मन्दिरको ३७३ रोपनी जग्गामध्ये ३७० माथि कब्जा, अब तीन रोपनी मात्रै बाँकी

Advertisement

काठमाडौं । गौशालास्थित राम मन्दिरको ३७० रोपनी जग्गा गायब पारिएको छ । कमान्डिङ कर्नेल श्रीसनकसिंह टण्डनले १९२८ सालमा राम मन्दिर निर्माण गरी ३७३ रोपनी ८ आना ३ पैसा जग्गा गुठी राखिदिएका थिए। अहिले मन्दिर परिसरले चर्चेको ३ रोपनी ४ आना जग्गा मात्र छ।

काठमाडौंका नाङ्लेभारे, लप्सीफेदी र साँखुमा मन्दिरका नाममा रहेको जग्गा सबै मोहीकै नियन्त्रणमा छ। जग्गाबाट खासै आयस्ता पनि आउँदैन। वर्षको २ देखि ३ लाखसम्मको बाली आउने गरेको रामचन्द्र मन्दिर गुठीका सदस्यसचिव केशवध्वज राणाले जानकारी दिए। ‘सबै जग्गा मोहीले कमाएका छन्’, उनले भने, ‘बाली भन्दै कसैले अलिअलि बुझाउँछन्।’

निजी गुठीबाट सञ्चालन भएको मन्दिर भए पनि जग्गा कहाँ कति छ ? भन्ने यथार्थ विवरण गुठीसँग छैन। यस्तै जग्गामा कति मोही छन् भन्ने तथ्यांक छैन। सदस्यसचिव राणा भन्छन्, ‘सरकारसँग त विवरण छैन, हामीसँग के हुन्छ ?’ मन्दिरको आर्थिक स्रोत चन्दा, दक्षिणा, भेटी तथा मन्दिर प्रांगणमा सेवासुविधा दिएबापत विवाह, व्रतबन्धबाट प्राप्त हुने शुल्क मात्र हो। मन्दिरका कार्यालय सचिव वसन्त खड्काले जग्गाजमिनको आयस्ता नआउने बताए। उनले भने, ‘गुठीको जमिन कहाँ छ, कस्तो अवस्थामा छ भन्ने जानकारी छैन।’ उनले सामाखुसी, भैंसीपाटी, गोंगबु लगायत ठाउँमा जग्गा छ भन्ने सुनेको बताए।

विगतमा गौशाला पशुपतिनाथ नजिक बत्तीसपुतलीमा रहेको श्रीरामचन्द्र मन्दिर नेपालको धनी मन्दिरका रूपमा गनिन्थ्यो। राम मन्दिरजस्तो ढाँचाको गुम्बज शैलीको मन्दिर नेपालमा अर्को नरहेको पुरातत्त्वविद् बताउँछन्। विगतमा जग्गाको आम्दानीबाटै मन्दिरको पूजाआजा, जात्रा, मेला सञ्चालन हुन्थ्यो।

विसं १९३३ र १९५१ मा लघु आकारका शिवालाय मन्दिर परिसर निर्माण भए। राजा विक्रमादित्यको सिंहासनलाई अप्सरा स्वरुपका बत्तीसवटा पुतली उडाएर ल्याई थुम्को (डाँडो)मा राखिएको भन्ने किंवदन्ती छ। त्यसैको प्रतीक स्वरुप मन्दिरको गर्भगृहमा बत्तीसवटा पुतलीका आकृति कुँदिएका छन्। यसैको नामबाट यहाँको बस्तीको नाम नै ‘बत्तीस पुतली’ रहेको विश्वास छ।

अहिले राम मन्दिरमाथि चौतर्फी अतिक्रमण भएको छ। ऐतिहासिक, धार्मिक, सांस्कृतिक महत्तायुक्त मन्दिर श्रीविहीन हुन पुगेपछि समिति बनाएर संरक्षण, सम्भार, हेरचाह गर्न थालिएको हो। २०४८ सालमा जीणोद्धार समिति बनाएर मन्दिर संरक्षण गरिँदै आएको छ।

गुठीका सदस्यसचिव राणाले मन्दिर संरक्षणको प्रयास भइरहेको दाबी गरे। जग्गामा भूमाफियाकै हात रहेको यो मन्दिरको अवस्थाले प्रमाणित गरेको सम्पदाविद्हरु बताउँछन्। कतिपय गुठीयार स्वयंले मन्दिरको जग्गा बाँडीचुँडी गरेका छन्। गुठी संस्थानका प्रवक्ता सरोज थपलियाले निजी गुठीबाट सञ्चालन भएकाले राम मन्दिर संस्थानको अधिकार क्षेत्रभित्र नपरेको बताए।

अन्नपूर्ण पोष्ट दैनिकबाट ।

Advertisement

Advertisement

Advertisement