काठमाडौंः चिनियाँ राजदूत यु होङले नेपालले ‘वान वेल्ट वान रोड’ परियोजनामा हस्ताक्षर गरेकोले नेपालको जलविद्युतमा चिनियाँ सरकारी तथा निजी लगानी आउने बताएकी छन् ।
उर्जा, जलस्रोत तथा सिंचाईमन्त्री बर्षमान पुनसँग बुधबार भएको भेटमा राजदूत होङले नेपालको जलविद्युत क्षेत्रमा लगानी गर्न चिनिया सरकार र निजी क्षेत्र इच्छुक रहेको बताएकी हुन ।
उनले लगानीका लागि नेपाल सरकारले पनि उपयुक्त वातावरण बनाउनुपर्ने बताइन । होङले हाल चिनिया कम्पनीले करिव आठ सय ५० मेगावाट क्षमताका ११ वटा परियोजनामा काम अघि बढाइरहेको र तीन वटा परियोजनाको निर्माण कार्य सम्पन्न गरिसकेको जानकारी दिइन ।
उनले चिनियां कामदारको भिषा प्रक्रियामा समस्या भएको भन्दै त्यसमा देखिएको कानुनी समस्या समाधान भए परियोजना निर्माणमा सहज हुने बताइन । होङले उर्जा क्षेत्रमा चीन र नेपालको संयन्त्र निर्माण गर्ने विषयलाई आफ्नो सरकारले प्राथमिकतामा राखेको जानकारी दिइन ।
त्यसका लागी नेपालको तर्फबाट पनि काम अघि बढे त्यसले दिर्घकालिन रुपमा दुवै देशलाई फाइदा पुग्ने विश्वास समेत उनले बताइन । राजदूत होङले चिनियां सरकार नेपालको जलविद्युत क्षेत्रको विकासमा सहयोग गर्न सधै तयार रहेको बताइन ।
उर्जामन्त्री पुनले चिनिया लगानीकर्ताले भोगिरहेका समस्याको बारेमा आफूले समस्या समाधानको पहल गर्ने बताए । उनले नेपालमा लगानीको वातावरण बनाउन प्रधानमन्त्री केपी ओली नेतृत्वको सरकार तयार रहेको भन्दै थप लगानीको लागी पहल गर्न राजदूत होङलाई आग्रह गरे ।
नेपालमा चिनिया कम्पनीले भोगेका समस्याको बारेमा आफूहरु गम्भीर रहेको भन्दै उनले त्यसमा देखिएका समस्या समाधान गर्न सरकारले कुनै कसर बाँकी नराख्ने बताए ।
चिनिया कामदारको भिषा प्रक्रिया र लगानीकर्ताले भोगिरहेका समस्या समाधानको लागि उर्जामन्त्रालयले पहल थाल्ने पुनले बताए । वान वेल्ट वान रोड परियोजनामा नेपालको सहभागीताले दुई देशबीचको सम्बन्ध अझ उचाईमा पुगेको भन्दै उनले आगामी दिनमा उर्जा क्षेत्रमा सहकार्य गर्न सरकार तयार रहेको बताए ।
मन्त्री पुनले रसुवा– केरुङ प्रसारण लाइनको निर्माणपछि त्यसले विजुली आयात र निर्यातमा दुवै देशलाई फाइदा पुग्ने धारणा राखे । नेपालमा चिनिया लगानीकर्तालाई लगानीको वातावरण गर्न सरकार तयार रहेको भन्दै उनले नेपालमा उत्पादन हुने विद्युत खपत नेपालभित्रै हुने वातावरण निर्माण गरिने बताए ।