बंगलादेशका लागि लगानीयोग्य विद्युत आयोजना पहिचान गर्न संयुक्त प्राविधिक टोली गठन

Advertisement

काठमाडौं । नेपाल र बंगलादेशको जारी उर्जा संयन्त्रको बैठकले बंगलादेशका लागि लगानीयोग्य जलविद्युत आयोजना पहिचान गर्न दुवै देशबाट तीन तीन सदस्य रहनेगरी संयुक्त प्राविधिक टोली गठन गर्ने सहमति गरिएको छ ।

संयन्त्रको मंगलबार भएको बैठकले यस्तो टोली गठन गरी एक महिनाभित्र सदस्यहरुको नाम एक अर्कालाई पठाउने सहमति गरेका हुन् । त्यस्तै, नेपाल र बंगलादेशबीच अन्तरदेशीय विद्युत प्रसारणलाइनको संभाव्यता अध्ययन गर्न दुवै देशका तीन तीन सदस्य रहनेगरी अर्को संयुक्त प्राविधिक टोली गठन गर्ने सहमति पनि भएको छ ।

यसका लागि एक महिनाभित्र दुवै देशले सदस्यहरुको नाम एक अर्कालाई पठाउने सहमति पनि भएको छ । नेपाल र भारत तथा भारत र बंगलादेशबीच भएको यसै प्रकारणको संयुक्त समितिको आउँदो बैठकमा प्रसारणलाइनसम्वन्धी त्रिदेशीय व्यवस्था गर्न आआफ्नो तर्फबाट कुरा उठाउने सहमति भएको उर्जा मन्त्रालयले जनाएको छ ।

नेपाल र बंगलादेशबीच गत अगष्टमा भएको उर्जा क्षेत्रमा आपसी सहयोगसम्वन्धी सहमतिअनुसार पहिलो पटक मंगलबार काठमाडौंमा उर्जा संयन्त्रको बैठक बसेको हो । सोमबार र मंगलबार दुई दिन सचिवस्तरीय स्टेरिङ कमिटि र सहसचिवस्तरीय वोकिङ कमिटिको बैठक बसेका थिए । बैठकमा नेपाल र बंगलादेशबीचको उर्जा व्यापारको संभावना, नेपालको विद्युत विकासमा लगानीको संभावना, माथिल्लो कर्णाली जलविद्युत आयोजनाबाट बंगलादेश निर्यात गर्ने भनिएको पाँचसय मेगावाट विद्युत तथा नवीकरणीय उर्जाका क्षेत्रमा सहयोग आदानप्रदानसम्वन्धमा छलफल भएको मन्त्रालयले जनाएको छ ।

Advertisement

Advertisement

Advertisement