गायक अमात्यको जग्गा कीर्ते गरी १९ करोड ऋण लिनेहरुलाई विशेष अदालतले सजाय सुनायो

Advertisement

काठमाडौं । विशेष अदालतले गायक योगेश्वर अमात्यको जग्गा कीर्ते गरेर ऋण लिने दुई जनालाई चार–चार वर्ष कैद सजायको फैसला गरेको छ ।

सोही मुद्दामा थप दुई जनामाथि दुई वर्ष र चार जनामाथि एक वर्षको दरले कैद सजायको फैसला गरिएको छ । विशेष अदालतका सदस्यहरू खुसीप्रसाद थारु, तेजनारायण सिंह राई र रितेन्द्र थापाको इजलासले आइतबार यस मुद्दामा सजाय सुनाएको हो । अमात्यको बारास्थित जग्गाको कीर्ते डकुमेन्ट तयार गरी काठमाडौंको न्यूरोडस्थित कुमारी बैंकबाट १९ करोड रूपियाँ ऋण लिएको पाइएपछि मुद्दा दायर भएको थियो ।

Advertisement

अदालतले पाँच जनालाई ७ करोड ६० लाख र चार जनालाई ३ करोड ८० लाख रुपियाँका दरले जरिवाना पनि गरेको छ । उनीहरूविरुद्ध १९ करोड बिगो कायम गरेर मुद्दा दायर भएको थियो । अमात्यको १२ बिघा जग्गाको कीर्ते गरेर ऋण लिएको आरोपमा सीआईबीले अनुसन्धान गरेको थियो । त्यसपछि सम्पत्ति शुद्धीकरण विभागले पनि मुद्दा चलाएको थियो।

चार बर्षको कैद सजाय पाउनेहरुमा रेशम सिलवाल र उविन्द शाक्य छन् भने दुई बर्ष कैद सजाय पाउने मुक्तिनाथ गौतम र एसकुमार महर्जन छन् । त्यस्तै, एक–एक बर्ष सजाय पाउनेमा रामप्रसाद अधिकारी, ईश्वर पोखरेल, शोभा शाक्य र कुशन प्रधान छन् । 

यस घटनामा बैंकिङ कसुरसमेत गरेको भेटिएकाले बैंकिङ कसुरको आरोपमा समेत कारबाही हुनुपर्ने भनी ब्यूरोले प्रतिवेदन तयार गरेको थियो । फर्जी कागजातका आधारमा ऋण लिएको र गलत रुपमा बैंकिङ कारोबार गरेको भनी प्रहरीले मुक्तिनाथ गौतम, यसकुमार महर्जन, सोनु ठाकुर, राजेश कुमार चौरसिया र कुशन प्रधानलाई मुद्दा चलाउने राय दिएको थियो । गलत मूल्यांकन गरेको आरोपमा राजेशकुमार चौरसिया पनि त्यसमा मुछिएका थिए ।

कीर्ते कागजात तयार गर्नुका साथै बैंकिङ कसुरसमेत गरेकाले उनीहरूमाथि बैंकिङ कसुरमा पनि कारबाहीको योजना बनेको थियो । तर महान्यायाधिवक्ता कार्यालयमा भने मुद्दा नचलाउने निर्णय गरेको थियो । विशेष अदालतले नक्कली कागजातका आधारमा निकालिएको ऋणको रकम भुक्तानी लिनेहरूमाथि सम्पत्ति शुद्धीकरणको आरोपमा दोषी ठहर गरेको हो ।

Advertisement

Advertisement