काठमाडौं । नेपालमा बसेर स्वदेशमा आर्थिक अपराध गरिरहेका चिनियाँविरुद्ध प्रहरीले ‘स्विप अपरेसन’ थालेको छ । अवैध रूपमा बसेका तथा आर्थिक अपराधमा संलग्न एक सय २२ जना चिनियाँलाई प्रहरीले सोमबार काठमाडौंका विभिन्न स्थानबाट पक्राउ गरेको छ । विदेशी नागरिक यति ठूलो संख्यामा पक्राउ परेको यो नै सबैभन्दा ठूलो अपरेसन हो । पक्राउ परेकामध्ये धेरैजसो इन्टरनेटमार्फत हुने जुवा, सट्टेबाजी र अन्य ठगीसम्बन्धी आर्थिक अपराधमा संलग्नहरू छन् । चिनियाँ प्रहरीको अनुरोधमा पक्राउ परेका उनीहरूलाई लिन उतैबाट चार्टर्ड जहाज आउँदै छ ।
चिनियाँहरूलाई प्रहरीले ठाउँठाउँबाट र समूह–समूहमा पक्राउ गरेको छ । चिनियाँ अधिकारीले दिएको सूचीकै आधारमा मनमैजुका चार, बाँसबारीका दुई र बुढानीलकण्ठको एक घरमा छापा हानी प्रहरीले उनीहरूलाई पक्राउ गरेको थियो । तर, यो अभियान अभैm जारी रहने प्रहरी अधिकारीले जनाएका छन् । ‘चिनियाँ पक्षले ६ सयजनाको सूची दिएको छ,’ एक उच्च प्रहरी अधिकारीले भने, ‘सोचेभन्दा थोरै मात्र पक्राउ परे, धेरै भागिसकेका हुन सक्छन्, यो अपरेसन जारी रहन्छ ।’
बाँसबारी, नयाँबजार क्षेत्रमा घर नै भाडामा लिएर बस्दै आएका चिनियाँ नागरिक पर्यटक भिसामा थिए । उनीहरूबाट करिब पाँच सय ल्यापटप तथा मोबाइल बरामद गरिएको छ । ‘उनीहरूबाट ल्यापटप, मोबाइललगायत विद्युतीय सामग्री बरामद भएका छन्, प्रहरीले ती सामग्रीमाथि पनि अनुसन्धान गर्दै छ,’ सिआइबीका निर्देशक डिआइजी नीरज शाहीले भने ।
प्रहरी, राष्ट्रिय अनुसन्धान विभाग र अध्यागमन विभागले उनीहरूविरुद्ध सूचना संकलन गरेर पृष्ठभूमि तयार पारेका थिए । केन्द्रीय अनुसन्धान ब्युरो, महानगरीय अपराध महाशाखा र स्थानीय प्रहरीले फिल्डमा अपरेसन चलाए । कारबाहीका लागि चीनबाट समेत एक दर्जन प्रहरी अधिकारी तथा आइटीविज्ञ गत साता काठमाडौं आएका थिए । नेपालबाहेक फिलिपिन्स, मलेसिया, सिंगापुरलगायत पूर्वी एसियाली देशहरूमा अपरेसन गर्न चिनियाँ प्रहरी एकैपटक पुगेको छ । यसका लागि नेपाल र चीनका अधिकारीहरू तीन महिनादेखि तयारीमा थिए । नेपालमा उनीहरूले अपराध गरेको नभेटिएकाले यहाँ फौजदारी अभियोगमा कारबाही हुने सम्भावना न्यून छ । उनीहरूलाई भिसासम्बन्धी कसुरमा कारबाही गरेर निष्कासन गर्ने र चिनियाँ अधिकारीलाई बुझाउने गृह मन्त्रालयको तयारी छ । लगत्तै, नेपाल सरकारले निष्कासन गरेपछि उनीहरूलाई एकैपटक चीन पुर्याउन उतैबाट चार्टर्ड विमान ल्याइँदै छ । स्वदेशमै लगेर थप अनुसन्धान गर्ने चीनको तयारी छ ।
नेपालमा बसेर चीनमा अपराध गर्ने प्रवृत्ति बढेपछि चीनले राष्ट्रपति सी जिनपिङको नेपाल भ्रमणको क्रममा सुपुर्दगी सन्धि गर्ने तयारी गरेको थियो । तर, त्यसले तिब्बती शरणार्थीलाई समेत समेट्ने भन्दै विरोध भएपछि सहमति हुन सकेन । ‘सन्धि भएको अवस्थामा उनीहरूको सुपुर्दगी नै हुन्थ्यो,’ गृह मन्त्रालयका एक अधिकारी भन्छन्, ‘सन्धि नभएकाले निष्कासनको प्रक्रियामार्फत चीन पठाउन लागिएको हो, यसले चिनियाँहरूको आपराधिक गतिविधि पनि नियन्त्रण हुने अपेक्षा छ ।’
चिनियाँ पर्यटकलाई आकर्षित गर्न भन्दै चार वर्षअघि केपी ओली नेतृत्वको तत्कालीन सरकारले चिनियाँ पर्यटकसँग भिसा शुल्क नलिने निर्णय गरेको थियो । सो निर्णयले नेपालमा चिनियाँ पर्यटकको आगमनसँगै अपराध पनि बढ्न थालेको छ । साथै, भिसा शुल्कबापत करोडौँ रुपियाँ पनि राज्यले गुमाएको छ । चीनजस्तो धनी देशले नेपालीसँग भिसा शुल्क लिने, तर नेपालीले भिसा शुल्क नलिने व्यवस्था उपयुक्त नभएको अध्यागमन अधिकारीहरू बताउँछन् । ‘पर्यटन वर्षलगत्तै भिसा शुल्क नलाग्ने व्यवस्था हटाउनेबारे छलफल भइरहेको छ,’ एक अधिकारीले भने, ‘निःशुल्क भिसाकै कारण मात्र खासै चिनियाँ पर्यटक बढेका होइनन्, बरु यसले समस्या बढाएको छ ।’
नयाँपत्रिका दैनिकबाट ।