निजी बीमा कम्पनीहरूको गुनासो– सरकारी स्वामित्वका र हामीबीच किन काखापाखा गरियो ?

Advertisement

काठमाडौं । जीवन बीमा कम्पनीहरूले सरकारी स्वामित्व र निजी क्षेत्रका बीमा कम्पनीहरूलाई बीमा समितिले फरक फरक व्यवसाय गरेको भन्दै चित्त दुखाएका छन् । समितिले सबै बीमा कम्पनीहरूलाई समान व्यवहार गर्न नसकेको उनीहरूको आरोप छ । 

जीवन बीमक संघका उपाध्यक्ष पोषकराज पौडेलले सबै बीमा कम्पनी समान भए पनि समितिले सरकारी स्वामित्वका बीमा कम्पनीलाई एक खालको व्यवहार र निजी क्षेत्रका कम्पनीलाई अर्को खालको व्यवहार गरेको गुनासो गरे । ‘बीमा समिति भनेको त बीमा क्षेत्रको नियामक हो । अभिभावक हो । उसले सबै कम्पनीलाई समान खालको व्यवहार गर्नुपर्नेमा कसैलाई बर्षौंसम्म अडिट नगर्दा र साधारणसभा नगर्दा पनि केही नगर्ने, निजी कम्पनीबाट अन्जानबस कुनै कमजोरी हुँदा पनि कारवाही गर्ने हुन्छ । यो कत्तिको न्यायोचित हुन्छ ?’ उनले प्रश्न गरे । 

Advertisement

पछिल्लो समय बीमा संस्थान र राष्ट्रिय बीमा कम्पनी प्रतिस्पर्धामा आउन नसक्नुको कारण पनि सरकारी कम्पनीलाई समितिले अन्य कम्पनीसरह समान व्यवहार नगर्नु हो भन्दै निजी क्षेत्रका कम्पनीका प्रमुख कार्यकारी अधिकृत (सीईओ)हरूले समितिबाट सबैलाई समान व्यवहार हुनुपर्ने अपेक्षा गरेका छन् । 

बीमा संस्थान र राष्ट्रिय बीमा कम्पनी छुट्टै ऐनअन्तर्गत सञ्चालित भएको भन्दै समितिको निर्देशन अटेर गर्दै आएका छन् । यी संस्थानमा अर्थ मन्त्रालयले सोही नियन्त्रण गर्ने गरेको देखिन्छ । समितिले पनि यी दुई कम्पनीलाई आफ्नो नियामनको दायराभित्र ल्याउने प्रयास गरे पनि अर्थ मन्त्रालयको हस्तक्षेपका कारण संभव हुन नसक्दा निजी क्षेत्रका बीमा कम्पनीहरूको आलोचना खेप्नुपरेको छ । 

अर्थ मन्त्रालयले सरकारी लगानी रहेका बीमा कम्पनीलाई पनि अन्य कम्पनीसरह बीमा समितिलाई हेर्ने अधिकार दिनुपर्ने उपाध्यक्ष पौडेल बताउँछन् । यी दुई संस्थानले लामो समयसम्म लेखापरीक्षण र साधारणसभा गर्न नसक्नुको कारण पनि अर्थ मन्त्रालयको सोझो निगरानी प्रमुख कारण भएको भन्दै उनले समितिले कसैलाई काखा कसैलाई पाखा नगरोस भन्ने सन्दर्भमा आफूले यो कुरा गरेको बताए । 

यी दुई कम्पनीले जस्तो निजी क्षेत्रका बीमा कम्पनीले लेखापरीक्षण तथा साधारणसभा गर्न ढिलाई भएको भए समितिले ढिलो नगरी लाइसेन्स खारेजसम्मको कारवाही गरिसकेको हुने थियो भन्ने निजी क्षेत्रका कम्पनीका सीईओहरूको गुनासो छ । बीमा कम्पनीको नियामन, सुपरिवेक्षण गर्ने अधिकार पाएको अर्धन्यायिक संस्था बीमा समिति भए पनि बीमा संस्थान र राष्ट्रिय बीमा कम्पनीको हकमा भने समिति नाम मात्रैको नियामक भएको छ । समितिले निजी क्षेत्रका बीमा कम्पनीहरूसँग ताकेता गरेर विवरण माग्ने गरे पनि बीमा संस्थान र राष्ट्रिय बीमा कम्पनीसँग माग्ने गरेको देखिन्न । 

