चेम्बरले अनलाइनबाट उत्पत्तिको प्रमाणपत्र जारी गर्न सुरु गर्यो

Advertisement

काठमाडौं । नेपाल चेम्बर अफ कमर्शले उत्पत्तिको प्रमाणपत्र (सर्टिफिकेट अफ ओरिजिन) अब अनलाईन पद्दतीबाट जारी गर्ने व्यवस्था गरेको छ । चेम्बरको सचिवालय काठमाडौंमा शुक्रबार आयोजित कार्यक्रममा वाणिज्य तथा आपूर्ति सचिव केदारबहादुर अधिकारी र चेम्बर अध्यक्ष राजेशकाजी श्रेष्ठले अनलाईन प्रणालीको शुभारम्भ गरे ।

यसबाट निकासी प्रर्वद्धनको क्षेत्र अर्को युगमा प्रवेश भएको चेम्बरको भनाई छ । अनलाइनबाट उत्पत्तिको प्रमाणपत्र जारी गर्ने कुराले निकासी व्यापार क्रमशः डिजीटाइजेसन युगमा प्रवेश गर्दै यसलाई सहज, सरल, छिटो र झन्झटमुक्त बनाउन सहयोग पुग्ने अपेक्षा उसको छ ।

कार्यक्रममा सचिव अधिकारीले उत्पत्तिको प्रमाणपत्र जारी गर्दा नियमनमा बसी जारी गर्नुपर्ने बताए । यो प्रणाली भदौ १ गतेदेखि पूर्णरुपमा लागू हुने, निकासीको महत्वपूर्ण कार्य हो भन्दै उनले कति मूल्यमा कुन अवधिमा निकासी भयो ? जस्ता विषयको अनुगमन गर्न सजिलो हुने बताए ।

नेपाल राष्ट्र बैंक, भन्सार विभाग, वाणिज्य बैंक सबै निकासीको क्षेत्रमा डिजिटल युुगमा प्रवेश गरिसकेको सन्दर्भ र युएन ईस्क्याप र विश्व व्यापार संगठनले समेत पेपरलेस व्यापारमा आउन अभिप्रेरित गरेको सन्र्दभमा यस व्यवस्थाले ठूलो महत्व राख्ने अधिकारीले बताए ।

चेम्बर अध्यक्ष राजेशकाजी श्रेष्ठले सरकारले अवलम्बन गरेको डिजिटल इकोनोमी डिजिटल नेपालको अवधारणा अनुरुप नै विदेशी व्यापार जस्तो अत्यन्तै गतिशील क्षेत्रमा अनलाईन सर्टिफिकेट अफ ओरिजिलनको सफ्ट लञ्च हुनु समय सान्र्दभिक रहेको बताए । उनले मुलुकको निकासी अभिवृद्धि गर्न र व्यापार घाटा घटाउन कागजातकोे संख्या बढी भयो भन्ने सन्दर्भमा यो अत्यन्तै सकारात्मक भएको बताए ।

यसबाट लागत घट्ने र समयको बचत भई प्रभावकारितामा वृद्धि हुने श्रेष्ठको भनाई छ । चेम्बरले निकासीकर्ताहरुलाई यसको उपयोग र उपयोगीताबारे तालिमको आयोजना गरी बढी भन्दा बढी निर्यातकर्तालाई छिटोभन्दा छिटो यस प्रणालीमा आबद्ध गर्ने योजना रहेको बताएको छ ।

मण्डला सिस्टमका विप्लबमान सिंहले अनलाईन सफ्टवेयरको प्रयोग, उपयोगिता र सञ्चालन पद्दतीबारे बताएका थिए ।

Advertisement

Advertisement

Advertisement