा दिन मुस्किल हुन थालेको छ । पारिश्रमिक भुक्तानी विगतमा जस्तो नियमित छैन भने दायित्वहरु बढ्दै गएको स्रोतको दावी छ । कम्पनीमा ५१ प्रतिशत नेपाली र ४९ प्रतिशत चिनियाँ लगानी रहेको छ ।

नेपाली लगानीमा यति वल्र्ड इन्भेष्टेन्ट प्रालि र एचआरएफ एभियशन इन्भेष्टमेन्ट प्रालिको गरी ५१ प्रतिशत र चीनको सरकारी कम्पनी तिब्बत एयरलाइन्सको ४९ प्रतिशत लगानी रहेकोमा कम्पनीको आर्थिक र व्यवसायिक स्थिति खस्किँदै गएपछि एचआरएफले आफ्नो लगानी फिर्ता लगेकोमा यति वल्र्डले सो लगानी पूर्ति गर्ने काम गरेका छन् । यति वल्र्डमा आङछिरिङ शेपालगायतको लगानी रहेको जनाइएको छ । सञ्चालनको सुरुमा लगानीकर्ताहरुबीच नै झगडा भएपछि पृथ्वीबहादुर पाण्डेले आफ्नो लगानी फिर्ता लगेका थिए ।

निजी लगानीमा सुरु भएको यस विमान सेवाले नेपालको उड्डयन क्षेत्रको विकास र पर्यटन प्रवद्र्धनमा ठूलो योगदान दिने आशा लिइए पनि कम्पनी आफै धरासायी बन्दै जाँदा त्यो संभावना कम हुँदै गएको छ ।

Advertisement

Advertisement

Advertisement