बीमा कम्पनीको लाइसेन्स सहजै नवीकरण गर्दा जोखिम
सरकारी लगानीका बीमा कम्पनीहरूको लाइसेन्स हालसम्म सहजै नवीकरण हुने गरेको छ । एक दशकसम्म लेखापरीक्षण र साधारणसभा नै नगरेका कम्पनीहरूको सहजै लाइसेन्स नवीकरण गर्दा त्यसले भविष्यमा कम्पनीलाई नै जोखिममा पार्ने विश्लेषकहरू बताउँछन् ।

बीमा कम्पनीले आफ्ना हरेक गतिविधिको बीमांकीय मूल्यांकन गर्नुपर्छ । सोही बिमांकीय मूल्यांकनकै आधारमा कम्पनीले आफूले बेच्ने प्रोडक्ट, आफ्नो जोखिम, कम्पनीको वास्तविक अवस्थाको बारेमा थाहा पाउँछन् । तर समितिले पनि लाइसेन्स नवीकरण गर्ने समयमा सबै कम्पनीका गतिविधिलाई निष्पक्षरुपमा हेर्ने गरेको देखिन्न् । 

निजी बीमा कम्पनीका सीईओहरूले सरकारी बीमा कम्पनीको उदाहरण दिँदै सरकारी कम्पनीको ठाउँमा निजी कम्पनी भए उहिले नै लाइसेन्स खारेज भइसकेको हुने थियो भनी गुनासो गर्छन् । बीमा समितिका प्रवक्ता राजुरमण पौडेलले भने विशेष कारण सरकारी स्वामित्वका बीमा कम्पनीलाई फरक व्यवहार गर्नुपरेको स्वीकार गरे । 

उनले कर्पोरेट नेपालसँग भने, ‘बीमा कम्पनीहरूले हरेक वर्ष चैत्र मसान्तसम्म लाइसेन्स नवीकरण गराउनुपर्ने कानुनी व्यवस्था छ । लाइसेन्स नवीकरणलाई कडाई गरौं भन्ने कुरा सकारात्मक कुरा हो । तर हामीले पूरानो हिसाब–किताब बाँकी रहेकाले राष्ट्रिय बीमा कम्पनी र बीमा संस्थानलाई भने कारबाही गरिहाल्ने अवस्था छैन् । अहिले उनीहरू आफै समस्यामा छन् ।’ 

पौडेलले यी दुई संस्थान छुट्टै ऐनअन्तर्गत चलेकाले पनि समितिले हस्तक्षेप गर्न नसकेको बताए । उनले भने, ‘अब नयाँ बीमा ऐन आउने बेला भइसकेको छ । नयाँ ऐन आएसँगै सबै समस्याको समाधान हुन्छ ।’

हाल सञ्चालनमा रहेका निजी बीमा कम्पनीहरू बीमा ऐन २०४९ बाट निर्देशित छन् । तर बीमा संस्थान र राष्ट्रिय बीमा कम्पनीको हकमा भने संस्थान ऐन समेत आकर्षिक हुने हुँदा उनीहरू दोहोरो कानुनमा खेल्दै आएका छन् । 

सरकारी कम्पनी र निजी कम्पनीबीच अन्तराृष्ट्रियस्तरमा पनि केही भिन्नता हुने समिति आफै स्वीकार गर्छ । प्रवक्ता पौडेलले सरकारी कम्पनीको अन्तिम स्वामित्व सरकारमा नै निहीत हुने भएकाले त्यस्तो हुने तर्क गरे । 

Advertisement

Advertisement