त्रिभुवन विमानस्थलमा सुन जाँच गर्ने सुब्बाको १४ करोड अकुत सम्पत्ति

Advertisement

काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका नायब सुब्बा श्यामकृष्ण च्वामु श्रेष्ठविरुद्ध विशेष अदालतमा मुद्दा दायर गरिएको छ । ३३ किलो सुन तस्करीमा तानिएका उनलाई साढे १४ करोडभन्दा बढी ‘अकुत’ सम्पत्ति आर्जन गरेको आरोप अख्तियार दुरुपयोग अनुसन्धान आयोगले लगाएको छ । उनी रेडियो अपरेटर (सुनको जाँच गर्ने मेसिन चलाउने) हुन् ।

उनीविरुद्ध भ्रष्टाचार निवारण ऐन २०५९ को दफा २० (२) अनुसार दुई वर्षसम्म कैद, भ्रष्टाचारवापतको चल अचल सम्पत्ति जफत र १४ करोड ६१ लाख रुपैयाँ बिगो मागसहित मुद्दा दायर भएको छ । उनी सुन तस्करीको अभियोगमा २०७३ पुस २७ गते निलम्बनमा परेका थिए । श्रेष्ठले ३३ किलो सुनमा प्रतिवादी ठहरिएका गुप्तलाल भुसाल र हरिशरण खड्काले दुबईबाट पठाएको सुन स्क्रिनिङ गरेर विमानस्थलबाट बाहिर पठाउने गरेको अभियोग छ । त्यही अभियोगमा रेडियो अपरेटर शाखाका प्रमुख श्रीनारायण यादवलाई पक्राउ गरिएको थियो ।

श्रेष्ठले श्रीमतीहरू तारादेवी श्रेष्ठ र रेखा श्रेष्ठसहित परिवारका अन्य सदस्यका नाममा अवैध सम्पत्ति लुकाएको दाबी गरिएको छ ।

उनको परिवारको नाममा काभ्रेपलान्चोकमा ३ सय रोपनीभन्दा बढी जग्गा छ । सार्वजनिक सेवामा प्रवेश गरेको २२ वर्षको अवधिमा उनले गैरकानुनी धन आर्जन गरेको अख्तियारले दाबी गरेको छ ।

आरोप पत्रअनुसार २०५३ चैत ५ देखि अनुसन्धान अवधिसम्म च्वामु श्रेष्ठले वैधानिक रूपमा नौ करोड ६३ लाख ८२७ रुपैयाँ आर्जन गरेका देखिएको छ भने सोही अवधिमा उनले १९ करोड ७४ लाख ५५ हजार ८१६ रुपैयाँ खर्च तथा लगानी गरेका छन् । उनको १० करोड ११ लाख ४६ हजार ९८८ रुपैयाँ गैरकानुनी आर्जन देखिएको छ । श्रोत नखुलेको सम्पत्तिबाट बढी बढाउ गरेको ४ करोड ४९ लाख ७७ हजार ४९० समेत गरी कुल १४ करोड ६१ लाख २४ हजार ४७८ रुपैयाँ बराबरको अकुत सम्पत्ति आर्जन गरेको पुष्टि भएको अख्तियारका प्रवक्ता रामेश्वर दंगालले जानकारी दिए ।

आरोप पत्रअनुसार सुब्बा पदमा कार्यरत श्रेष्ठले पारि श्रमिकवापत १८ लाख १६ हजार ९४८ रुपैयाँ बचत गरेका छन् । उनी तथा परिवारका सदस्यको नाममा ३ करोड ४७ लाख ७६ हजार ४३९ रुपैयाँ विभिन्न बैंक तथा वित्तीय संस्थाबाट कर्जा लिएका छन् ।

तलब २० लाख ४६ हजार ७०९, पेन्सन १० लाख ३६ हजार ९९५ र विदेश भ्रमणबाट प्राप्त रकम ६० हजार २२५ उनका बाबु ज्ञानकृष्ण श्रेष्ठको आम्दानी देखिएको अख्तियारको भनाइ छ । छोरी सन्ध्या श्रेष्ठको पारिश्रमिक बचत ३ लाख ७६ हजार ८१, भाइ रामकृष्ण श्रेष्ठको पारिश्रमिक बचत १४ लाख ३९ हजार ८६७ , भाइबुहारी रविना प्रधानांगको पारिश्रमिक बचत १२ लाख ६१ हजार ४२१, श्रीमती तारादेवी श्रेष्ठको पारिश्रमिक बचत ५ लाख ३३ हजार ६७५ रुपैयाँ छ ।

जग्गा बिक्रीबाट दुई करोड ७९ लाख ७३ हजार ६८३, फ्ल्याट बिक्रीबाट एक करेड ५७ लाख ८७ हजार ३२०, घरबहाल आयबाट ३४ लाख आम्दानी भएको छ । उनले पदमा रहेर प्राप्त गरेको कमिसन नौ हजार ७८०, सवारी साधन बिक्रीबाट ५४ लाख १६ हजार ३१० समेत गरी जम्मा नौ करोड ६३ लाख ८ हजार ८२७ रुपैयाँ वैधानिक आय भेटिएको छ ।

