काठमाडौ । देशव्यापी रूपमा बाढी पहिरोका कारण ठूलो जनधनको क्षति भएको छ । तर सम्पत्ति बीमामा सहभागीता नगन्य हुँदा यस्ता प्राकृतिक विपत्तिमा हुने क्षतिको क्षतिपूर्ति पाउनबाट आम नागरिक बन्चित हुने अवस्था छ । बीमा कम्पनीहरूले बाढीको जोखिमले नागरिकलाई हरेक बर्खामा सताए पनि सम्पत्ति उनीहरूमा बीमा गर्न खासै आकर्षण नदेखिएको बताएका छन् ।
उनीहरूले दिएको जानकारी अनुसार हरेक साल बाढी–पहिरो प्रभावित क्षेत्रबाट निकै कम मात्रामा बीमा दाबी पर्ने गर्छ । यसको मतलब जोखिम रहेको स्थानका नागरिकले बीमामा त्यति चासो देखाउँदैनन् भन्ने नजिर हो । बीमा दावी धेरै नपर्नु एकातिर व्यवसायिक हिसावले फाइदा जस्तो देखिए पनि अर्को तर्फ बीमामा मानिसरूको कम आकर्षण पनि हो भन्दै दाबी पर्दा बीमितले भुक्तानी पाउँने भएकाले व्यवसायीक र सेवामूलक दुवै पाटोमा बीमा जोडिने बताउँछन् ।
प्राईम लाइफ इन्स्योरेन्स कम्पनीका उपप्रमुख कार्यकारी अधिकृत (डेपुटी सीईओ) चिरायु भण्डारीका अनुसार नेपालमा बाढी–पहिरो जस्ता प्राकृतिक विपत्तिको जोखिम हुने ठाउँ धेरै छन् । तर त्यस्ता विपत्तिमा दाबी कम आउने गरेबाट सम्पत्ति बीमामा मानिसहरूको सहभागिता निकै कम भइरहेको देखिन्छ । जोखिम रहेका स्थानबाट बीमा गर्दा बीमितले नै राहात पाउने भण्डारी बताउँछन् ।
कर्पोरेट नेपालसँग उनले भने, ‘अहिले हामीले देशव्यापी रूपमा बाढी पहिरोले नागरिकलाई दुःख दिइरहेका दृश्य देखेका छौं । बाढिले धेरै घर बगाएको छ । तर यो अहिलेको मात्र नभई हरेक वर्खामा आउँने समस्या हो । यस्ता समस्याबाट नागरिकले सरकारबाट केही राहात त पाउँछन् । तर यस्तो अवस्थामा वास्तविक साथी भनेको बीमा नै हो ।’
भण्डारीले अहिले तत्कालका लागि सरकारले विपत व्यवस्थापनको तर्फबाट काम गर्ने भए पनि भोलिका लागि सम्पत्ति बीमा पनि गर्ने हो कि ? भन्ने पाटोबाट सोच्नुपर्ने बताए । नेपाली बीमा बजारमा घरको बीमा गर्दा घरलाई तीन वटा परिभाषाबाट बुझ्ने गरिन्छ । एउटा भवन, अर्को आवास हो भने अर्को झुपडी भनेर बुझ्नुपर्ने भण्डारीले बताए ।
बीमा कम्पनीहरूले घरको मूल्यको आधारमा बीमाशुल्क तय गर्ने गरेका छन् । ठूला भवनको बीमा गर्दा केही महङ्गो बीमाशुल्क बुझाउँनु पर्छ भने यसको बीमांक पनि धेरै हुन्छ । त्यस्तै, मध्यमस्तरका घरको बीमा गर्दा बीमाशुल्क केही कम हुन जान्छ भने त्यस्ता घरको क्षति हुँदा बीमांक पनि केही कम नै पाइन्छ ।
साथै, झुपडीका समेत बीमा गर्न मिल्ने व्यवस्था छ । दश लाख रुपियाँसम्म पर्ने झुपडीको बीमा गर्दा बार्षिक बीमाशुल्क चार सय रुपियाँ तिरे पुग्छ भने एक करोड रुपियाँसम्मको घरको बीमा गर्दा चार हजार रुपियाँ तिरे पुग्छ । सोभन्दा महंगा घर तथा भवनको बीमा गर्दा प्रतिहजार एक रुपियाँ ५० पैसा बीमा शुल्क तिर्नुपर्ने व्यवस्था सम्पत्ति बीमासम्वन्धी निर्देशिकामा गरिएको छ ।
यस्तो छ सम्पत्ति बीमाको व्यवस्था
सम्पत्ति बीमा हाल सञ्चालनमा रहेका २० वटा निर्जीवन बीमा कम्पनीबाट गर्न मिल्छ । उक्त कम्पनीबाट आफ्नो घर जति मूल्यको छ, सोही अनुसारको बीमांक बुझाएमा क्षति हुँदा बीमाले पैसा दिन्छ । आगलागी भएमा, घरेलु उपकरणहरू विष्फोट भई क्षति भएमा, चट्यांङ परेमा वा भुईंचालो आएको अवस्थामा बीमांक पाइने व्यवस्था छ ।
त्यस्तै, आधिँबेहरी, बाढी तथा जलमग्न हुने, जमिन भासिने वा सुख्खा पहिरोबाट घरको क्षति भएमा बीमांक पाइने व्यवस्था छ । हवाई जहाज वा अन्य वायु यानबाट खसेको सामानले पुर्याएको क्षतिमा पनि बीमांक पाइने व्यवस्था छ ।
सवारी साधन वा जनावरको कारणबाट हुने ठक्करमा, हुलदंगा, हडताल वा विध्वंसात्मक गतिविधि तथा आतंकबादको कारणबाट हुने क्षतिमा पनि बीमांक पाइने व्यवस्था छ ।
बीमा क्षेत्रको नियामक निकाय बीमा समितिले बाढी पहिरोको दाबी भुक्तानी सम्बन्धी कूल तथ्यांक व्यवस्थित रूपमा राखेको छैन् ।