मर्जरका लागि बैंकहरुलाई यसअघि नै असीमित समय दिइसक्यौं, यसरी अन्त दिइँदैन्ः गर्भनर

Advertisement

काठमाडौं । राष्ट्र बैंकका गर्भनर चिरञ्जीवी नेपालले बैंकहरु मर्जरका लागि यसअघि नै असिमित समय दिइसकेको बताउँदै अब कुर्न नसकिने बताएका छन् । यसरी बैंकहरुलाई अनलिमिटेड टाइम कसैले नदिने उनको भनाई छ ।

आउँदो आर्थिक बर्षका लागि जारी हुने मौद्रिक नीतिबारे सुझाव संकलन गर्न राष्ट्र बैंकले सोमबार आयोजना गरेको कार्यक्रममा उनले राष्ट्र बैंकको नीति कार्यान्वयनमा सहयोग गर्न पनि आग्रह गरे ।

नेपालले भने, ‘तपाईंहरुकै इच्छामा नीति ल्याएको हो, मर्जरको चाहना तपाईंहरुकै हो, यसको कार्यान्वयनमा सहयोग गर्नुहोस् ।’ उनले अमेरिका बस्तो विकसित मुलुकमा पनि बैंकहरु मर्ज गर्ने कुरा आएको उदाहरण दिँदै नेपालमा ढिलाई भइसकेको बताए ।

कार्यक्रममा बैंकर्स, उद्योगी व्यवसायीहरुको सहभागिता थियो । बैंकर्सहरुले मर्जरका लागि आफूहरु तयार रहे पनि फोर्स नगरी प्रोत्साहनमूलक मर्जर नीति हुनुपर्ने बताए । नेपाल बैंकर्स संघका अध्यक्ष ज्ञानेन्द्र ढुँगानाले मर्जर आवश्यक हो भने प्रोत्साहन गर्ने किसिमले गरौं, फोर्सफुल्ली नगरौं भने । उनले ब्याजदरमा अहिले धेरै स्थिरता आइसकेको र यो एकल अंकमा आओस भन्नेमा आफूहरु पनि रहेको बताए ।

विकास बैंक संघका अध्यक्ष गोविन्द ढकालले लगानीयोग्य पुँजीको अभावमा बैंकहरु रहेको बताए । उनले व्यवसायी र बैंकर्सले एक अर्कालाई ब्याजदरको विषयमा आरोप प्रत्यारोप गर्न उचित नरहेको भन्दै एउटा डुब्दा अर्को पनि डुब्ने बताए ।

वित्त कम्पनी संघका अध्यक्ष सरोज तुलाधरले सीसीडी रेसियो ८० प्रतिशतबाट ८५ प्रतिशतमा पुर्याउने र स्पेड दरलाई नभई बेस रेटलाई कन्ट्रोल गर्ने हो भने बैंकर्स र व्यवसायीको सम्वन्ध समाधान हुने बताए ।

चेम्बर अफ कमर्शका उपाध्यक्ष कमलेश अग्रवालले व्यापारमा कडाई गर्ने काम सरकारले गर्न नहुने बताए । घरेलु तथा साना उद्योग महासंघका अध्यक्ष श्याम गिरीले बैंकहरुको ५० प्रतिशत लगानी घरेलु तथा साना उद्योगमा हुनुपर्ने भन्दै त्यसो भयो भने मुलुक पनि आत्मनिभएर हुने र पाँच लाख रोजगारी सिर्जना गर्ने सरकारी लक्ष्य यही क्षेत्रले पूरा गर्ने बताए ।

ग्रिल व्यवसायी संघका अध्यक्ष मोहन कटुवालले साना उद्योगहरुको आम्दानीमा वृद्धि नगरी सामाजिक सुरक्षा, न्यूनतम पारिश्रमिक जस्ता कुराहरु कार्यान्वयन गर्न कठिन हुने भन्दै यस्ता उद्योगमा अधिकतम लगानी बढाउनेगरी मौद्रिक नीति आउनुपर्ने बताए ।

नेपाल उद्योग बाणिज्य महासंघका अध्यक्ष किशोर प्रधानले उत्पादनमूलक र प्राथमिकताप्राप्त क्षेत्र परिभाषित हुनुपर्ने बताए । उनले बैंकहरुले व्यापार गर्न नपाउने भए पनि गर्ने गरेको भन्दै कार्टेलिङ गरी ठूला व्यापारीले ऋण लिने सानाले नपाउने अवस्था रहेको बताए ।

कार्यक्रममा महासंघका वरिष्ठ उपाध्यक्ष शेखर गोल्छा, बैंकर शोभनदेव पन्त, रेमिटान्स एशोसियशनका अध्यक्षका सुमन पोखरेल, महासंघका पूर्वउपाध्यक्ष दिनेश श्रेष्ठ, त्रिवि अर्थशास्त्र विभागकी प्रोफेसर कुशुम शाक्यलगायतले बोलेका थिए ।

Advertisement

Advertisement

Advertisement