एक साता मनसुन ढिलो हुँदा रोपाइँ गत बर्ष जति हुन सकेन्

Advertisement

काठमाडौं । झण्डै एक साता ढिलो गरी मौसम प्रणाली भित्रिए पनि यस वर्ष गत वर्षकै हाराहारीमा रोपाइँ सम्पन्न भएको छ । यही आइतबारसम्म ९४ दशमलव ४३ प्रतिशत भूभागमा रोपाइँ सम्पन्न भएको बाली विकास तथा कृषि जैविक विविधता संरक्षण केन्द्रले जनाएको छ ।

गत वर्षको तुलनामा यस वर्ष शुन्य दशमलव ९६ प्रतिशतले रोपाइँमा कमी आएको छ । गत वर्ष सोही अवधिमा ९५ दशमलव ३९ प्रतिशत भूभागमा रोपाइँ सम्पन्न भएको थियो । यस्तै आइतबारसम्म प्रदेश नं १ मा ९३ दशमलव ४९ प्रतिशत रोपाइँ सम्पन्न भएको छ । प्रदेश १ मा गत वर्ष ९४ दशमलव ४४ प्रतिशत रोपाइँ भएको थियो । मुख्य धान क्षेत्र मानिएको प्रदेश नं २ मा गत वर्षको तुलनामा झिनो मात्रामा रोपार्ईं बढेको छ । प्रदेश नं २ मा गत वर्ष ९३ दशमलव १७ प्रतिशत रोपाइँ भएकामा यस वर्ष ९३ दशमलव ३१ प्रतिशत रोपाइँ भएको केन्द्रले जनाएको छ ।

प्रदेश नं ३ मा पनि गत वर्षको तुलनामा रोपाइँ बढेको छ । गत वर्ष ९४ दशमलव २२ प्रतिशत रोपाइँ भएकामा यस वर्ष ९६ दशमलव ९५ प्रतिशत रोपाइँ सम्पन्न भएको छ । गण्डकी प्रदेशमा भने रोपाइँ घटेको छ । सो प्रदेशमा गत वर्ष ९६.८७ प्रतिशत रोपाइँ भएको थियो । यस वर्ष झण्डै आठ प्रतिशतले रोपाइँ खुम्चिएको छ । आइतबारसम्म गण्डकी प्रदेशमा ८८ दशमलव ९२ प्रतिशत मात्र रोपाइँ भएको छ ।

यसैगरी प्रदेश नं ५ र कर्णाली प्रदेशमा क्रमशः ९४ दशमलव ३९ र ९६ दशमलव १६ प्रतिशत रोपाइँ सम्पन्न भएको केन्द्रले जनाएको छ । गत वर्ष ती प्रदेशमा क्रमशः ९६ दशमलव १९ र ९८ दशमलव ३९ प्रतिशत रोपाइँ भएको थियो । सुदूरपश्चिम प्रदेशमा भने गत वर्षकै बराबर अर्थात् १०० प्रतिशत क्षेत्रमा रोपाइँ सम्पन्न भएको छ ।

पूर्व क्षेत्रका तुलनामा पश्चिमी क्षेत्रमा रोपाइँ बढी भएको केन्द्रले जनाएको छ । प्रदेश नं १, २ र ३ मा बढी वर्षा हुने अनुमान गरिए पनि पश्चिमी प्रदेशमा बढ्ता वर्षा भएको मौसम पूर्वानुमान विभागले जनाएको छ ।

पश्चिमी भेकमा वर्षा बढेकाले रोपाइँको प्रतिशत बढेको हो । विभागका वरिष्ठ मौसमविद् बरुण पौडेलले पूर्वी क्षेत्रको तुलनामा पश्चिमी क्षेत्रमा बढी वर्षा भएको बताए ।

गत वर्षको तुलनामा यस वर्ष मनसुन केही ढिला शुरु भएको थियो । नियमित अवस्थामा जुन १० तारिखबाट नेपालमा मनसुन भित्रिनुपर्नेमा यस वर्ष झण्डै एक साता ढिला मनसुन प्रणालीको विकास भएको विभागले जनाएको छ ।

“यस वर्ष भारी वर्षा नभई औसत वर्षा भएको पाइएको छ”, वरिष्ठ मौसमविद् पौडेलले भने, “समग्रमा मुलुकभर यस वर्ष एक हजार ५०० मिलिमिटर वर्षा भएको छ ।”

कूल १३ लाख ७१ हजार ७०६ हेक्टर क्षेत्रफलमा रोपाइँ गर्न सकिने भए पनि यस वर्ष १२ लाख ९५ हजार २८२ हेक्टर क्षेत्रमा रोपाइँ सम्पन्न भएको केन्द्रले जनाएको छ । सिँचाइ प्रणालीको भरपर्दो व्यवस्था नहुँदा अधिकांश क्षेत्रका किसान आकाशे पानीको भर पर्न बाध्य छन् ।

Advertisement

Advertisement

Advertisement