अनुसन्धान अवधिसम्ममा उनको जग्गा खरिदमा दुई करोड ४६ लाख ३९ हजार ३२५, घर निर्माणमा ती करोड ८६ लाख १५ हजार ८८९, अध्ययनमा १० लाख ६८ हजार ४०३ खर्च भएको छ । उनले नमोबुद्ध एग्रो प्राइभेट लिमिटेड लगायतका कम्पनीमा पाँच करोड ४७ लाख ६८ हजार लगानी गरेका छन् । ऋणको भुक्तानीमा ३ करोड ७४ लाख ४४ हजार ८०६, सवारी साधन खरिदमा दुई करोड २६ लाख १६ हजार रुपैयाँ खर्चेका छन् । बैंक मौज्दात ८६ लाख १८ हजार २७८, घरबहाल कर तिरेको तीन लाख ५५ हजार ४१४, बकस तथा अंशबण्डा गर्दा तिरेको दस्तुर ७१ हजार ९५०, फ्ल्याट खरिदमा ९२ लाख २२ हजार ७५० र शेयर खरिदमा ३५ हजार गरी कुल १९ करोड ७४ लाख ५५ हजार ८१६ खर्च तथा लगानी गरेको देखिन्छ ।

चल अचल सम्पत्ति जफत गर्ने प्रयोजनका लागि च्वामु श्रेष्ठका श्रीमतीहरू तारादेवी श्रेष्ठ र रेखा श्रेष्ठसहित बुबा, आमा, भाइ, बुहारीसमेतलाई प्रतिवादी बनाइएको अख्तियारका सूचना अधिकारी मदन कोइरालाले बताए । च्वामु श्रेष्ठ मध्यपुर अस्पताल भक्तपुरका सञ्चालक हुन् भने सुब्बामा जागिर खाने उनी आधा करोडभन्दा बढी मोल पर्ने गाडी चढ्छन् ।

स्रोत नखुलेको सम्पत्तिः १४ करोड ६१ लाख

आम्दानी

च्वामु श्रेष्ठको पारिश्रमिकः १८ लाख १६ हजार

बैंक तथा वित्तीय संस्थाको कर्जाः तीन करोड ४७ लाख ७६ हजार

बाबु ज्ञानकृष्ण श्रेष्ठको औषधी उपचार सुविधाः ३ लाख ७३ हजार

बाबु ज्ञानकृष्ण श्रेष्ठको तलबः २० लाख ४६ हजार

बाबु ज्ञानकृष्ण श्रेष्ठको पेन्सनः १० लाख ३७ हजार

बाबु ज्ञानकृष्ण श्रेष्ठले विदेश भ्रमणको आम्दानीः ६० हजार २२५

छोरी सन्ध्या श्रेष्ठको पारिश्रमिकः तीन लाख ७६ हजार

भाइ रामकृष्ण श्रेष्ठको पारिश्रमिकः १४ लाख ३९ हजार

भाइबुहारी रविना प्रधानांगको पारिश्रमिकः १२ लाख ६१ हजार

श्रीमती तारादेवी श्रेष्ठको पारिश्रमिकः पाँच लाख ३३ हजार

जग्गा बिक्रीबाटः दुई करोड ७९ लाख ७३ हजार

फ्ल्याट बिक्रीबाटः एक करोड ५७ लाख ८७ हजार

घरबहाल आयबाटः ३४ लाख

च्वामु श्रेष्ठको कमिसन स् ९ हजार ७८०

सवारी साधन बिक्रीबाटः ५४ लाख १६ हजार

कुल आम्दानीः नौ करोड ६३ लाख आठ हजार

खर्च तथा लगानीतर्फ

जग्गा खरिदः दुई करोड ४६ लाख ३९ हजार

घर निर्माणः तीन करोड ८६ लाख १५ हजार

अध्ययन खर्चः १० लाख ६८ हजार

नमोबुद्द एग्रो प्रालिलगायतका कम्पनीमा गरेको लगानीः पाँच करोड ४७ लाख ६८ हजार

ऋणको सावाँ व्याज भुक्तानीः तीन करोड ७४ लाख ४४ हजार

सवारी साधन खरिदः दुई करोड २६ लाख १६ हजार

बैंक मौज्दातः ८६ लाख १८ हजार

घरबहाल कर तिरेकोः तीन लाख ५५ हजार

बकस तथा अंशबण्डा गर्दा तिरेको दस्तुरः ७२ हजार

फ्ल्याट खरिदः ९२ लाख २२ हजार

शेयर खरिदः ३५ हजार

कुल खर्च तथा लगानीः १९ करोड ७४ लाख ५५ हजार

श्रोत नखुलेको सम्पत्तिबाट बढी बढाउः चार करोड ४९ लाख ७७ हजार

आजको अन्नपूर्ण पोष्ट दैनिकबाट ।

Advertisement

Advertisement

Advertisement