रुकुम घट्नाः वडाध्यक्षसहित २३ जनालाई पुर्पक्षका लागि थुनामा पठाउन अदालतको आदेश

Advertisement

काठमाडौँ । जिल्ला अदालत रुकुमले सोतीगाँउ समूहिक हत्याकाण्डमा चौरजहारी नगरपालिका वडा नं ८ का वडाअध्यक्ष डम्बरबहादुर मल्लसहित २३ जनालाई पुर्पक्षका लागि थुनामा पठाउने आदेश दिएको छ ।

अदालतले उक्त घट्नामा दोषी औंल्याइएका चार जनाबाहेक सबैलाई पुर्पक्ष थुनामा राख्ने आदेश दिएको हो । वडाध्यक्ष मल्लसहितका मानिसहरुलाई सत्तारुढ दल नेकपाका एक नेता जनार्दन शर्माले संरक्षणको प्रयास गरे पनि अदालतले दोषीको रुपमा हेर्दै पुर्पक्षका लागि थुनामा पठाउने निर्णय गरेको हो ।

न्यायाधीश विद्याराज पौडेलको इजलासले घटनामा जोडिएकी किशोरीकी आमालाई एक लाख रुपियाँ धरौटीमा छाड्न आदेश दिएको छ भने आरोपितहरु इन्द्रबहादुर मल्ल, तिलबहादुर मल्ल र दिपेन्द्र चन्दलाई साधारण तारेखमा छाड्न आदेश दिएको छ । त्यस्तै, यस घट्नामा जोडिएका दुई नाबालकलाई यसअघिकै आदेशले बाल सुधारगृहमा पठाइसकिएको छ ।

कारार चलान हुनेमा वडाध्यक्ष मल्लसहित डिल्ली मल्ल ठकुरी, प्रेमबहादुर ठकुरी, सन्तोष मल्ल, मानबहादुर मल्ल, टोपबहादुर मल्ल, परिवर्तित नाम ५४, ३६ (१) र (३) तिलक चन्द, हर्कबहादुर मल्ल, विनोद मल्ल, नेत्रबहादुर मल्ल, रेशमबहादुर मल्ल, विष्णु मल्ल, इर्दबहादुर भनिने इन्द्रबहादुर ठकुरी, लिपेन्द्रकुमार मल्ल, धनराज राना, नविन कुमार घर्ती मगर, विराज पुन मगर, भीमबहादुर पुन मगर, रमित पुन मगर, सर्वजित भन्ने सविन पुन र मोहन पुन मगर छन् ।

सोती हत्याकाण्डमा संलग्न भएको भन्दै गत आइतबार सरकारी वकीलको कार्यालयले ३४ जनाविरुद्ध अभियोग दर्ता गरेको थियो । यस मुद्दामा वादीको तर्फबाट ५ जना सरकारी वकिलले, जाहेरवालाको तर्फबाट २० जना र प्रतिवादीका तर्फबाट ७ गरी ३२ जना वकिलले बहस गरेका थिए ।
जाजरकोटका नवराज विकले आफ्नी प्रेमिकालाई लिन समूहहित गत जेठ १० गते प्रेमिकाको घर रहेको सोतीमा आएपछि स्थानीय एक समूहले आक्रमण गरेको थियो । आक्रमणमा छ जनाको ज्यान गएको थियो भने अरु घाइते भएका थिए । घट्नामा नवराज विकसहित गणेश बुढा, लोकेन्द्र सुनार, सन्जिव विक र गोविन्द शाही तथा रुकुम पश्चिमको चौरजहारी नगरपालिकाका टीकाराम नेपालीको मृत्यु भएको थियो । घट्नापछि विशेषगरे दलित समुदायबाट दोषीलाई कारवाही गर्न चर्को आवाज उठेको थियो ।

Advertisement

Advertisement

Advertisement