आजदेखि माथिल्लो तामाकोशीको सेयर कारोबार सुरु, प्रतिसेयर २२४ रुपियाँमा कारोबार

Advertisement

काठमाडौं । माथिल्लो तामाकोशीको आज आइतबार देखि नेपाल स्टक एक्सचेञ्जमा शेयर कारोबार खुलेको छ। नेप्सेले तामाकोशीको शेयरलाई कारोबार गर्न युपिपिइआर (UPPER) कारोबार संकेत प्रदान गरेको छ । यहि कोडमा अब कम्पनीको शेयर खरिद बिक्री हुनेछ ।

तामाकोशीको शेयरलाई नेप्सेले प्रतिसेयर न्युनतम ७४ रुपियाँ ८९ पैसा देखि अधिकतम २२४ रुपैयाँ ६७ पैसा ओपनिङ्ग रेन्ज तोकेको छ । आइतबार सोही ओपनिङ्ग रेन्जको आधारमा तामाकोशीको कारोबार खुलेको हो । समाचार तयार पार्दासम्म कम्पनीको सेयर कारोबार प्रतिकित्ता २२४ रूपियाँमा कारोबार भएको छ ।

तामाकोशीको बिहीबार नेप्सेको १० करोड ५९ लाख कित्ता सेयर सूचीकृत भएको थियो ।

कम्पनीले गत साउनमा आयोजना प्रभावित दोलखावासीलाई एक अर्ब पाँच करोड रूपियाँ र गत कात्तिक १५ देखि १९ गतेसम्म सर्वसाधारणलाई एक अर्ब ५८ करोड रूपियाँ बराबरको साधारण सेयर बिक्री गरेको थियो ।

बिक्री भएका शेयर लगानीकर्ताको हितग्राही खातामा जम्मा भइसकेको छ । दोलखावासी र आम सर्वसाधारणलाई क्रमशः १० र १५ प्रतिशत सेयर बिक्री गरेको हो ।

कम्पनीले केही वर्ष पहिले नै कर्मचारी सञ्चयकोषका कर्मचारी, ऋणदाता संस्थाका कर्मचारी, सञ्चयकोषका कर्मचारी, नेपाल विद्युत् प्राधिकरणका कर्मचारीलाई सेयर बिक्री गरेको थियो ।

कम्पनीले दोलखाको लामाबगरमा ४५६ मेगावाट क्षमताको आयोजना निर्माण गरिरहेको छ । आयोजनाको हाल ९७ प्रतिशत भौतिक प्रगति भएको छ । आयोजनाको लागत भने दोब्बरले बढेर ६९ अर्ब ६१ करोड रुपियाँ पुग्ने अनुमान छ ।

Advertisement

Advertisement

Advertisement