ढुंगानामाथिको अभद्र व्यवहारमा आयोगद्धारा आचार्य मुख्य दोषी, मिश्र र ढकालको संलग्नता ठहर

Advertisement

काठमाडौं । राष्ट्रिय महिला आयोगले नेपाल राष्ट्र बैंककी डेपुटी गभर्नर डा. नीलम ढुंगानामाथि गत पुस २७ मा नगरकोटमा राष्ट्र बैंकको कार्यक्रममा भएको अभद्र व्यवहारको घटनामा राष्ट्र बैंकको तत्कालीन निर्देशक थानेश्वर आचार्यलाई मुख्य दोषी औंल्याउँदै कार्यकारी निर्देशक देवकुमार ढकाल र डेपुटी गभर्नर बमबहादुर मिश्रको समेत नियोजित संलग्नता ठहर गरेको छ । 

उक्त घट्नापछि डा. ढुंगानाले महिला आयोगसमक्ष दिएको निवेदनमा आयोगले छानविन गरेपछि तयार गरेको प्रतिवेदनमा आचार्यलाई मुख्य दोषी औंल्याउँदै घट्नामा ढकाल र मिश्रको समेत संलग्नता ठहर गरेको हो । साथै, आयोगले ढुंगानालाई थप कानुनी उपचारको लागि अदालती प्रक्रियामा जान सुझाव पनि दिएको छ । 

Advertisement

राष्ट्र बैंकले आफ्ना कर्मचारीहरुको ‘स्ट्रेस म्यानेजमेन्ट’ भनेर उक्त दिन नगरकोटमा साँझ कार्यक्रम राखेको थियो । सो दिन मिश्र र ढकालसँगै एउटै टेबलमा मदिरा पिरहेका आचार्यले नशाको सुरमा निकै परको दुरीमा रहेकी डेपुटी गभर्नर ढुंगानामाथि दौडेर गई अभद्र व्यवहार गरेका थिए । कार्यस्थलमा यौनजन्य हिंसा गरेको ठहर गर्दै राष्ट्र बैंकले छानविनको आधारमा आचार्यलाई सेवाबाट बर्खास्त गरिसकेको छ ।

नगरकोट घट्नापछि आचार्यलाई जोगाउने निकै प्रयास भए पनि आन्तरिक र बाह्य दबाबपछि आचार्यलाई जागिरबाट बर्खास्तसम्मको कारवाही गर्न गभर्नर अधिकारी बाध्य भएका हुन् । आचार्यलाई साथ दिँदै आएका मिश्र र ढकाल पनि नैतिक रुपमाकमजोर बन्न पुगेका छन् । पछिल्लो समयमा निलम्बित आचार्यले आफूमाथिको कारवाही अन्यायपूर्ण भएको भन्दै अदालत गएपछि अदालतले यससम्वन्धमा लिखित कारण माग गरेको छ । यता अर्धन्यायीक संस्था महिला आयोगले आचार्यलाई दोषी औंल्याउँदै उनीविरुद्ध आवश्यक कारवाहीका लागि अदालत जान सुझाव दिए पनि ढुंगानाले भने अझै मुद्दा भने दायर गरेकी छैनन् । 

त्यसो त आचार्य नगरकोट घट्नामा मात्रै होइन, पटक पटक यस्ता घटनामा मुछिँदै आएका व्यक्ति हुन् । उनले २०७५ असोजमा पनि पोखरामा यस्तो ठूलो घट्ना घटाएका थिए । तत्कालिन समयमा लघुवित्त सुपरीवेक्षण विभागको उपनिर्देशक हुँदा निरीक्षण गर्न पोखरा गएका थानेश्वर आचार्यले राष्ट्र बैंकको स्थानीय गेष्ट हाउस अगाडि रहेका चार–पाँच जना महिलालाई मदिरा खाएको नशामा समात्न गई यौन हिंसाजन्य कार्य गरेको, अश्लिल शब्दहरु प्रयोग गरेको, सोही समयमा गेष्ट हाउसकै सुरक्षार्थ खटिएका सुरक्षा गार्डकी अविवाहित छोरी कोठामा एक्लै रहेको बेला प्रवेश गरी अमर्यादित कार्य गरेको राष्ट्र बैंक स्रोतको भनाई छ । 

उक्त घट्नापछि राष्ट्र बैंकले निर्देशक मीना पाण्डेको संयोजकत्वमा बनाएको छानविन समितिले आचार्यलाई दोषी औंल्याएको थियो । यद्यपि समितिले यथेष्ट प्रमाण नभएको नाममा एक पटकलाई सचेत गराउन सिफारिस गरेअनुसार उनलाई २०७५ चैतमा राष्ट्र बैंकले सचेत गराइएको पत्र दिनुका साथै पोखराबाट काठमाडौ सरुवा गरिएको थियो । 

त्यस्तै, भक्तपुर बस्दै आएका आचार्यले आफू बसेको ठाउँमा पनि यस्तै घट्ना घटाएर प्रहरीको हिरासतमा समेत पुगेका थिए । मदिराको नशामा घर वरपरका महिलामाथि अभद्र व्यवहार गरेपछि पीडितहरुले प्रहरी चौकीमा उजुरी गरेका थिए । राष्ट्र बैंकको टक्सार विभागको ढुकुटीको चावी बोकेर घर गएका आचार्य प्रहरीले चौकीमा थुनिएको खबरपछि कार्यालयबाट अर्को कर्मचारीलाई चावी लिन पठाएर लकर खोल्ने काम भएको थियो । 
  
त्यसबाहेक राष्ट्र बैंकको भैरहवा कार्यालयमा कार्यरत रहँदा पनि आचार्यले आफ्नै कार्यालयकी महिला कर्मचारीको विवाहमा असभ्यता प्रस्तुत गरेका थिए । कार्यालयको कामको सिलसिलामा नै काठमाडौंबाट भैरहवा जान लाग्दा मदिराको नशामा अचेत अवस्थामा जहाजमा चढ्न खोजेकाले उनलाई निकालिएको थियो । भैरहवामा यस्ता धेरै घटना घटाएका कारण आचार्यलाई दुई महिनामै काठमाडौं ल्याउनुपरेको राष्ट्र बैंक स्रोतको भनाई छ । 

भैरहवा सरुवा हुनुअघि उनी कानुन महाशाखाको प्रमुख थिए । सोही बेला उनले गभर्नर अधिकारीको सेवा गरेर खुशी बनाउने अवसर पाएका थिए । मदिराको नशा चढेपछि महिला देख्न नहुने प्रवृत्तिका आचार्य पुर्नवहाली भएर राष्ट्र बैंक आए त्यहाँ कार्यरत सम्पूर्ण महिला कर्मचारी असुरक्षित हुने जोखिम देखिन्छ ।

Advertisement