काठमाडौँ । सुन तस्करीमा संलग्न चिनियाँ नागरिक माओ विङ र माफु निङलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाटै पक्राउ परे । गृह मन्त्रालयको सचिवस्तरीय निर्णयले साउन १२ गते आवश्यक जरिवाना तिराएर उनीहरुलाई दुई वर्ष नेपाल प्रवेश गर्न नपाउने गरी निष्कासन गरियो ।
चोरीमा संलग्न चीनकै वाङ सीलाई साउन पहिलो साता एक वर्षसम्म नेपाल आउन नपाउने गरी निष्कासन गरियो । बुधबारमात्रै १२२ जना चिनियाँ नागरिकलाई पर्यटक भिसामा आएर अवैध क्रियाकलाप गरेको भन्दै सरकारले निष्कासन गरेर चीन फर्काएको छ । उनीहरु अब चार वर्ष नेपाल आउन पाउने छैनन् ।
चालु आर्थिक वर्षमा मात्रै विभिन्न आपराधिक घटनामा जोडिएका पाँच र बुधबारसमेत गरेर १२७ जना चिनियाँ नागरिक निष्कासनमा परेका छन् । बैंकिङ प्रणालीलाई नै चुनौती दिनेगरी गत भदौ १४ गते एटीएमको स्वीच ह्याक प्रकरणमा छजना चिनियाँ नागरिक काठमाडौँबाट पक्राउ परे । पक्राउ परेका झू लियाङ्याङ, लुओ जियालेइ, लिन जियानमेङ, किऊ युनकिङ र चेन विनविन छु लुई लीले बैंकिङ कसुरमा मुद्दा खेपिरहेका छन् ।
जापानका ताकेनाका मिकुलाई लागुऔषध मुद्दामा गत असार ६ गतेको गृह मन्त्रालयको सचिवस्तरीय निर्णयले १० वर्ष नेपाल प्रवेशमा रोक लगाउने गरी निष्कासन गरिएको छ । निष्कासनमा परेकाहरु नक्कली भिसा, जाली पासपोर्ट, ठगी, चोरी, सुन तस्करी र लागुऔषधमा संलग्न भएकाहरु छन् । कतिपय नेपाललाई ट्रन्जिट बनाएर युरोप अमेरिका जान प्रयास गर्नेहरुसमेत पक्राउ परी निष्कासन गरिएको अध्यागनन विभागका अध्यागमन अधिकृत बैकुण्ठराज रेग्मी बताउँछन् ।
विगत तीन वर्षदेखिको विवरणमा विदेशीहरु निष्कासन हुने क्रम बढेको देखिन्छ । पर्यटन भिसामा आएर त्यसको दुरुपयोग गरी आपराधिक क्रियाकलापमा लाग्ने र भिसा सकिएर पनि बढी समय बस्ने दुवै प्रकृतिका घटनामा निष्कासन गरिएको दर वृद्धि भएको विभागको अभिलेखबाट पुष्टि हुन्छ । यसरी निष्कासन हुनु भनेको आपराधिक क्रियाकलापमा समेत विदेशीको संलग्नता बढ्नु पनि हो ।
महानगरीय प्रहरी कार्यालयका प्रमुख प्रहरी नायब महानिरीक्षक विश्वराज पोखरेल निष्कासनको दर बढ्नु पनि एक किसिमले आपराधिक क्रियाकलाप बढेको भन्न सकिने भए पनि त्यो नै पर्याप्त आधार भने नभएको जिकिर गछन् ।
आपराधिक गतिविधि गर्ने विदेशी व्यक्तिहरु प्रवेश पाएका र त्यस्ता घटनामा संलग्न व्यक्तिहरु पटकपटक पक्राउ पर्नुले विदेशी व्यक्तिको चलखेल बढेकामा भने नकार्न नसकिने उनको भनाइ छ । विदेशीबाट हुने अपराध रोक्न चुस्त अभिलेखीकरण गरेर विदेशी व्यक्तिका गतिविधिको निगरानी गर्ने संयन्त्र निर्माण गर्नुपर्ने पोखरेल बताउँछन् । नेपालमा प्रवेश पाएपछि विदेशीहरुले केके गरिरहेका छन् भन्ने अनुगमन गर्ने संयन्त्र नेपालमा छैन । पछिल्लो समयमा केही सुधार भए पनि संयन्त्र प्रभावकारी बन्न सकिरहेको देखिँदैन ।
अध्यागमन विभागको अभिलेखमा आब २०७३/७४ मा कुल ४०० जना विदेशीलाई निष्कासन गरिएको थियो । आव २०७४/७५ मा ६०० भन्दा बढी निष्कासनमा परे । गत आर्थिक वर्षमा ६६८ जनालाई सरकारले निष्कासन गरेको छ । चालु आर्थिक वर्षमा मात्रै ४४६ जना निष्कासन भइसकेका छन् ।
प्राप्त विवरणमा यसरी निष्कासन हुने मध्य आपराधिक क्रियाकलापमा संलग्न विदेशीको सङ्ख्या पनि क्रमशः बढ्दो छ । विभागले दिएको जानकरीअनुसार आव २०७३/७४ मा विभिन्न आपराधिक गतिविधिमा संलग्न ८७ विदेशीलाई निष्कासन गरिएको थियो । आव २०७४/७५ मा बढेर ९९ पुग्यो । गत आर्थिक वर्षमा १२७ जना विदेशीलाई आपराधिक क्रियाकलापमा संलग्न रहेको पाइएपछि जरिवाना तिराएर निश्चित समय नेपाल प्रवेश गर्न नपाउने गरी निष्कासन गरिएको छ । चालु आर्थिक वर्षको पाँच महिनामा १२२ चिनियाँ नागरिकबाहेक मात्रै ४९ जना विदेशी निष्कासनमा परिसके ।
उनीहरु नक्कली भिसा, जाली पासपोर्ट, ठगी, चोरी, सुन तस्करी, लागुऔषध, हातहतियार ओसारपसार, यौन दुराचार, अभद्र व्यवहार कल बाइपास, सङ्गठित अपराध जस्ता घटनामा संलग्न थिए । उनीहरु अदालतको कारवाही झेलेर अध्यागमन हुँदै निष्कासनमा परेका व्यक्ति हुन् । निष्कासनमा परकामध्ये सबैभन्दा धेरै प्रवेशाज्ञामा तोकेकोभन्दा बढी समय बस्नेहरु रहेका विभागका निर्देशक रामचन्द्र तिवारी बताउँछन् । रासस