दश महिनामै व्यापार घाटा नौ खर्ब १५ अर्ब, निर्यात जम्मा ६६ अर्ब

Advertisement

काठमाडौंः चालु आर्थिक बर्र्षको पहिलो १० महिनामै व्यापार घाटा नौ खर्ब १५ अर्ब ९० करोड रुपियाँ पुगेको छ । गत बर्षको सोही अवधिको तुलनामा २२ प्रतिशतले बढेर व्यापार घाटा त्यति पुगेको हो ।

सरकारले निर्यातलाई प्रोत्साहन र आयात निरुत्साही गर्ने बताए पनि व्यवहारमा त्यो नीति अफल हुँदै आएको छ । समीक्षा अवधिमा नौ खर्ब ८२ अर्ब ५४ करोडको आयात भएकोमा निर्यात जम्मा ६६ अर्ब ६४ करोड रुपियाँको रहेको छ ।

आयातको तुलनामा निर्यातको अंश छ दशमलव ७८ प्रतिशत मात्रै रहेको भन्सार विभागले जनाएको छ । वैशाखसम्म १५२ मुलुकबाट आयात भए पनि निर्यात हुने मुलुकको संख्या भने निकै न्यून छ । आयात भएका मुलुकमध्ये १२८ वटासँग नेपालले घाटाको व्यापार गरेको छ ।

आयात २१ दशमलव ७१ प्रतिशतले बढ्दा निर्यात जम्मा नौ दशमलव ३४ प्रतिशत मात्रै छ । वैशाखसम्म भारतसँग मात्रै छ खर्ब ११ अर्ब १९ करोडको व्यापार घाटा छ भने चीनसँग एक खर्ब २४ अर्ब ९१ करोडको व्यापार घाटा छ । भारततर्फको निर्यात जम्मा ३८ अर्ब १४ करोड रुपियाँ मात्रै रहेको छ भने चीनतर्र्फको निर्यात दुई अर्ब ६६ करोड रुपियाँ मात्रै छ ।

चीनपछि व्यापार घाटा बढी हुने मुलुकहरूमा इन्डोनेसिया, भियतनाम, थाइल्यान्ड, अर्जेटिनालगायत मुलुक रहेको विभागको तथ्यांकमा देखिन्छ ।

दश महिनामा सबैभन्दा बढि एक खर्ब ५४ अर्ब नौ करोड रुपियाँको इन्धन आयात भएको छ भने दोस्रोमा एक खर्ब पाँच अर्ब १८ करोडको मेसिनरी उपकरणका पार्टपुर्जाहरू आयात भएको छ । त्यस्तै, करिब एक खर्ब बराबरका फलाम तथा स्टिल सामग्रीहरू आयात भएको भने ६८ अर्ब ९० करोड रुपियाँ बराबरका सवारी साधन, ६३ अर्ब आठ करोड रुपियाँको विद्युतीय सामग्री आयात भएको छ ।

उद्योगमा भन्दा बढि व्यापारमा लाभ हुँदा नेपालका व्यवसायीहरु आयातमा रमाउनु, उद्योग तथा उत्पादन वृद्धिको सरकारी प्रयास सफल हुन नसक्नु, उत्पादित वस्तुमा पनि गुणस्तर समस्या र लागत कम हुन नसक्नु, स्वदेशी उत्पादन वृद्धि तथा प्रवर्द्धनात्मक कार्यक्रम हुन नसक्नु जस्ता कारणले नेपालका व्यापार घाटा घट्नुको सट्टा बढ्दै गएको छ ।

Advertisement

Advertisement

Advertisement