काठमाडौं । विगतमा नेपाल पुनर्बीमा कम्पनीले विभिन्न ३३ वटा देशसँग पूनर्बीमा गर्दै आएको थियो । तर अहिले पुनर्बीमा कम्पनीका व्यवसाय १८ देशमा सीमित भएको छ । नेपाल पुनर्बीमा कम्पनीका प्रमुख कार्यकारी अधिकृत (सीईओ) शंकर रायमाझीले विगतमा बजारीकरणमा नै बढि केन्द्रित हुनुपर्ने अवस्था रहेकाले धेरै देशसँगको पुनर्बीमालाई जोड दिए पनि अहिले नीतिमा केही परिवर्तन भएकाले संख्या घटेको बताएका छन् ।
उनले कर्पोरेट नेपालसँग भने, ‘विगतमा नेपाल पुनर्बीमा कम्पनी पनि आफैमा नयाँ कम्पनी भएकाले धेरैवटा देशमा व्यवसाय गर्न आवश्यक रहेको थियो । तर अहिले हामीले जुनसुकै ठाउँको प्रस्तावलाई स्वीकार गर्नेभन्दा पनि आएका व्यवसायको अध्ययन अनुसन्धान गर्ने गरेका छौं । पुनर्बीमाको गुणस्तर बढाउने किसिमले काम गर्दा अहिले केही देशसँगको पुनर्बीमा घटेको हो ।’
कम्पनीले सुरुवाती चरणमा कुनै पनि किसिमका व्यवसाय लिइहाल्ने गरेको थियो । विदेशी ब्रोकरको प्रस्ताव आउना साथै जहाँको पनि प्रस्ताव स्वीकार गरिहाल्ने चलन विगतमा रहे पनि अहिले त्यस्तो नरहेको रायमाझी बताउँछन् ।
बीमा समितिले पनि जुनसुकै देशको व्यवसाय ल्याउनु मात्रै पुनर्बीमा कम्पनीका लागि ठूलो होइन भन्दै व्यवसाय दिगो र भरपर्दो हुनुपर्ने सुझाव दिँदै आएको छ । भुटान, म्यानमार, बंगलादेशसँग पनि सम्बन्ध र संख्या गन्ती गर्नका लागि मात्रै पुनर्बीमा हुनेगरेको औंल्याउँदै समितिले यसरी गन्ती गर्ने कुरालाई मात्रै प्राथमिकतामा राखेर बीमा गर्नु राम्रो नहुने बताएको छ ।
तर नेपाल पुनर्बीमाका सीईओ रायमाझीले भने आफूले कार्यभार सम्हालेसँगै विगतमा नेपाल पुनर्बीमा कम्पनीले भोग्दै आएका समस्या समाधान गर्न लागिपरेको दाबी गरे । उनले विगतमा एक पन्ना ‘लेटर हेड’मा खरीद गर्ने गरिरहेको रेकर्ड रहे पनि आफूले एक रुपियाँमा किन्न मिल्ने बनाएको उदाहरण दिँदै यस्ता धेरै कुराहरू सुधार भएको बताए ।
व्यवसाय राम्रो हुन्छ भने आफूहरू धेरै देशसँग सहकार्य गर्न तयार रहेको रायमाझीको भनाई छ । उनले आगामी दिनमा नेपाल पुनर्बीमाको व्यवसाय बढाउँदै जाने पनि बताए ।
नेपाल पुनर्बीमाको प्रतिस्पर्धीको रुपमा निजी क्षेत्रको हिमालय पुनर्बीमा कम्पनीलाई पनि समितिले केही दिनअघि लाइसेन्स दिएको छ । नयाँ कम्पनी जस्तो प्रक्रियाबाट अघि बढे पनि नेपाल पुनर्बीमाले आफूलाई थप अब्बल बनाउनुपर्ने चुनौती रहेको उनको स्वीकारोक्ति छ । हिमालयन बजारीकरण र व्यवस्थापनमा लाग्दै गर्दा नेपाल पुनर्बीमा पनि आफ्नो प्रस्तुती सही ढंगले अघि बढाउन लाग्ने रायमाझीले बताए ।
पुनर्बीमा बुझ्ने जनशक्तिको अभाव
अहिले नेपाल पुनर्बीमा कम्पनीले दक्ष जनशक्ति अभावको समस्या भोगिरहेको छ । २०७६ फागुन ३० गते कम्पनीले जनशक्ति चाहियो भन्दै विज्ञापन खुलाएको थियो । तर मागअनुसार पर्याप्त आवेदन नै परेन । रायमाझीले २०७६ पुस ११ गते सीईओको कार्यभार सम्हाले ।
कम्पनीमा आउनासाथै आफूले दक्ष जनशक्तिको ठूलो समस्या देखेको स्मरण गर्दै रायमाझीले अझै पनि यो समस्यालाई समाधान गर्न नसकिएको बताए । तर कम्पनीको साधारण सेयर (आईपीओ)मा भने लगानीकर्ताको राम्रो आकर्षण देखिएको प्रति उनले खुशी जनाए ।