निजी विद्यालय सञ्चालकहरुलाई माफिया भन्दा मलाई साह्रै दुःख लाग्छः ओली, चर्को शुल्कबारे मौन

Advertisement

काठमाडौं । निजी विद्यालयहरुबाट अभिभावक र विद्यार्थीहरुमाथि चर्को शोषणा गरेको समाचारहरु निरन्तर आइरहेको बेला प्रधानमन्त्री केपी ओलीले भने उल्टै त्यस्ता विद्यालयहरुको मुक्तकण्ठले प्रसंशा गरेका छन् ।

उच्च शिक्षालय तथा माध्यमिक विद्यालय संघ नेपाल (हिसान)ले बिहीबारदेखि सुरु गरेको शैक्षिक मेलाको उद्घाटन गर्न पुगेका ओलीले निजी विद्यालयहरुबाट भर्ना, मासिक शुल्क आदि शीर्षकमा भइरहेको चर्को शोषणबारे मौन बस्दै उल्टै त्यस्ता विद्यालयको गुनगान गाए ।

उनले निजी विद्यालयको शिक्षा अब्बल रहेको भन्दै निजी लगानीमा सञ्चालित विद्यालयहरुको सरकारले संरक्षण गर्ने बताए । निजी र सार्वजनिक विद्यालयको व्यवस्थाले बर्गीय खाडल बढ्दै गएको र निजी विद्यालय हावी हुँदा सार्जजनिक विद्यालयहरुको अवस्था खस्किँदै गएको बेलाको कुरालाई नजरअन्दाज गर्दै ओलीले सरकारी विद्यालयको पनि व्यवस्थापन सम्हाल्न सम्हालन आग्रह गरे ।

उनले अहिलेको सरकारले निजी लगानीका विद्यालयलाई बन्द नगर्ने बताए । निजी विद्यालयहरुबाट शुल्कका नाममा भइरहेको ठगीबारे मौन बसेका ओेलीले स्वदेशमै स्तरीय शिक्षा दिएका विद्यालय सञ्चालकलाई माफिया भनेकोमा आफूलाई साह्रै चित्त दुखेको बताए । उनले भने, ‘निजी विद्यालय गुणस्तरीय शिक्षाका नेतृत्वकर्ता हुन्। प्राइभेट सेक्टरमा कसले हल्ला चलाएछ कुन्नि के के भनेर, स्वदेशमै स्तरीय शिक्षा दिएका विद्यालय सञ्चालकलाई माफिया भनेकोप्रति आफूलाई चित्त दुखेको छ ।’

ओलीले सरकारको उद्देश्य निजी विद्यालय बन्द गर्ने नरहेको दोहोर्याउँदै सामुदायिक विद्यालयको शिक्षाको स्तर सुध्रिएपछि निजी विद्यालय आफैं बन्द हुने तर्क गरे । यद्यपि उनले शिक्षामा राज्यको ठूलो लगानी, सामुदायिक विद्यालयको खस्कँदो अवस्थाबारेमा बोल्न चाहेनन् ।

शिक्षामन्त्री गिरीराजमणि पोखरेलले निजी विद्यालय सञ्चालकलाई गुणात्मक शिक्षाका लागि प्रभावकारी भूमिका निर्वाह गर्न आग्रह गर्दै सरकारले सामुदायिक विद्यालयको सुधारका लागि पनि धेरै पहल गरेको बताए ।

Advertisement

Advertisement

Advertisement