काठमाडौं । व्यक्तिगत दुर्घटना बीमा महत्वपूर्ण रहे पनि यसमा मानिसहरूको आकर्षण भने न्यून रहेको बीमा कम्पनीहरूले बताएका छन् । थोरै शुल्कमा नै बीमा गरेर धेरै लाभ लिन सकिने भए पनि यस बीमामा आकर्षण कम देखिएको उनीहरूको तर्क छ ।
नेको इन्स्योरेन्स कम्पनीका प्रमुख कार्यकारी अधिकृत (सीईओ) अशोक खड्काले सय रूपियाँमा एक लाख रूपियाँ बराबरको जोखिम बहन हुने भएकाले व्यक्तिगत दुर्घटना बीमा अन्य बीमाभन्दा फरक र महत्वपूर्ण रहे पनि अपेक्षाअनुसार यो बीमा बढ्न नसकेको स्वीकार गरे । उनले भने, ‘व्यक्तिगत दुर्घटना बीमा भनेको आफ्नै जीवनमा आवश्यक हुने भएकाले यो बीमा गर्नु आवश्यक छ । अहिले व्यक्तिगत दुर्घटना बीमाका लागि कर छुटको समेत व्यवस्था गरिएको छ । हाम्रो देशमा भैपरी आउने घट्ना धेरै हुने भएको यसको महत्व धेरै छ । विकास निमार्णका काममा पनि साना ठूला दुर्घटना घट्ने सम्भवना धेरै हुन्छ । सोही कारण यो बीमा आवश्यक छ । तर महत्व अनुसार भने यो बीमामा सहभागी हुनेको संख्या निकै कम छ ।’
खड्काले थोरै बीमाशुल्क तिरेर धेरै लाभ लिन मिल्ने भएकाले व्यक्तिगत दुर्घटना बीमा महत्वपूर्ण रहेको बताए । व्यक्तिगत दुर्घटना बीमामा बीमालेख बहाल रहेको अवधिभर बीमितलाई कुनै बाहिरी तथा देख्न सकिने माध्यमबाट दुर्घटना भएमा कम्पनीले भुक्तानी दिन्छ । उक्त भुक्तानी बीमित वा बीमितले इच्छाएको व्यक्ति तथा उनका कानुनी हकदारहरूले पनि पाउने व्यवस्था छ ।
तर सुविधा र सहुलियत दिएअनुसार व्यक्तिगत दुर्घटना बीमामा मानिसहरूको आकर्षण बढाउन नसक्नुमा यसलाई सरकारले अनिवार्य नगर्नु, बीमाको महत्वबारे पर्याप्त शिक्षा र जनचेतना नहुनु, बीमाको पहुँचमा कमी प्रमुख कारणको रुपमा हेरिएको छ ।
बीमितले भुक्तानी पाउने अवस्थाहरू
चोट पटक लागेको ३६५ दिनभित्र बीमित व्यक्तिको मृत्यु भएमा बीमाङ्क रकमको सतप्रतिशत भुक्तानी हुन्छ ।
दुबै आँखाको दृश्य शक्ति, दुबै हातहरु वा दुबै खुट्टाहरूको पूर्ण र अपुरणीय क्षती भएमा बीमाड्ढ रकमको शतप्रतिशत भुक्तानी हुन्छ ।
एउटा हात वा एउटा खुट्टा वा एउटा आँखाको दृश्य शक्तिको पूर्ण र अपुरणीय क्षती भएमा बीमाड्ढ रकमको पचास ५० प्रतिशत भुक्तानी हुन्छ ।
स्थायीरुपमा आंशिक अशक्तता भएमा सम्वन्धित् चिकित्सकले निर्धारण गरेको अशक्तताको अवस्थाको आधारमा रकम भुक्तानी हुन्छ ।
एक हात वा खुट्टाको भौतिक बिच्छेद भन्नाले हातको हकमा नाडी वा सो भन्दा माथि र खुट्टाको हकमा गोली गाँठो वा सो भन्दा माथिको भाग सम्झनु पर्ने बीमालेखमा उल्लेख गरिएको छ ।
बीमितको उमेर १८ बर्षदेखि ६५ बर्षसम्मलाई तोकिएको छ । त्यस्तै, बीमांक रकम अधिकतम एक लाख ५० हजार रूपियाँ तोकिएको छ ।
यस्ता छन् अपवाद जसमा बीमा दाबी लाग्दैन
एकभन्दा बढी सुविधाहरूमा दावी परेको अवस्थामा बीमा दावी बीमाङ्क रकमभन्दा बढि हुने व्यवस्था छैन ।
बीमितले जानी–जानी आफै गराएको चोट, स्वघात, आत्महत्या वा आत्महत्याको प्रयासमा बीमा दाबी लाग्दैन ।
मादक पदार्थ सेवनको कारणबाट हुन गएको चोटपटक वा रोगमा बीमा दाबी लाग्दैन ।
जोखिमपूर्ण खेलको कारणबाट हुन गएको चोटपटक वा रोगमा बीमा दाबी लाग्दैन ।
बीमितले अपराधिक मनसायबाट कुनै कानुन उल्लंघन गर्दा उत्पन्न भएको वा सो को परिणामबाट हुने क्षतीमा बीमा दाबी लाग्दैन ।
युद्ध, गृहयुद्ध, सैनिक बिद्रोह, क्रान्ति, नागरिक उपद्रवको कारणबाट हुन गएको चोटपटक वा रोगमा बीमा दाबी लाग्दैन ।
प्रसुति वा गर्भधारणको कारणबाट हुनगएको मृत्यु वा अशक्ततामा बीमा दाबी लाग्दैन ।
यस्तो छ व्यक्तिगत दुर्घटना दाबी गर्ने प्रक्रिया
घट्ना घट्ने बित्तिकै बीमितले बीमा कम्पनीमा जानकारी गराउनुपर्छ । त्यसपछि बीमा दाबीका लागि आवश्यक कागजातहरू संकलन गर्नुपर्छ ।
साथै, बीमालेखको सक्कल, पूर्णरूपले भरिएको दाबी फाराम, पोष्टमार्टम रिपोर्ट, सम्बन्धित गाउँपालिका नगरपालिका वडाको मुचुल्का र पूर्ण वा आशिंक क्षती भएको प्रमाणपत्र बीमा कम्पनीमा अनिवार्यरूपमा पेश गर्नुपर्ने व्यवस्था रहेको बीमा समितिले जानकारी दिएको छ ।